माले (माल्दिभ्स)– वैदेशिक रोजगारीमा जाने नेपाली चेलीहरुको चित्कार हामीले दिनहुँजसो सुन्ने गर्छौं। सबैलाई लाग्न सक्छ, दक्षिण एसियामै अवस्थित माल्दिभ्समा कार्यरत नेपाली चेलीहरुको अवस्था यस्तै होला। तर होइन, माल्दिभ्समा कार्यरत नेपाली चेलीको कथा खाडीमा काम गर्ने चेलीभन्दा भिन्न छ।
माल्दिभ्समा कार्यरत नेपाली महिलाहरु आफूलाई निकै सुरक्षित महसुस गर्छन्। वैदेशिक रोजगारीको सम्बन्धमा उनीहरुको बुझाइ र भोगाइ पनि लोभलाग्दो छ। विगत पाँच महिनादेखि माल्दिभ्सको राजधानी मालेमा कार्यरत रञ्जिता ओझा आफूलाई माले सहर माइती जस्तो लाग्ने अनुभव सुनाउँछिन्।
छोटो अवधिमै मालेमा रमाएकी रञ्जिताले नेपाल लाइभसँग भन्छिन्, ‘मलाई अहिले विदेशमा होइन, माइतीमा छु भन्ने महसुस हुन्छ।’ मालेको स्तरीय होटलमध्येको एक ‘युनिमा ग्रान्ड’ मा उनी वेटर पदमा कार्यरत छिन्।
धरान निवासी रञ्जिताले नेपालमा केही वर्षअघि मात्र विवाह गरेकी थिइन्। रोजगारीका लागि माल्दिभ्स आउने उनको निर्णयमा सबैभन्दा ठूलो चिन्ता माइती पक्षको थियो। त्यसैले माइतका आमाबुवाले माल्दिभ्स आउनुअघि उनलाई दुःखै भए पनि आफ्नै देशमा काम गर्न सल्लाह दिएका थिए। तर, श्रीमान् र उनको परिवारबाट सहयोग पाएकी रञ्जिता रोजगारीको लागि माल्दिभ्स आइन्।
‘अहिले ठिकै गरेछु जस्तो लागेको छ। आमाबुबाले नजा भनेर कर गर्नुभएको थियो,’ उनले खुसी हुँदै भनिन्। लामो समयदेखि माल्दिभ्समै कार्यरत नन्दले उनलाई माल्दिभ्स आउन कर गरेकी थिइन्। सुरुमा रञ्जितालाई माल्दिभ्समा काम गर्न यति सजिलो र सुरक्षित होला जस्तो लागेको थिएन।
छोटो बसाइकै क्रममा माल्दिभ्सको जीवनशैलीसँग घुलमिल भइसकेकी रञ्जिताले भनिन्, ‘यहाँ त महिलाले पनि छोरासरह माइतीबाट अंश पाउँछन्। यो देश महिलामैत्री रहेछ।’
मालेको ‘जेट सेभेन’मा अवस्थित युनिमा ग्रान्ड होटेलमा दिउँसो ४ देखि राति १२ बजेसम्म खटिने रञ्जिता सञ्चालकको व्यवहारबाट पनि खुसी छिन्। त्यसैले उनको अनुहारमा पनि मुस्कान देखिन्छ। भन्छिन्, ‘यहाँको व्यवस्थापन यति सहयोगी छ, कहिले बाहिर घुम्न मन लाग्यो भने जानकारी दिएर छुट्टी लिन सक्छौं। कुनै रोकटोक छैन। उनीहरु आफ्नो स्टाफलाई खुब हेरविचार गर्छन्।’
रञ्जिताको अनुभव छ, नेपालीको कामप्रतिको लगाव र इमानदारिताले माल्दिभ्सका व्यवसायीलाई निकै प्रभाव पारेको छ। उनीहरु नेपाली कामदारलाई निकै विश्वास गर्छन्।
रञ्जिताकै हकमा पनि यस्तै भएको छ। उनले कामप्रति देखाएको लगावबाट प्रभावित भएर होटलले यसै महिना थप ३ नेपाली महिला कामदारलाई रोजगारीका लागि होटलमा भित्र्याएको थियो।
रञ्जिताका अनुसार वेटर, रिसेप्सनिष्ट, हाउस किपिङ र सेक्युरिटी गार्डमा काम गर्ने नेपाली महिला टन्नै छन्, माल्दिभ्समा। उनको जानकारीमा ७ हजारको हाराहारीमा नेपाली चेलीहरु माल्दिभ्समा कार्यरत छन्।
माल्दिभ्समा झन्डै १५ सय टापु छ। रोचक कुरा, सबै टापुमा नेपालीको उपस्थित रहेको मानिन्छ। यहाँ आउने हरेक कामदारलाई कम्पनीले खाने र बस्ने सुविधा दिएको छ। न्युनतम पारिश्रमिक मात्र साढे ३ सय डलर तोकिएको छ।
अझ, इला होटल र रिसोर्टमा कार्यरत महिलाले थप सेवा–सुविधावापत ५ सय देखि ५ हजार डलरसम्म पाउने गरेका छन्।
रञ्जिताले आफ्नी नन्दको उदाहरण दिँदै भनिन्, ‘मेरी नन्द एउटा आइल्यान्डमा रहेको रिसोर्टमा काम गर्नुहुन्छ। उहाँको आम्दानी महिनाको २ लाख रुपैयाँ छ।’
माल्दिभ्सको कानुनले महिला र कामदारको अधिकारलाई सुनिश्चित पारेको छ। विगत १० वर्षदेखि माल्दिभ्समा कार्यरत अर्का नेपाली कामदार सन्तोष मगर बताउँछन्, ‘कुनै मालिकले महिलामाथि दुर्व्यवहार गरेको गुनासो आयो भने लामो समय जेल बस्नुपर्ने कानुन छ। अझ, कामदारको हकमा मालिकमाथि अन्याय र अत्याचार गरेको प्रमाणित भयो भने उसले आजीवन कामदार राख्न नपाउने व्यवस्था छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।