सिओल– दक्षिण कोरियामा नेपालीले आत्महत्या गर्ने शृंखला घट्नुको साटो दिनहुँ बढ्दै गइरहेको छ। गत शनिबार डोटीका नरबहादुर भाट क्षेत्रीले आत्महत्या गरे । कोरियाको जेजु आइल्यान्डस्थित सुन्तला कम्पनीमा कार्यरत भाटले घर फर्किन दुई दिन मात्र बाँकी छँदा आत्महत्या गरेका हुन्। उनी छतको बिममा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए।
उनीसँगै पछिल्लो पाँच महिनामा कोरियामा मृत्यु हुने नेपालीको संख्या १७ पुगेको छ । इपिएस (इम्प्लोइमेन्ट परमिट सिस्टम) सुरु भएयता सन् २००८ देखि अहिलेसम्म कोरियामा ज्यान गुमाउने नेपालीको संख्या १ सय ३९ पुगिसकेको छ।
नेपालस्थित इपिएस कार्यालयको तथ्यांकअनुसार कोरियामा ज्यान गुमाएका नेपालीमध्ये आधाभन्दा धेरैले आत्महत्या गरेका छन् । खाडी लगायत अन्य मुलुकको तुलनामा कोरियामा रोजगारीका क्रममा राम्रो कमाइ हुने गरेको छ । महिनाको लाख रुपैयाँभन्दा माथि कमाइ हुँदा पनि आखिर किन नेपालीहरु कोरियामा आत्महत्या गरिरहेका छन्?
यो निकै जटिल र अध्ययनको विषय हो। कोरियामा रोजगारीका लागि वैधानिक रुपमा ४५ हजार नेपाली कार्यरत छन् । यसैको सेरोफेरोमा रहेर मैले केही अनुसन्धान गर्ने जमर्को गरेको थिए । अनुसन्धानका लागि ‘सुसाइड नोट’ र कोरियाको विभिन्न सहर, विशेषत खेगिदो क्षेत्रमा कृषिमा काम गर्ने र बुसानको औद्योगिक क्षेत्रमा काम गर्ने २० जना नेपाली कामदारसँग प्रत्यक्ष कुराकानी गरेको थियो। यसबाट थुप्रै तथ्य बाहिर आएको छ।
ती तथ्यहरु यसप्रकार छन्:
शिक्षित बेरोजगारको कोरिया प्रवेश
आम युवा नेपाली आफ्नो परिवारको जायजेथा खर्च गरेर अध्ययन गर्छ। औपचारिक अध्ययन पूरा गरिसकेपछि ऊ रोजगारीको लागि भौंतारिन्छ। शैक्षिक प्रमाणपत्रले कतै जागिर पाउँदैन। र, अन्तत: कोरियन भाषा पढ्न थप पैसा खर्च र राम्रो पैसा कमाउने लोभमा कोरिया आउँछ। कोरिया प्रवेश गर्दा उसको सपना हुन्छ, धेरै पैसा कमाएर घर फर्किने।
कोरिया सरकारको विदेशी कामदार छनोट गर्ने तरिका पनि रोचक छ। ऊ शारीरिक कामका लागि बौद्धिक परीक्षा लिन्छ। कोरियामा शिक्षित युवाहरुको प्रमाणपत्रको कुनै औचित्य छैन। जति नै पढेका नेपाली भए पनि उनीहरुले रोजगारीका लागि कोरिया आउँदा उनीहरुले तोकेकै काम गर्नुपर्छ।
आफ्नो देशमा पैसा खर्च गरेर जति नै पढाइ गरे पनि शिक्षित नेपालीले यहाँ आएर न्युनस्तरको काम गर्नुपर्छ। यसका कारण शिक्षित नेपाली युवाहरुमा चरम निराशा देखिएको छ। उनीहरु कोरिया आएर आफ्नो शैक्षिक मेहनतलाई धिक्कार्छन्। र, विक्षिप्तको अवस्थामा सुसाइड जस्तो गलत निर्णय लिने गर्छन्।
ठूला सपना
१८ वर्ष पूरा भएका लाखौं नेपाली युवाको आकर्षणको गन्तव्य हो, कोरिया। यहाँ रोजगारीका लागि आउने प्रायः सबै नेपालीको एउटै सपना देखिन्छ, करौडौं कमाउने, देश फर्किएर सहरमा घर र गाडी किन्ने। यो मनोविज्ञान दुर्घटना निम्त्याउन सबैभन्दा ठूलो कारकको रुपमा देखिएको छ। कोरिया आउन भाषा सिक्न जाँदा इन्स्टिच्युटहरुले आफ्नो फाइदाका लागि हरेक नेपालीलाई यति ठूलो सपना देखाएका हुन्छन्। जुन निकै घातक पाइएको छ।
