न्यूयोर्क - साविक विजेता एन्जिलिकी केर्वर युएस ओपन टेनिस प्रतियोगिताको पहिलो चरणबाटै पराजित भएकी छिन् । छैटौं वरीयताकी जर्मन खेलाडी केर्वरलाई जापानकी नाओमी ओसाकाले २–० को सेटमा हराएकी हुन्।
१९ वर्षीय नाओमीले पहिलो सेट ६–३ ले जित्दा दोस्रो सेट ६–१ ले सहज रुपमा आफ्नो पक्षमा पारिन् । ओसाका केर्वरभन्दा ३९ स्थान तल ४५ वरीयाकी खेलाडी हुन् । पछिल्लो १२ महिनामा २९ बर्षीय केर्वरले कुनै पनि उपाधि जित्न सकेकी छैनन्।
महिला एकलतर्फकै अर्काे खेलमा शीर्ष वरियताकी कारोलिना प्लिस्कोभा दोस्रो चरणमा पुगेकी छिन् । चेक गणतन्त्रकी प्लिस्कोभाले पोल्यान्डकी माग्डा लिनेटीलाई ६–२ र ६–१ ले हराएकी हुन्।
पुरुष एकलतर्फका खेलमा स्विजरल्यान्डका रोजर फेडेरर र स्पेनका राफाल नाडाल दोस्रो चरणमा प्रवेश गरेका छन् । पाँचपटक युएएस ओपनको उपाधि जितेका फेडेररले अमेरिकाका फ्रान्सिस टियाफोएमाथि ४–६, ६–२, ६–१, १–६ र ६–४ को संघर्षपूर्ण जित निकालेका हुन्।
नाडालले सर्वियाका डुसन लाजोभिकालाई ७–६(८–६), ६–२ र ६–२ ले हराएर अघिल्लो चरणमा स्थान बनाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।