पोखरा– नेपालको कानुनमा १६ वर्ष पुगेपछि नागरिकता दिने प्रावधान छ। नेपालीले १६ वर्ष पूरा भएपछि वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाउँछन्। असामान्य अवस्थाबाहेक अरु बेला १६ वर्ष पूरा भएपछि नागरिकता प्रदान गरिन्छ।
तर कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ घले गाउँका ७८ वर्षीय डमरबहादुर गुरुङ र भुने गाउँका ६८ वर्षीय दानबहादुर गुरुङले मंगलबारमात्रै नागरिकता पाएका छन्।
वडाध्यक्ष रामबहादुर गुरुङका अनुसार उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीले नागरिकता दिएको हो। स्थानीयले दुई वृद्धले नागरिकता नपाएको जानकारी दिएपछि नागरिकता बनाउन पहल गरेको वडाध्यक्ष गुरुङले बताए।
दुवै एकल पुरुष हुन्। उनीहरु कहिले कता, कहिले कता बस्ने, काम गर्ने गर्थे। त्यसैले नागरिकता बनाउन वास्ता गरेनन्,’ वडाध्यक्ष गुरुङले भने, वृद्ध भएपछि घरमै बस्न थाले। बल्ल थाहा भयो नागरिकता चाहिने रहेछ।’ नागरिकता नहुँदा उनीहरु सरकारी सेवा, सुविधाबाट बञ्चित थिए।
दानबहादुर प्यारालाइसिसका बिरामी पनि हुन्। दुवैको ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता लिने उमेर पुगेकाले नागरिकताको खाँचो भएको हो। नागरिकता पाएसँगै सामाजिक सुरक्षा भत्तासँगै अन्य सरकारी सेवा, सुविधा लिने बाटो खुलेको छ। नागरिकता नहुँदा सामाजिक सुरक्षा सुविधाबाट वञ्चित थिए। अब सम्पूर्ण सेवा, सुविधाका लागि प्रक्रिया सुरु गरेका छौं’ वडाध्यक्ष गुरुङले भने।
वडाध्यक्ष गुरुङले नागरिकताको अभावका कोही ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता वा नेपाल सरकारबाट प्रदान गरिने सेवा, सुविधाबाट वञ्चित भए वडा कार्यालयमा जानकारी दिन आग्रह गरेका छन्। वृद्ध अवस्थामा नागरिकता पाएपछि दुवै जना खुशी छन्। अब सरकारी सेवा, सुविधा पाएपछि बुढेसकाल सहज रुपमा बित्ने उनीहरुको भनाइ छ।