इन्स्टिच्युटहरुले भाषा सिक्न जाँदा कोरिया प्रवेश गर्नेबित्तिकै मान्छे करोडपति बन्ने सपना देखाएका हुन्छन् । वास्तवमा त्यसमा सत्यता हुँदैन। कोरियामा एकदमै मेहनत गर्ने व्यक्तिले राम्रो पैसा कमाउन सक्छ। कोरियामा बसोबास गरिसकेका व्यक्तिले पनि आफन्तहरुलाई आफ्नो पीडा सुनाउँदैनन् । कोरियामा काम गर्दा कस्तो जोखिम आइपर्छ, कति घन्टा खट्नुपर्छ, कस्तो काम गर्नुपर्छ; यी सबैको जानकारी दिँदैनन् । कोरिया आउने हरेक नेपाली युवाले डेढदेखि दुई लाख कमाइ हुन्छ भन्ने सपना मात्र देखेका हुन्छन्।
तर, यति रकम कमाउन कस्तो काम गर्नुपर्छ र कति घन्टा खट्नुपर्छ, यसको हेक्का उनीहरुलाई हुँदैन। त्यसैले यहाँ आएपछि आफूले सोचेभन्दा अलग परिस्थिति पाएपछि उनीहरु निराश बन्ने गरेका छन्। कोरियामा कृषि क्षेत्रमा काम गर्ने नेपाली युवाले १० घन्टा खटिनुपर्छ। ओभरटाइमबापत थप कुनै पैसा आउँदैन। काम परिवर्तन गर्न साहुले दिँदैन। अन्त्यमा नेपाली युवाहरु डिप्रेसनको सिकार बन्ने गर्छन्। र, अन्त्यमा गलत बाटोमा लाग्छन्।
साथीसँग तुलना गर्नु
कोरियामा काम गर्ने सबै कामदारको समान पारिश्रमिक छैन। कतिपय कम्पनीमा काम गर्ने नेपालीले थोरै समय काम गरे पनि धेरै पारिश्रमिक पाउने गरेका छन् । मासिक रुपमा पाउने बोनस पनि मनग्य हुन्छ । तर, कतिपय ठाउँमा लामो समय सम्म काम गरे पनि पारिश्रमिक थोरै हुन्छ, बोनस रकम पनि आउँदैन । आफूसँगै आएको साथीले प्रगति देख्दा अर्को साथीलाई हीनता महसुस हुने गरेको छ। थोरै पैसा कमाउने नेपाली आफ्नो काम बदल्न चाहन्छन्।
तर, उनीहरुको साहुले बदल्न दिँदैन। कोरियामा कामदारभन्दा मालिक बलिया छन् । कम्पनी परिवर्तनका लागि कामदारले मात्र चाहेर पुग्दैन । मालिक पनि सहमत हुनुपर्छ । तलब थोरै भयो, काम गाह्रो भयो, कम्पनी मन परेन भने त्यस्ता कारण देखाएर काम परिवर्तन गर्न पाउने अधिकार कामदारसँग छैन। कम्पनी परिवर्तनका लागि मालिकसँग अनुमति नलिई अन्यत्र काम गर्यो भने त्यस्ता कामदार स्वत: अवैधानिक ठहर हुन्छन् । र, यहाँको प्रहरीले पक्राउ गरी स्वदेश फिर्ता गर्ने कानुनी व्यवस्था छ। कानुनी रुपमा बाँधिएका कारण खासै कमाइ गर्न नसक्ने साथीहरु डिप्रेसनको सिकार भएका छन्।
परिवारको दबाब
कोरियामा काम गर्ने सबैले बराबर पैसा कमाउन सक्दैनन् । एउटै गाउँबाट सँगै कोरिया प्रवेश गरेका दुई युवामा कमाइको अनुपात झन्डै आधा नै फरक हुन पनि सक्छ। यस विषयमा परिवारले शंका गर्ने, नबुझ्ने कारण यहाँ हुने नेपाली युवामा विक्षिप्त मानसिकता विकास हुँदै गइरहेको छ । कामको सिलसिलामा शारीरिक रुपमा समस्या पनि आइपर्न सक्छ। यस्तो अवस्थामा व्यक्तिले घरपरिवारसँग सल्लाह गर्दछ, परिवारबाट उसलाई सयोग हुँदैन । प्रायः घरका अभिभावकले कोरियाबाट फर्केर के गर्छस् भन्दै उसलाई हत्तोत्साही गर्ने काम गर्छन् । यसले पनि समस्या बढिरहेको छ।
