चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालको ‘वि च्याट मोमेन्ट’मा एउटा स्टाटससहित केही फोटा देखिए। स्टाटसमार्फत विदेशका लागि जनमैत्री संघ बेइजिङ र बेइजिङ नगर सरकारले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा भाग लिन पाउँदा उनले खुसी व्यक्त गरे।
आफूले बागमती सरसफाइ अभियान चलाएको र उक्त अभियान नेपालमा भइरहेको पनि उनले सम्झिए। ‘बेइजिङको वायुको गुणस्तरमा सुधार आइरहेको छ र केही वर्षदेखि हरियाली पनि बढेको छ। पर्यावरण संरक्षणमा चीनले विश्वको नेतृत्व लिदैं जानेछ’, पाैड्यालले भनेका छन्।
भर्खरै मात्र हिउँदलाई बिदा गरेर वसन्तको स्वागत सत्कारमा व्यस्त छ - बेइजिङ।
हिउँदको उराँठलाग्दो वातावरण, पात झरेर मुर्झाएका रूखमा बल्ल वसन्तले पालुवा भर्न थालेको छ। कतै-कतै रूखमा फुलेका सेता, पहेंला र गुलाबी फूलहरूले भमराहरूलाई मोहनी लगाउन थालेका छन्। मरूभूमी जस्तै रूखो लागेको शहर अहिले हरियालीकाे दिशातर्फ उन्मुख छ।
मार्च १३ तारिखका दिन बिहान ९ बजेतिर बेइजिङको पापाओसानबाट पढ्नका लागि कुलौताचे भन्ने ठाउँमा जाँदै थिएँ। सडक किनारभरि फूलका बगैँचामा पानी हालिरहेको देखेँ। शरद ऋतुले गर्दा कुनै बेला हरिया, लोभलाग्दा ती फूलका बोटहरू सुकेर खंग्रङ्ग देखिन्थे। ती फूलहरुलाई पूनर्जीवन दिन पानी हालिँदै थियाे भन्ने बुझ्न मलाई समय लागेन।
मैले उनीहरूले काम गरिरहेको त्यो दृश्य फोटोमा कैद गर्न लागें। तर, सधैं र सबै ठाउँमा फाेटाे लिनु उपयुक्त हुँदैन भन्ने चेत त्यतिबेला आयाे, जतिबेला उताबाट गाली गरेको जस्तै आवाज सुनें। त्यसपछि म डराएर छिटो-छिटो त्यहाँबाट भागें। म त्यति चिनियाँ भाषा नबुझ्ने भएकाले उनीहरूको कुरा त्यतिबेला बुझिन।
अलि पर पुगेपछि त्यो कामदारले भनेको वाक्य मोबाइलबाट अनुवाद गर्दा त आफैंदेखि हाँसो उठ्यो। उसले आफ्नो साथीलाई ‘तिमी उता पानी हाल्नु, म यता हाल्छु’ भनेको रहेछ। हुन त चिनियाँ भाषा बोल्दा आरोहअवरोह गरेर बोल्नुपर्ने हुन्छ। त्यसैले बानी नपरेका म जस्ता विदेशीलाई उनीहरूको बोल्ने तरिका नै झगडा गरेको जस्तो अथवा गाली गरेको जस्ताे लाग्नु स्वभाविक थियाे।
बेइजिङको सडकमा हिँड्दा देखिने हरियालीले मलाई आफ्नो गाउँघरको सम्झना दिलाउँछ अनि रूखहरूमा उफ्रिँदै खेलेको दृश्य आँखा वरिपरि नाच्न थाल्छ। मलाई अझै पनि सम्झना छ, ती बाल्यकालका क्षणहरू। म सानोमा अति चन्चल स्वभावकी थिएँ। फुर्सद भयो कि साथीसंगी बटुलेर खेल्न हिँड्ने। तराईमा प्राय: बगैंचाहरू धेरै हुन्छन्। गर्मीयाममा शीतल हुने भएकाले बगैँचा हाम्रो खेल्ने स्थल थियो। मेरो फुपूहरूको बारीको बिचमा पनि आँप र लिचीको बगैँचा थियो। त्यो बगैँचा भने फुपूकाे घरबाट टाढा बारीको बीचमा पर्थ्यो।
