जस्तोसुकै दुःख परोस्, कलेजो प्रत्यारोपण गराएरै छाड्ने अठोट लिएको थिएँ : डा रमेशसिंह भण्डारी [भिडियो वार्ता]

नेपाल लाइभ | २०७६ जेठ २८ मंगलबार | Tuesday, June 11, 2019 १९:५१:०० मा प्रकाशित

महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा जेठ १७ गते शुक्रबार एक बिरामीमा सफल कलेजो प्रत्यारोपण भएको थियो। अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको हो। अस्पतालले भारत नयाँदिल्लीस्थित एपोलो अस्पतालबाट आएका चिकित्सकको सहयोगमा प्रत्यारोपण गरेको हो।

त्रिवि शिक्षण अस्पतालमा एकै पटक प्रत्यारोपण सेवा सुरु भएको होइन। यो सेवा सुरु गराउन अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीलगायतका समूहको निरन्तरको लगाव र मिहेनत जोडिएको छ। साथै उनलाई साथ र सहयोग दिनेहरुको पनि उत्तिकै भूमिका छ।

डा भण्डारीले अस्पतालमा प्रत्यारोपण सेवा सुरु गराउने सपना १० वर्षअघि नै देखेका थिए। अहिले डा भण्डारीको मुहारमा खुसीको चमक छाएको छ। तर, यो अवधिमा उनले थुप्रै अरोह र अवरोह सामना गर्नुपर्‍यो। नेपाल लाइभकी बिन्दु शर्मासँग डा रमेशसिंह भण्डारीले कलेजो प्रत्यापरोपणको अनुभव यसरी सुनाए:

डाक्टरका रुपमा काम गर्ने क्रममा मानव शरीरका अंग प्रत्यारोपण गर्ने विषयमा असाध्यै चासो लाग्ने गर्थ्यो।  त्यसमाथि पनि कलेजो प्रत्यारोपणको विषयमा मेरो झुकाव अझै बढी थियो। कुनै पनि कुरा सिक्नका लागि निरन्तरता, अध्ययनशील, लगनशील सँगै त्यो बीचमा आउने संघर्षलाई सामना गर्नुपर्छ। त्यस्तै मैले पनि एउटा सपना देखेको थिएँ, नेपालमा नै कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने।

सपना त देखेँ। तर त्यो सपना पूरा गर्न कम्तीमा पनि १० वर्ष लाग्यो। त्यही सपना साकार पार्नका लागि सन् २००९ मा अस्ट्रेलियामा पढ्न गएँ। कलेजो प्रत्यारोपण गर्ने भनेर नै छात्रवृत्तिमा पढ्ने अवसर पाएको थिएँ। नेपालमा कलेजो प्रत्यारोपण सुरु गर्नुपर्छ भन्ने उद्देश्यले पढ्न सुरु गरें। पढाइको क्रममा मेलबर्नमा कलेजो प्रत्यारोपण गर्ने अस्पतालमा पुगें र त्यहाँ प्रत्यारोपण भएको देख्दै गर्दा मलै पनि भविष्यमा नेपालमा गएर कलेजो प्रत्यारोपण गर्छु भन्ने अभिलाषा मन र मस्तिष्कमा बोकेर हिंडिरहें।

अध्ययनका क्रममा नै मैले बुझिसकेको थिएँ कि, कलेजो प्रत्यारोपण गर्ने काम सहजै हुने रहेनछ। यसका लागि निकै मिहिनेत चाहिने र बलियो टिमको साथ आवश्यकता पर्ने मैले बुझेको थिएँ। जस्तोसुकै दुःख परोस्, म मेरो सपना पूरा गरेरै छाड्छु भन्ने अठोट लिएको थिएँ। त्यही भएर मैले यो काममा अगाडि बढ्ने हिम्मत गरेको हुँ। 

यो कामका लागि म सकेसम्म प्रयास गर्छु र सफल भएँ भने निकै राम्रो हुनेछ। तर सफल नै नभए पनि भोलि नयाँ पुस्ताले यो काम गर्न खोज्दा सहज हुन्छ भनेर म यसमा निरन्तर लागेको हुँ।