प्रेम सम्बन्धमा समस्या
प्रेम सम्बन्धमा असमझदारी आउँदा पनि कतिपय नेपाली युवाले आत्महत्याको बाटो रोजेका छन् । आफूले मन पराएको केटीको अर्कैसँग बिहे हुनु । आफ्नै श्रीमतीप्रति अविश्वास बढ्नु लगायतका कारणले गलत बाटो रोजिरहेका छन्। लामो समयसम्म टाढाटाढा बस्नुपर्ने जोडीमा ससानो कुरामा शंका बढ्ने र त्यही शंकाले गलत मोड लिने गरेको छ । विदेशमा बस्ने युवाहरु काम गर्ने समय बाहेक अन्य समय इन्टरनेटको नजिक रहने गर्दछन् । युट्युबमा भ्युअर्स बढाएर पैसा कमाउन पल्केकाहरुले 'बूढो विदेशमा बूढी अर्कैसँग रमाउँदै' टाइपको शीर्षक राखेर फेक भिडियो बनाउने र त्यही हेर्ने, अनि आफ्नै श्रीमतीप्रति शंका गर्ने क्रम पनि बढ्दो छ । यसले गलत बाटो लिइरहेको पनि प्रत्यक्ष उदाहरण छन्। गत महिनामात्र जेजुमा एक युवाले केटी साथीले अर्कैसँग विवाह गरेकाले आत्महत्या गर्नुपरेको कुरा सुसाइड नोटमा उल्लेख गरेका थिए।
पुराना साथी तथा कोरियनको हेपाहा प्रवृत्ति
कोरियामा विशेष गरी पुरानो पुस्ताले विदेशी कामदारलाई हेप्ने गर्छन् । कुनै नेपाली कामदार एक्लै उक्त कम्पनीमा परेको छ भने सुरुमा त उनीहरुको भाषा बुझ्दैन, पछि भाषा बुझ्दै गएपछि कोरियनले प्रयोग गर्ने शब्दले ऊ विक्षिप्त हुन्छ । नेपालीले नेपालीलाई हेप्ने गरेको पनि उदाहरण छन् । विशेष गरेर पुराना साथीले नयाँ आउनेहरुलाई असहयोग गर्ने, हेप्ने लगायतका कारणले पनि कतिपय पीडित बनेको उदाहरण प्रशस्त छन्। यसको दीर्घकालीन असर भनेको गलत बाटो नै हो।
कम सुत्ने
कोरियामा काम गर्ने समय भनेको धेरै कम्पनीमा विहान ७ देखि राति १० बजे सम्म हो । आठ घन्टा मात्र काम हुने कम्पनी पनि छन् । बिहानदेखि रातिसम्म कडा काम गर्ने, राति १० बजेपछि कामबाट आएर श्रीमती तथा प्रेमिकासँग लामो समय फोनमा गफिने गर्दा सुत्ने समय पुग्दैन । जसका कारण सुतेको सुत्यै मृत्यु हुने समस्या पनि देखिएको छ।
अन्त्यमा, जुनसुकै कारणले कोरियामा बस्ने युवाहरुले आत्महत्या गरे पनि यो निन्दनीय छ। समस्या हरेक व्यक्तिमा हुन्छ । तर, ती समस्यालाई उचित तरिकाले सम्बोधन गरेर पन्छाउन सक्ने व्यक्ति नै पछि गएर सफल हुन्छन्।
कोरियामा काम गरेर आफ्नो जीवनमा परिवर्तन ल्याउने नेपालीहरु पनि टन्नै छन्। यसकारण सानातिना चुनौती सामना गरेर मेहनत गर्ने नेपाली युवाका लागि कोरिया गतिलो गन्तव्य पनि हो। वैदेशिक रोजगारी राम्रो अवश्य होइन तर देशको वर्तमान परिस्थितिलाई मूल्यांकन गर्दा आँट गर्ने र दुःखमा पनि रमाउन सक्ने युवाका लागि कोरिया गतिलो गन्तव्य हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।