काठमाडौं– ‘उडान सबै स्कुलका पाठ्यक्रममा समावेश गर्न सकिन्छ,’ समीक्षक राजकुमार बानियाँले भृकुटीमण्डप स्थित किशोर उपन्यास 'उडान'को अन्तरक्रियामा भने।
नेपाली साहित्यमा किशार साहित्यको अभाव भइरहेको छ। यो अभावलाई पूर्ति गर्ने गरी बेला किशोर किशोरी लक्षित ‘उडान’ उपन्यास आउनु खुसीको कुरा भएको समीक्षक बानियाँले बताए।
नेपाल पुलिस क्लबको सभाहलमा भइरहेको काठमाडौं पुस्तक मेलामा किशोर किशोरीलाई लक्षित गरी लेखिएको उपन्यास ‘उडान’ माथि अन्तरक्रिया भएको छ । नेपाली साहित्यमा बालबालिका र प्रौढहरुका लागि मात्रै साहित्य लेखिएको भन्ने बेलाबेलामा आइरहेको गुनासोलाई चिर्दै ‘उडान’ बजारमा आएको छ । तिनै उडानमाथि समीक्षक बानियाँले बोल्दै भनेका थिए, ‘उडान चाहिँ पढिनु पर्ने उपन्यास हो।’
‘किशोर किशोरीको मनोभावना र उनीहरुमा आउने परिवर्तनको अवस्थाका बारे उडानले केही हदसम्म बोलेको छ। उडानमा आजका किशोरहरुले आफ्नै अनुहार भेट्ने छन् भने किशोरावस्थाबाट गुज्रिसकेकाहरुले आफूलाई पूनः किशोर अवस्थामा पुगेको महसुस गर्नेछन्,’ अर्का बक्ता निबन्धकार दीपक सापकोटाले बताए।
उडान किशोर किशोरीले मात्रै पढ्ने पुस्तकको रुपमा लिन नहुने र आम पाठकले पढ्नैपर्ने उपन्यास रहेको दाबी गरे।
आफूमा आइरहेको परिवर्तनको समयमा किशोरहरू जिज्ञासु हुन्छन् र त्यहीबेला बढी स्वतन्त्र पनि हुन चाहन्छन्। अर्का बक्ता विभु लुइटेलले किशोर किशोरीका लागि स्वतन्त्रता पनि आवश्यक भएको टिप्पणी गरिन्।
कार्यक्रममा कवि नरेन्द्रकुमार नगरकोटीले उडानको अवधारणा पत्र प्रस्तुत गरेका थिए भने कथाकार दिनमान गुर्मछानले वक्ताहरूसँग अन्तरक्रिया गरेका थिए।
काभ्रेका विजय सापकोटाको यस अघि ‘अनावरण’ कथासंग्रह निकै रुचाइएको थियो । कविता, निबन्ध र कथा लेख्ने विजय सापकोटाको किशोर उपन्यास उडानले फेरि पनि पाठकको मन जित्नेमा दुई मत छैन। उडान शाब्दिक बुक्सले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।