म मन्त्रिपरिषद्बाट मनोनीत संविधानसभा सदस्य (सांसद) हुँ । मैले सिंगो धिमाल जातिको प्रतिनिधित्व गर्ने हुनाले म सांसद हुँदा सम्पूर्ण धिमाल जाति खुसी छन् भन्ने लाग्छ।
हामी एउटा अल्पसंख्यक जाति, त्यो पनि निश्चित भूभागमा बस्छौं । नेपालको संविधान बनाउने काममा प्रतिनिधित्व गर्न पायौं । नेपालको संविधानमा धिमाल जातिले पनि हस्ताक्षर गर्न पायो । यसमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छु।
हुन त मेरो निश्चित क्षेत्र छैन । तर, मोरङमा धिमाल जातिका मानिस बढी भएकाले त्यहाँ बढी केन्द्रित भइरहेको छु।
यसबीच मैले धिमाल जातिको बसोबास रहेको क्षेत्रमा सांस्कृतिक, धार्मिक स्थानहरुमा केही रकम सहयोग गरिरहेको छु । त्यसले उनीहरु पनि खुसी नै छन् भन्ने लाग्छ।
मोरङको साथै झापा र सुनसरीमा धिमाल जातिको बसोबास बढी पाइन्छ । यहाँका ९६÷९७ टोलमा धिमालको बसोबास छ । त्यसमा पनि मोरङमा सबैभन्दा बढी छन् । त्यहाँ अहिले सांस्कृतिक र भाषा विद्यालय बन्ने क्रममा छ । त्यसले लोप हुन थालेको धिमाल भाषालाई उत्थान गर्ने उद्देश्यमा सघाउ पुर्यानेछ । त्यो यसै आर्थिक वर्षमा सम्पन्न हुनेछ।
विद्यालय स्थापनाको काम सम्पन्न भइसकेको छ । अहिले पाठ्यक्रम निर्माणको चरणमा छ । अहिले सरकारसँग संयोजनको काम भइरहेको छ । मोरङ जिल्लाको अहिलेको क्षेत्र नम्बर १ मा त्यो विद्यालय पर्छ । त्यहाँ मुख्य रुपमा ऐच्छिक विषय धिमाल भाषा पढाइने भए पनि अहिलेका अन्य विषय पनि पढाइन्छ । विद्यालयमा अरु समूह वा जातका विद्यार्थीले पनि पढ्न सक्नेछन्।
धिमाल भाषा र संस्कृति लोप हुन लागेकाले धिमाल बालबालिकाले यस विद्यालयबाट आफ्नो भाषा–संस्कृतिको ज्ञान लिन सक्नेछन् भन्ने मेरो विश्वास छ ।
त्यो विद्यालय योभन्दा अघिल्ला धिमाल माननीयको संसद विकास कोषको रकमबाट स्थापना भएको हो । मैले धिमाल बस्ती भएको दस बिगाहाको क्षेत्रमा आन्तरिक सडक बनाउन रकम खर्चेको छु । साढे चार सय मिटरको सडक बनाउन तीन लाख ७० हजार रुपैयाँ लगानी गरेँ । त्यहाँ धिमाल जातिको मूल केन्द्र पनि बनिरहेको छ । त्यहाँको १० बिगाहा क्षेत्र संरक्षण गर्न तटबन्धनको काम पनि भइरहेको छ।
यसअघि पनि धिमालहरु माननीय भएका थिए । तर, मैले उहाँहरुभन्दा बढी काम गरेको छु । काम गर्ने तौरतरिका अलि मिलेको छ।
मेरो संसद विकास कोषबाट मोरङको क्षेत्र नम्बर ९ मा धेरै काम भएका छन् । त्यहाँ रहेका दस वटा गाविसमध्ये दामासाहीमा रकम बाँडेको छु । त्यो पैसा सडक, खानेपानी, सिंचाइ लगायतका क्षेत्रमा लगानी भएको छ।
त्यसपछि, धिमाल बस्ती भएको क्षेत्रमा बालबालिकालाई पठनपाठनको लागि तीन वर्षका बजेट लगानी गरेको छु । सुरुमा एक लाख ९० हजार, त्यसपछि साढे तीन लाख, त्यसपछि दुई लाख पाँच हजार रुपैयाँ दिएको छु ।
धिमाल बस्तीमा बालविकास केन्द्र पनि बनेको छ । प्रशस्त जग्गा भएकाले सामुदायिक भवन पनि बनाउने काम भइरहेको छ । त्यहाँ दोस्रो तला थप्ने काम हुँदै छ ।
धिमाल जातिलाई बेग्लै क्लस्टर बनाउने प्रयास थियो । त्यो तत्काल सम्भव भएन । तर, पछिल्ला संसदहरुले यसमा काम गर्नेछ भन्ने आशा छ । तर, संविधानले केही प्रगतिशील काम गरेको छ । अब, पछि पनि संविधानकै व्यवस्थाअनुरुप धेरै अल्पसंख्यक र सीमान्तकृतहरुले आफ्नो उपस्थिति देखाउन पाउनेछन्।
संसदको कार्यकाल सकिनै लाग्दा संविधान कार्यान्वयनको प्रक्रिया पनि सुरु भएको छ । चुनावहरु हुँदै छन् । प्रदेश नम्बर २ मा पनि चुनाव हुँदै गर्दा अब मुलुकले निकास पाउँछ कि भन्ने लागेको छ।
यस अवधिमा मैले महसुस गरेको नरमाइलो चाहिँ सत्ताको लागि हुने हानाथाप हो । पार्टीहरु सत्ता पाउन र टिकाउनका लागि निर्लज्ज भएको देख्दा दुःख लाग्छ । मलाई संविधान बनिसकेपछि कांग्रेसले भद्र सहमति तोडेपछि यस्तो बढी महसुस भयो । मलाई लाग्छ, त्यो भद्र सहमति पालना भएको भए देशमा उहिल्यै चुनाव भइसक्थ्यो । देशले निकास पाइसक्थ्यो।
कर्मचारीको लापरवाहीले हुने गलत कामहरु पनि मन पर्दैन । कति ठाउँमा ठेक्का लागिसकेका काम पनि हुँदैनन् । भएका काम पनि कमिसनको लोभमा गुणस्तरीय हुँदैन।
संविधान निर्माणको अवस्थामा सभासदहरुलाई गरिने गाली चाहिँ मलाई स्वाभाविक लाग्थ्यो । संविधान बनाउन संविधानसभामा पठाए पनि मुख्य काम नगरी अनेक खिचडी पकाउने र कुर्सी हानाहान गर्ने कार्यले जनता वास्तवमा निराश थिए । यिनीहरुले केही गर्दैनन् भनेर जनता निराश र आक्रोशित थिए । जुन उद्देश्यको लागि निर्वाचित गरिएको हो, त्यही काम नगरेपछि जनता आक्रोशित हुनु स्वाभाविकै हो।
(किशोर दहालले गरेको कुराकानीमा आधारित।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।