बनेपा- तनाव झेल्न नसक्ने व्यक्तिमा डिप्रेसन र मानसिक रोगका कारण काभ्रेपलाञ्चोकमा आत्महत्याका घटना बढ्दै गएका छन्।
जैविक, मनोवैज्ञानिक र सामाजिक मुख्य कारणले मानिसलाई आत्महत्यातर्फ डोर्याएको धुलिखेल अस्पतालका चिकित्सक डा अजय रिसाल बताउँछन्। 'जुन विषय बाहिर आएको हुन्छ त्यो नहुन सक्छ, कहीँ न कहीँ मानसिक रोगको प्रभावले नै आत्महत्या निम्ताएको हुन्छ,' डा रिसालले भने।
जिल्लामा चालु आव २०७४/०७५ को साउन १ देखि भदौ १६ गतेसम्म मात्रै २८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तीमध्ये १४ जनाले झुन्डिर र १४ जनाले विष खाएर आत्महत्या गरेका छन्।
त्यस्तै, आव २०७३/०७४ को एक वर्षमा ९८ जनाले आत्महत्या गरेका छन्। तीमध्ये ५९ जनाले विष खाएर र ३९ जनाले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए।
सामान्य झै–झगडाको प्रतिशोध, अशिक्षा, गरिबी, प्रेममा असफलताका कारण आत्महत्या बढी भएको उल्लेख गर्दै उनले यसलाई रोकथामका लागि छिट्टै जनचेतनामूलक कार्यक्रम गाउँगाउँमा सञ्चालन गर्न आवश्यक भएकोमा जोड दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।