काठमाडौं– रातको ११ बजेको थियो।
फिल्म सुटिङ स्टुडियो (एनएफडिसी) बालाजुको एक ल्याबभित्र अभिनेता बिराज भट्ट जोडले कराइरहेका थिए। उनी केही युवाहरूलाई अर्धचेत भएर पिटिरहेका थिए।
कोही ‘ऐया–ऐया’ भन्दै लडिरहेका थिए, कोही उठेर भाग्न खोज्दै थिए। एक दुई पात्र अनुहारमा चोटै चोट लिएर बिराजसँग भिड्दै थिए।
हलको अवस्था देख्दा लाग्थ्यो, अभिनेता बिराज वास्तवमै कसैसँग आफ्नो बदला लिइरहेका छन्।
तर, द्वन्द्व निर्देशक श्री श्रेष्ठ बीचबीचमा ‘एक्सन कट’को संकेत गरिरहेका थिए।
हलको वास्तविकता अर्कै थियो।
अभिनेता बिराज आफ्नै फिल्म ‘साङ्लो’का लागि दिलो ज्यानले एक्सन सिन दिन तल्लीन थिए। छायांकार मानकृष्ण महर्जन फिल्मको क्लाइमेक्स दृष्य कैद गर्न चनाखो देखिन्थे।
ल्याबमा लोबान (एक प्रकारको धुप)को धूँवाले सास फेर्न समेत कठिन थियो। हलमा आवश्यकता अनुसारको लाइटिङ, ट्रली, सुटिङ सामग्री यत्रतत्र देखिन्थे। फिल्मका प्राविधिक तथा कलाकारको जम्बो टोली हल भित्र र बाहिर काममा लिप्त थिए।
फिल्म छायांकनका क्रममा अभिनेता बिराज एक्सन दिनमात्र हैन, हलभित्र प्रवेश गरेका बाहिरी व्यक्तिहरूको मोबाइलको कडा निगरानीमा देखिन्थे। उनलाई चिन्ता थियो, ‘कतै फिल्मका क्लाइमेक्स दृष्यहरू प्रदर्शन अगावै बाहिरिने पो हुन् की!
रात छिप्पिँदै थियो। कतिपय कलाकारहरू ढिलो भएको संकेत गर्दै थिए। सेड्युलअनुसार अझै केही सिनहरू क्यामरामा कैद गर्नैपर्ने बाध्यता देखाउँदै व्यवस्थापक राजेन्द्र रावल गुनगुनाउँदै थिए।
यही मध्यरात, एनएफडिसी हलको होहल्ला अनि त्यही लोवानको धुँवामा मलिन अनुहारमा थिइन् पूर्व मिस नेपाल (२०१७) निकिता चण्डक।
उनी फिल्म साङ्लोमा अभिनेत्रीका रुपमा देखिने छिन्। त्यसकारण दिन रात नभनी उनी छायांकन स्थलमा चुपचाप बस्न बाध्य थिइन्।

साधारण पोसाक कुर्था सलवारमा सजिएकी निकिता रातको ११ बजेसम्म आफ्नो सिनको पर्खाइमा थिइन्। बिहानदेखि एउटै हलमा बाध्य भएर बस्नु पीडादायी हुन्छ। उनी कहिले कम्मरमा हात राखेर यताउता गर्थिन् त कहिले नजिकैको कुर्सी तानेर थचक्क बस्थिन्।
हलमा जब बिराजले एक्सन सिनमा टेक दिन्थे निकिता जिज्ञासु नजरले उनलाई नियाल्दै हुन्थिन्।
बिराजको टड्कारो आवाज र एक्सन हेरेर बेलाबेला निकिता छेवैमा बसेकी मेकअप आर्टिस्टसँग खासखुस गर्दै हाँस्थिन् पनि। मध्यरातसम्म निकितामा रहेको त्यो धैर्यता, अभिनय भोक र फिल्मप्रतिको अपेक्षा उच्च भएको अनुमान लगाउन गाह्रो थिएन।
समय करिब ११ः३० को आसपास थियो।
निर्देशक निकितालाई पालो आएको संकेत गर्दै थिए। यतिकैमा हामीसँग उनको अनौपचारिक गफ गर्ने मौका मिल्यो। उनी भन्दै थिइन्, ‘आज मेरो केही दृष्यहरू थिए। केही यस अघिनै सुट भयो, अब केही बाँकी छ। तर, म बिहानैबाट यहीँ छु।’
‘थाक्नु भयो होला है?’ मैले प्रश्न गरेँ।
‘थाक्न भन्दा पनि एक्साइटेड छु,’ उनी खुल्दै गइन्, ‘छायांकन भइरहेको छ, बिराज दाइको इनर्जी देखेर म पनि उत्साहित छु।’
अनुहारमा थकान प्रस्ट देखिन्थ्यो। तर, उनको आवाजमा उर्जा थियो।
‘ब्युटी प्याजेन्ट’का लागि गरिएको प्रतिस्पर्धा र यहाँ त फरक पाउनु भयो होला हैन?’
‘भास्ट डिफ्रेन्स रहेछ। त्यो एउटा प्रतिस्पर्धात्मक प्रतियोगिता थियो तर फिल्म प्रतियोगिता नभएर एक्टिङ हो,’ उनले जफाव फर्काइन्।
अबेसम्म पनि आफ्नो सिन पर्खिरहेकी निकितालाई अर्को प्रश्न गरेँ, ‘सुटिङ कस्तो लाग्दै छ?’
‘रमाइलै चलिरहको छ,’ उनले मुस्कुराउँदै भनिन्, ‘ब्युटिप्याजेन्ट र एक्टिको भिन्नता बुझिसँके। वास्तविक क्यारेक्टरलाई प्रोट्रेट गर्नुपर्ने। यहाँ त धेरै नै भिन्नता रहेछ।’
निकिताको जवाफ सुन्न पाउँदा नपाउँदै हलमा निर्देशक गर्जिए, ‘अब अर्को टेक!’
निकिता मन्द हाँसो छाड्दैै मेकअप र्आिटस्टसँग चेन्जरुम तर्फ लागिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।