चन्द्रपुर, रौतहट– पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको भोट पैसामा किनेर चुनाव जित्नेहरुले भ्रष्टाचार मात्र गर्ने बताएका छन्। आइतबार रौतहटको चन्द्रपुरमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष दाहालले भने, ‘जनमतबाट डराएपछि भ्रष्टहरु पैसा बाँडेर चुनाव जित्ने सपना देखेका छन्। यहाँ पनि भोजभतेर गरेर, पैसा बाँडेर चुनाव जित्न खोजेको सूचना आएको छ।’
उनले बैशाख ३१ मा प्रदेश नम्बर २ को निर्वाचन नगर्नुको कारण राजनीतिक अवस्था रहेको बताए। ‘बैशाख ३१ गते नै सबै ठाउँमा चुनाव गर्न सकिन्थ्यो। तर, हामीले त्यसो गरेनौं’’, दाहालले भने, ‘एकै चरणमा चुनाव गरेको भए मधेशमा धेरैको रगत बग्थ्यो, धेरैलाई जेल हाल्न पथ्र्यो। म जनतालाई गोली ठोक्ने, जेल हाल्ने पक्षमा थिइनँ। देशलाई शान्ति, स्थिरता र विकासको दिशामा लान चाहन्थें, त्यसैले चरण चरणमा चुनाव गरियो।’
आइतबार बिहान अध्यक्ष प्रचण्डले चन्द्रपुरकै ३ स्थानीय चुनावी सभालाई सम्बोधन गरेका थिए। कार्यक्रममा चन्द्रपुर नगरपालिकाका मेयरका उम्मेदवार युवराज भट्टराई, उपमेयरका उम्मेदवार जानकी नेपाललगायतका वक्ताले नगरको विकासबारे आफ्नो धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।