यो कामका लागि अगाडि बढ्ने क्रममा कहिलेकाहीं केही साथीहरुले हतोत्साहित पनि गरे। यति ठूलो काम गर्न गाह्रो हुन्छ रिक्स नलेऊ भन्नेहरु पनि प्रशस्तै भटिन्थे। कहिलेकाहीं अथक प्रयास गर्दागर्दै पनि कहिले के नमिल्ने कहिले के नमिल्ने हुन्थ्यो। घरिघरि त छोडौँ कि जस्तो पनि लाग्ने गर्थ्यो तर फेरि भित्रैबाट विश्वास पलाएर आउँथ्यो, होइन मैले गर्नुपर्छ, कोशिस छोड्नु हुँदैन भन्ने लागिरहन्थ्यो।

त्यसपछि दृढ विश्वासका साथ अघि बढ्न साहस आउँथ्यो। कोशिस गर्दै जादाँ धेरै कुराहरु जुटाउनुपर्ने हुन्छ। जस्तै  स्रोतसाधनको आवश्यकता, दक्ष जनशक्तिसँगै विभिन्न पूर्वाधारको आवश्यकता पर्छ। जनशक्तिका लागि आवश्यक पर्ने तालिमको लागि धेरैले साथ र सहयोग दिनुभयो। यो कामका लागि आवश्यक पर्ने जनशक्ति विभिन्न देशमा पुगेर तालिम लिएर आउनु भयो। म आफैं पनि यसका लागि अपडेट हुनुपर्छ भनेर अध्ययन र तालिममा सहभागी भएँ। 

हामीसँग अर्को सबैभन्दा ठूलो चुनौतीको विषय थियो, आर्थिक कुराको। यो सेवा सुरु गर्न हामीलाई करोडौं रकम चाहिन्थ्यो। बजेट नै नभए त कसरी काम अगाडि बढ्थ्यो र? यसका लागि धेरै स्थानमा दौडधुप गर्नुपर्‍यो। स्वास्थ्य मन्त्रालयका कोठाकोठा चहार्‍यौं। तर, पनि काम हुन सकेको थिएन। म निराश भने भइसकेको थिइनँ।

त्यही समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रीका रुपमा गगनकुमार थापा आउनुभयो। हामीले उहाँलाई हाम्रो तयारी, आवश्यकता र योजनाका विषयमा जानकारी गरायौँ। उहाँ निकै सकारात्मक हुनुभयो। उहाँले यो काम सुरु गर्न आवश्यक पर्ने ११ करोड रुपैयाँ बजेटसमेत व्यवस्था गरिदिनुभयो। त्यसपछि हाम्रो कामले तीव्रता लियो। 

प्रत्यारोपणका लागि बजेट, पूर्वाधार र जनशक्ति बडो दुःख गरेर तयार त पारियो। तर, सेवा सुरु गर्न लाइसेन्स पाउन फेरि समस्या पर्यो। सबै कुरा तयार भयो तर लाइसेन्स छैन। लाइसेन्सका लागि फेरी अर्को ५ महिनाजति दौडधुप भयो। लाइसेन्स पाइसकेपछि बिरामीको आवश्यकता थियो। हामीले यो सेवा गर्नुभन्दा पहिला धेरै बिरामीसँग कुराकानी गरेका थियौँ। त्यस बीचमा धेरै बिरामी त्यस्ता भेटिए, जहाँ त्राससँगै विभिन्न भ्रम थियो। हामीले त्यो भ्रम र त्रासलाई हटाउने प्रयास गर्‍यौं। यही क्रममा एक जना बिरामी र उनलाई कलेजो दान गर्ने छोरी भेट्यौँ। उहाँहरुको सबै जाँच र कागजपत्र मिलेपछि हामीले प्रत्यारोपणको काम अगाडि बढाएका हौँ। 

हामी जति तालिमप्राप्त भएपनि पहिलो पल्ट कलेजो प्रत्यारोपणका लागि अनुभवी डाक्टरहरुको सहयोग चाहिन्छ। त्यसै अनुरुप एपोलो अस्पतालका अनुभवी डाक्टरहरुको सहयोग पायौं।

यसरी पछाडि फर्किएर हेर्नुपर्दा के महसुस हुन्छ भने, कुनै कुरा गर्न इच्छुक र उत्साहित छौँ भने पूरा आत्माविश्वासका साथ डटेर अगाडि बढ्यौं भने त्यहाँ सफलताले पछ्याउने रहेछ। अहिले कलेजो लिने र दिनेको स्वास्थ्य अवस्थामा सुधार देख्दा र शुभचिन्तकले विभिन्न ठाउँबाट हौसला दिइरहँदा साँच्चै खुसी लागिरहेको छ। कलेजो प्रत्यारोपणपछि पाएको खुशी त झन् धेरै।  

विस्तृत हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्।