माल्दिभ्सको राजधानी मालेको वरिपरिको क्षेत्रमा सडकको लम्बाई ९.८ किलोमिटर मात्रै छ । मालेको लम्बाई तीन र चौडाई दुई किलोमिटर हो । मालेभित्र गाडीबाट जुनुसुकै ठाउँबाट पनि अर्को ठाउँमा पुग्न बढीमा १० मिनेट लाग्छ । तर, बिस्तारै हाँक्नुपर्ने नियमका कारण १५ देखि २० मिनेट पनि लाग्न सक्छ।
यही सडकमा नियमित रुपमा सवारी चलाउँछन्, नेपालगञ्जका स्थायी बासिन्दा सन्तोष मगर । उनले यहाँ दस वर्षदेखि ड्राइभिङ गरिरहेका छन् । चार वटा टापु र त्यसमा रहेका रिसोर्टका मालिक हुसेन सलिमका निजी ड्राइभर हुन्, उनी । तर, उनलाई मालिकको सेवा गर्ने मौका महिनामा दुईदेखि चार पटक मात्र मिल्छ। बाँकी समय उनी नेपालीहरुकै सेवामा खर्चिन्छन्।
यहाँ झन्डै १५ हजारको हाराहारीमा नेपाली रहेको बताइन्छ । हरेक दिनजसो नेपालीहरुलाई समस्या परिरहन्छ । नेपाली दूतावास नभएको यो देशमा उनी अघोषित नेपाली राजदूत हुन् । कारण, हरेक समस्याको समाधान खोज्न उनी अगाडि सरिहाल्छन्।
कोही बिरामी भइहाल्यो भने सबैभन्दा पहिले अस्पताल पुर्याउने उनै हुन्छन् । मालेस्थित सबैभन्दा ठूलो निजी अस्पताल ‘ए डि के हस्पिटल’मा कार्यरत डा ईश्वर शर्मा भन्छन्, ‘केही दिनअघि दुई जना नेपालीलाई डेंगु हुँदा सन्तोषजीले नै मकहाँ ल्याउनुभएको थियो।’
त्यतिमात्रै होइन, नेपाली कामदारलाई कागजातदेखि अन्य समस्याको हल खोज्न पनि उनी सक्रियता देखाउँछन् । माल्दिभ्समा नेपालीलाई हेर्ने दृष्टिकोण सकारात्मक भएकाले यहाँ आउनेको संख्या पनि बढीरहेको उनी बताउँछन्।
नेपालबाट आउने प्रायः सबैले उनको सम्पर्क नम्बर लिएर सहयोग माग्छन् । उनी पनि कसैले अनुरोध गर्नेबित्तिकै सहयोग गर्न पुगिहाल्छन्।
पछिल्लो समय यहाँ ल्याउने नाममा दलाल र म्यानपावर कम्पनीले ठग्ने गरेका छन् । पछिल्लो समय, टुरिष्ट भीसा लगाई नक्कली कामदार भीसा देखाएर फसाउने गरेका घटना बढेका छन् । अनेक कारणले अलपत्र परेकालाई पनि उद्धार गरी उनी नेपाल फर्काइदिन्छन् । केही दिनअघि मात्रै तीन जनालाई मालेबाट उद्धार नेपाल फर्काएका थिए । दुई दिनअघि दलालले दिल्ली पुर्याएका १२ जना उनको सम्र्पकमा आएपछि त्यतैबाट नेपाल फर्काए ।
‘मेरो विश्वास गरेर विभिन्न ठाउँबाट दाजुभाइ सम्पर्क गर्नुहुन्छ’, उनले भने, ‘म पनि सकेको सघाउँछु।’
उनले सुरुको चरणमा बाँके र बर्दियाबाट माल्दिभ्स पुगेका ३ सय जनालाई समेटेर ‘माल्दिभ्स राइजिङ स्टार क्लब’ गठन गरेका थिए । आफू सल्लाहकार भएर उक्त क्लबमार्फत वर्षमा दुई दिन नेपालीको जमघट गराउने गरेका छन्।
केही समयअघि मात्रै मालेको नजिकै रहेको टापुमा पिकनिक आयोजना गर्दा झण्डै पाँच सय जना उपस्थित भएको उनी बताउँछन्। अघिल्लो तीजमा आफ्नै पहलमा नेपालबाट कलाकार बोलाएर तीज भव्य पारेका थिए।
माल्दिभ्समै कार्यरत नेपाली महिलासँग अघिल्लो वर्ष मात्रै उने घरजम गरे । अब त माल्दिभ्समै जीवन निर्वाह गर्ने सोच पनि बनाइसकेका छन् । उनी माल्दिभ्समा नेपालीलाई गरिने व्यवहारबाट असाध्यै प्रभावित छन् । ‘हामी ड्राइभर सेक्युरिटी गार्ड वा घरेलु कामदारका रुपमा काम गर्ने भए पनि हेपिँदैन’, थप्छन्, ‘नेपालीहरु श्रम बेच्न जाने भूमिमध्येको स्वर्ग ठान्छन् माल्दिभ्सलाई।’
श्रीलंका, बंगलादेश भारतका कामदार धेरै छन् तर नेपालीहरु धेरै पारिश्रमिक पाउने र विश्वासको पात्र रहेको उनको अनुभव छ । उनले आफू काम गर्ने कम्पनीमा मात्र तीनदेखि पाँच सय नेपाली रहेको बताए । सेक्युरिटी गार्ड र ड्राइभरमा नेपाली नै प्राथमिकतामा पर्ने उनी बताउँछन्।
तर, सबै समस्याहरु उनको तहबाट समाधान हुँदैनन्। त्यसका लागि नेपालका सरकारी निकायदेखि श्रीलंकामा रहेको नेपाली दूतावाससम्म सम्पर्क राख्छन्।
माल्दिभ्समा नेपालीको संख्या बढदै गएकाले दूतावास खुल्नुपर्ने यहाँका नेपालीहरुको माग छ । दूतावास नभएका कारण नेपालीहरुले दुःख पाउने गरेको सन्तोष बताउँछन्।
उनी भन्छन्, ‘पासपोर्ट तथा श्रम स्वीकृत नवीकरण गर्नुपर्दा नेपाल र श्रीलंका धाउनुपर्छ, यहीँ दूतावास भए निकै सजिलो हुन्थ्यो।’
नेपालीका तर्फबाट बस्ने आधिकारिक निकाय नहुँदा कुनै कार्यक्रम गर्नुपरे हल पाइँदैन। त्यसैले सानातिना समस्यामा पनि ठूलो हैरानी बेहोर्नुपरको उनको अनुभूति छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।