काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लगानीकर्ताले आवेदन दिएको सबै पैसाको सेयर पर्नेगरी जलविद्युत् आयोजनाहरु निर्माण अघि बढाएको बताएका छन्।
चिलिमे जलविद्युत् कम्पनी लिमिटेड सम्बद्ध रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको साधारण सेयरका विषयमा जानकारी दिन आयोजित कार्यक्रममा घिसिङले सबैको लगानीलाई समेट्ने खालका आयोजना निर्माण कार्य अघि बढाएको बताए।
उनले भने, ‘जनताले एक लाख रुपैयाँको सेयर आवेदन दिँदा १० कित्ता अर्थात् एक हजार रुपैयाँको मात्रै पाउने अवस्था छ। यस्तो अवस्थामा प्राधिकरणले एक लाख रुपैयाँकै सेयर पाउने गरी धेरै आयोजना अघि बढाएको छ।’
उनले चैत महिनाभित्रै तामाकोसी, मध्य भोटेकोसी लगायतका जलविद्युत् कम्पनीहरुको साधारण सेयर आउने बताए।
कार्यक्रममा रसुवागढी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद कोइरालाले हालसम्म आयोजनाको ६० प्रतिशत काम सम्पन्न भएको बताए। उनले आयोजनाको पूर्वनिर्धारित लागतमा केही वृद्धि हुने बताएका छन्।
भूकम्प, बाढीपहिरो, नाकाबन्दी लगायतका कारण लागतमा केही वृद्धि हुने कोइरालाको भनाइ थियो।
सो आयोजना निर्माणमा विद्युत् खरिद सम्झौता (पिपिए) अनुसार १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो।
त्यस्तै, कार्यक्रममा साञ्जेन जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हालसम्म माथिल्लो साञ्जेनको ६८ र तल्लो सान्जेनको ५८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए। उनले माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाबाट सन् २०१९ को अप्रिलबाट विद्युत् उत्पादन लक्ष्य राखेको बताए।
साञ्जेन जलविद्युत् आयोजना र रसुवागढी जलविद्युत् आयोजनाले एकैदिन फागुन ११ गतेदेखि पहिलो चरणको आइपिओ निष्कासन गर्न लागेका हुन्।
साञ्जेन हाइड्रोपावर कम्पनीले ८७ करोड ६० लाख रुपैयाँ बराबरको र रसुवागढीले एक अर्ब ६४ करोड रुपैयाँको आइपिओ निष्कासन गर्न लागेको हो।
साञ्जेन र रसुवागढीले माघ महिनाभित्रै पहिलो चरणको आइपिओ निष्कासन गर्ने योजना बनाएका थिए। बोर्डले प्राथमिक सेयर हकप्रद तथा एफपिओ निष्कासनको लागि अनिवार्य रुपमा सि–आस्वा प्रणाली कार्यान्वयन गर्न निर्देशन दिएसँगै दुवै कम्पनीले आइपिओ निष्कासन मिति फागुन ११ गतेलाई सरेको हो। दुवै कम्पनीको आइपिओमा बोर्डले सि-आस्वा अनिवार्य गरेको छ।
कम्पनीहरुले निष्कासन गर्न लागेको सेयरमा आवेदन दिन तोकिएको स्थान वा आस्वा सम्बद्ध बैंक तथा वित्तीय आवेदक आफैं जानुपर्ने सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुवकुमार तिमल्सिनाले बताए। उनले भने, ‘अनलाइन प्रणाली भए पनि तोकिएका व्यक्तिले मात्रै आवेदन दिन पाउने हुँदा आवेदकले आफ्नो परिचयपत्र बोकेर तोकिएको स्थानमा जानुपर्छ।’
रसुवागढी हाइड्रोको साधारण सेयर निष्कासनको बिक्री प्रबन्धकमा यसअघि नै ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। यस्तै, सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेड र एसनआइबीएल क्यापिटल लिमिटेड छन्। त्यस्तै, साञ्जेन कम्पनीको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष छ।
दुवै कम्पनीको आइपिओमा प्रभावित क्षेत्रका सर्वसाधारण, कर्मचारी सञ्चय कोषका कर्मचारी तथा सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, चिलिमे हाइड्रोपावरका कर्मचारीले मात्र आवेदन दिन सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।