सुर्खेत– एक कर्मचारीले गर्ने कामको जिम्मेवारी, काम गर्नुपर्ने समय उसको क्षेत्राधिकार तय गरिएको हुन्छ तर सुन्दा अनौठो लाग्नसक्छ की यहाँका एक कर्मचारीले ६ जिल्लाको काम एक्लैले भ्याउनुपर्ने बाध्यता छ।
कार्यालय समयसम्म मात्र होइन साँझ बिहान अहोरात्र खटेरे थप पाँच जनाले ६ जिल्लाको गर्नुपर्ने काम एक्लैले गर्दै आएका व्यक्ति हुन्, सुर्खेतस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापा।
जनशक्ति अभावका कारण ६ जिल्लाको काम उनले जेनतेन एक्लैले हेर्दै आएका छन्। काम विशेष कार्यालय बाहिर जानुपर्दा जिम्मेवारी सम्हाल्ने अर्को कुनै कर्मचारी नहुँदा यहाँ निकै समस्या हुने गरेको छ।
हुम्ला, डोल्पा, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सुर्खेत जिल्लाको काम आफू एक्लैले सम्हाल्नुपरेको उनले बताए। निमित्त प्रमुृख थापाले बैसाखसम्म जाजरकोट, दैलेख र सुर्खेतको काम सम्पन्न गरेका छन् भने अन्य जिल्लाको काम सम्पन्न गर्ने तयारीमा छन्।
कार्यालय प्रमुख नहुँदा निमित्त कार्यालय प्रमुखका रुपमा समेत काम गर्दै आएका खाद्य निरीक्षक थापाले गत साउनदेखि आफू एक्लैले ६ जिल्लाको काम गर्नुपरेको गुनासो गरे।
मानव स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने निकायमा कर्मचारी नहुँदा नागरिकको खाद्य सुरक्षाको अधिकारमा समस्या आउन नदिन कर्णालीको भौगोलिक अवस्था, ठूलो कार्यक्षेत्र र जोखिमपूर्ण यात्रा गर्नुपर्दा पनि सहकर्मीविना एक्लैले काम गर्नुपरेकोले निकै गाह्रो भएको उनको भनाइ थियो।
'न सवारी साधन छ नत अन्य कुनै सेवा सुविधा,' थापाले भने, 'बजार अनुगमन तथा निरीक्षणका लागि जान पनि अन्य निकायको सवारी साधन माग्नुपर्छ। विभागमा सवारी साधनको माग गर्दा अहिलेसम्म कुनै सुनुवाइ भएको छैन। विविध समस्याले कार्यालयले लिएको लक्ष्य पूरा गर्न कठिन हुने देखिन्छ।'
उनले थपे, '६ जनाको दरबन्दीमा कार्यालय सहयोगी र म मात्रै छु। स्टोर, लेखा, प्रशासन, अभिलेखलगायत सबै काम आफैंले हेर्नुपर्छ। म बाहिरिँदा नागरिकले दिएको निवेदन/उजुरी बुझ्ने र हेरेर जवाफ दिने मान्छेसमेत छैन। लेखापाल नहुँदा तलब खान त्यत्तिकै समस्या भएको छ।'
निमित्तप्रमुख थापाका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले चालू आवमा यो क्षेत्रका खुद्रा पसल, उद्योग, होटल तथा मिठाइ पसल निरीक्षण गर्दै आएको छ।
अहिले निरीक्षण र गुणस्तर जाँच मात्र नभई कार्यालयले प्रवर्द्धनात्मक कार्य पनि थालेको उनले बताए।
वडास्तरीय खाद्य स्वच्छता समूह गठन तथा परिचालन, खाद्य स्वच्छतासम्बन्धी तालिम, उपभोक्ता भेला, खान हुने र नहुने खाद्यवस्तु, तिनको गुणस्तर र खाद्य उपभोगका विषयमा विद्यार्थीलाई पढाउने गरिएको उनको भनाइ थियो।
यसैगरी खाद्य ऐन, २०२३ र दाना पदार्थ ऐन, २०३३ अन्तर्गत रहेर बन्द तथा खुला १ सय २० प्रकारका खाद्यवस्तुको लेबल तथा तिनको गुणस्तरको नमुना लिएर जाँच गर्दै आइएको निमित्त प्रमुख थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।