चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट आउँदो संघीय संसदको निर्वाचनमा उम्मेदवार बन्ने बताएका छन्।
पार्टीको वीरगञ्जमा सम्पन्न सचिवालय बैठकले आफूलाई चितवनबाट निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष दाहालले बताए। प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जिल्लाको कुन क्षेत्रबाट निर्वाचनमा उठ्ने भन्ने विषयमा टुंगो नलागेको बताए।
देशका फरकफरक भूगोल र पृष्ठभूमिको उम्मेदवार बनेर अनुभव सँलागेको बताउँदै उनले ती अनुभव र चितवनलाई केन्द्रीय राजनीतिमा जोड्नका लागि यहाँबाट निर्वाचन लड्न लागेको भनाइ राखे।
'माओवादी युद्धको उद्गमस्थल रोल्पा, राजधानी काठमाडौँ र तराईको प्रतिनिधित्व गर्दै सिराहाबाट यसअघि निर्वाचन लडेको थिएँ, ' उनले भने, 'अब आफ्नो कर्मभूमिबाट चुनाव लड्छु।'
प्रदेश र संघको निर्वाचनमा समेत गणतन्त्र र लोकतन्त्रका पक्षधरसँग सहकार्य गर्ने उनले बताए। कांग्रेस, एमाले, मधेशवादी जोसँग पनि गठबन्धन हुनसक्ने दाहालको भनाइ थियो।
'अहिलेको समयमा सत्ता गठबन्धन कांग्रेससँग भएकाले कांग्रेससँगको तालमेललाई विशेष प्राथमिकतामा दिइएको हो,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।