– कृष्णराज गौतम/रासस
काठमाडौं- धार्मिक कारणले हुने पशुबलीलाई न्यूनीकरण गर्नुपर्नेमा सचेतना बढ्दै गएको पाइएको छ। पशुअधिकारका क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्था तथा सरकारको पहलमा यसमा कमी आएको बताइएको छ।
हिन्दू, इस्लामलगायत केही तान्त्रिक विद्यामा आस्था राख्ने समूहले धर्मका आधारमा पशुबली दिइरहेको पाइन्छ। अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारले गरेका पशुमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता पूरा गर्न धार्मिकस्थलमा हुने पशुबलीलाई निरुत्साहित गर्नुपर्नेमा पशुअधिकारका क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले माग गरेका छन्।
धार्मिक गतिविधि हुने मन्दिर सबैको आस्था केन्द्र भएका कारण यस्ता स्थानमा शान्त र आनन्दको अनुभूति हुनुपर्ने हुँदा पशुबली गर्न दिन नहुने आवाज उठ्दै आएको छ। पशु कल्याण सङ्घ एवं स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले हाल मौजुदा नियम कानुनले पशुको अधिकार संरक्षण गर्न नसकेका कारण पशु कल्याण ऐन ल्याउनुपर्ने धारणा राखिन्।
धर्म संस्कृतिका आधारमा मन्दिर परिसरमा हुने काटमारले सम्बन्धित क्षेत्रका मानिसको र समाजको सभ्यतामा आँच आउने उनको भनाइ छ। हिन्दू धर्मलाई वेदकालभन्दा पनि अगाडि अस्तित्वमा रहेको मानिन्छ। वैदिककाल र वेदहरूको रचनाको काल अलग–अलग मानिएको छ। हिन्दू धर्मशास्त्रमा हिंसालाई कहीँ पनि महत्व दिइएको छैन।
हिंसाबारे शास्त्रमा लामो व्याख्या छ। पशुबली भनेको पशुताको बली हो। मानिसमा विश्व शक्तिलाई बुझ्न सक्ने गुण आर्जन गरी पासविक गुणहरु हटाउँदै जाने विश्वास जोडिएको छ।
त्यसैगरी, इस्लाम धर्ममा पनि हिंसालाई नभएर शान्ति र प्रेमलाई महत्व दिइएको छ। मानिसमा आउने गलत विचार तथा दुर्गुणलाई समाप्त गरी असल भावनाको विकास गर्न धार्मिक शिक्षाको खाँचो छ।
एनिमल नेपालका अध्यक्ष प्रमदा शाहले पशुलाई पनि पीडा र खुशीको बोध गराउनका लागि पशु अधिकारको रक्षा हुनुपर्ने विचार व्यक्त गर्दै पशुकल्याणका लागि ऐन ल्याउनुपर्ने बताए। पशुप्रति हुने कुनै पनि किसिमको दुर्व्यवहार घटाउनका लागि पशु कल्याणको अवधारणालाई सर्वसाधरण मानिसले बुझ्न जरुरी छ। पशु कल्याणको सवलीकरणका लागि सरकार तथा गैरसरकारी क्षेत्रको सहकार्य र भूमिका महत्वपूर्ण हुने मानिएको छ।
नेपाल सरकारका पूर्वसचिव कृष्णचन्द्र पौडेलले पशुपंक्षी र मानवबीच सकारात्मक सम्बन्ध विकास गर्न जरुरी रहेको बताए। अधिवक्ता पद्मप्रसाद श्रेष्ठले मन्दिरमा हुने पशुबलीको अन्त्य गर्नपुर्ने भएकाले 'पशु ढुवानी मापदण्ड–२०६४'ले पशु कल्याणसम्बन्धी कार्य गर्न नसकेको जानकारी दिए। उनका अनुसार पशुप्रति गरिने दुर्व्यवहारलाई अब बन्ने कानुनमा मानवीय अपराधसरह दण्ड सजायको व्यवस्था हुनुपर्छ। ऐनमा पशुको कल्याणका साथै उपभोक्ताको हितमा व्यवस्था गरिनुपर्ने देखिएको उनको भनाइ छ।
पशु चिकित्सा परिषद्का रजिष्ट्रार नारायणप्रसाद घिमिरेले भने, 'मन्दिरमा हुने हिंसाले केही मानिसलाई सूक्ष्मरूपमा हिंसा पुगेको हुन्छ, कसैलाई चोट पुर्याउँदा पनि हिंसा हुन्छ, चित्त दुःखाउँदा, दुःख दिँदा हिंसा हुन्छ।'
पशु सेवा विभागका अनुसार व्यवस्थित वधशाला र स्वस्थ मासु उपभोगको अवस्थामा सुधार ल्याउनका लागि पशुपंक्षी बधशालाको प्रभावकारी व्यवस्था गरिने भएको छ। स्थानीय तह, प्रदेश र सङ्घको सहकार्यमा त्यो काम अघि बढाउने योजना विभागको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।