चितवन– गैँडा संरक्षणमा विश्वमा अगल पहिचान बनाउन सफल चितवन राष्ट्रिय निकुञ्जलाई फेरि गैँडा जोगाउन हम्मे हम्मे परेका छ।
विश्वमै दुर्लभ मानिने एक सिंगे गैँडा संरक्षणमा वाहवाही कमाएको निकुञ्जमा हाल जुधेर र दलदलमा फसेर गैँडा मर्ने क्रम बढेको छ।
दुईदिन अगाडि मात्र दुईवटा गैँडा जुधेर एउटा भाले मरेको थियो। यो घटना भएको ४८ घण्टा नबित्दै फेरि निकुञ्जको कछुवानी पोष्ट नजिकै दलदलमा फसेर आइतबार अर्को गैँडाको निधन भएको छ। दलदलमा फसेर अड्किएको अर्ध वयस्क पोथी गैँडा बिहान मृत भेटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए।
शनिबार दलदलमा फसेको भेटिएपछि गैँडालाई हात्तीको सहायतामा निकालिएको थियो।
दलदलमा अड्किएर शिथिल भइसकेका कारण गैँडालाई जोगाउन नसकिएको पाठकले बताए।
साउन अन्तिम साता आएको बाढी पसेर दलदल बनेको स्थानमा गैँडा फसेको निकुञ्जले जनाएको छ।
साउन २४ मा पनि चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत इचर्नी पोस्ट नजिकै दुईवटा भाले गैँडा जुध्दा एउटा गैँडा लडेर मरेको थियो।
गत वर्ष विभिन्न कारणले २५ वटा गैँडा मरेको चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए।
निकुञ्जमा यसै आर्थिक वर्षमा मात्र एक चोरी शिकारी, एक करेन्ट, दुई जुधेर र बाँकी कालगतिले गरी २५ गैँडाको मृत्यु भएको उनले बताए। पछिल्लो समय गरिएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ५ वटा गैँडा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।