असार साउनमा फलफूल लटरम्म फलेका हुन्थे। ती सिजनमा भने त्यहाँ रेखदेख गर्ने मान्छे राखिएकाे हुन्थ्यो। हामी त्यो बेलामा त्यहाँ डरले जाँदैनथ्यौं। साथी बटुलेर लग्दा मैले गाली खान्थें। फलफूल सकिएपछि भने हामी मज्जाले खेल्न पाउँथ्यौँ। जति उफ्रिए पनि बगैँचाको शीतल हावाले हाम्रो मन चङ्गाझैँ हावामा सररररर उडिरहन्थ्यो।
बगैँचाको बीचमा हाँगा फैलिएको सानो चिटिक्कको रूख थियो। हामी सबै चढ्नसक्ने भएकाले उफ्रने थलो बनेको थियो त्यो रूख। रूखको हाँगाको माथि अर्को हाँगामा चढेर पालैपालो मच्चाउथ्यौँ पनि।
२०५५ सालतिर नै हुनुपर्छ सदाझैँ हामी करिब ६/७ जना साथी त्यही रूखमा उफ्रिँदै थियौँ। रूखमुनि खेतबारीमा पानी लगाउनका लागि कुलो खनिएको थियो। उफ्रिँदै गर्दा अचानक रूखको हाँगा भाँचिन पुग्छ। केहीबेर अघिसम्म रमाइरहेका हामी अचानक गर्लम्म त्यही पानीमा खस्न पुग्याैं। धन्न कसैलाई ठूलो चोटपटक चाहिँ लागेन। मेरो मात्र ढाडले दु:ख पायो। कति दिनसम्म म निहुरिन नै सकिन। ममीले थाहा पाउनुहुन्छ भनेर कत्रो होसियारी अपनाउँदै केही नभएको जस्तो गर्थें। त्यो दुखाइ अझै मेरो स्मृतिमा ताजा छ।
उच्च शिक्षा अध्ययनका क्रममा हेटौँडा आएँ। हेटौँडा नेपालको 'ग्रीन सिटी'मा गनिन्छ। बिहेपछि भने म काठमाडाैं बस्नुपर्ने भयाे। काठमाडाैंको धूलोधुँवा यति धेरै कि त्यसै-त्यसै निस्सासिएको जस्तो हुन्थ्याे। बाटो छेउमा कतै-कतै फूल अलि-अलि देखियो, तर ती फूलहरूको पनि त्यस्तो स्याहार देखिएन।
२०७१ सालमा नेपालमा सार्क शिखर सम्मेलन हुदाँ काठमाडाैं खुब फूलहरूले सजाइएको थियो। तर, सर्वसाधारणहरू ती फूललाई किचेर, नाघेर हिंडेको समाचार सुन्दा उतिखेरै मन खिन्न भएको थियो। त्यही सहर छाेडेर म यतिखेर भने बेइजिङ आइपुगेकी थिएँ।
पहिलो पटक बेइजिङमा उत्रिँदा म रनभुल्लमा परें। राजधानी हो कि कुनै जङ्गल। बाटोको छेउछेउमा कतै रूखैरूखको जङ्गल त कतै घरैघरको जङ्गल।
विश्वमा प्रदूषित शहरमध्ये बेइजिङ पनि एक हो। जति धेरै आधुनिकता उति धेरै प्रदूषण। कतै सुनेको थिएँ, 'बेइजिङको हावामा कुनै दिन भएको बाक्लो प्रदूषण यस्तो थियो कि, जुन सास फेर्दा २१ वटा चुरोट खाए बराबरको हानी हुने खालको थियो।' कुनै बेला प्रदूषण बढेर तुवाँलोले ढाकेको जस्तो दिन पनि देखें। धेरै प्रदूषण भएको दिनमा त स्कुलहरू पनि बन्द नै हुने गर्दारहेछन्। सरकारले अफिसहरूमा माक्स पनि बाँड्दोरहेछ।
चीनमा हरेक वर्ष ४५ बिलियन चपस्टिकको प्रयोग हुन्छ। यसको लागि प्रत्येक वर्ष २ करोड रूख काट्नुपर्छ भनिन्छ। अहिले विश्वमा जलवायु परिवर्तनका कारण तापक्रम परिवर्तन हुँदै गइरहेको छ। जलवायु परिवर्तन हुनुमा प्रदूषण मुख्य कारक तत्व हो। त्यसैले चीन यसप्रति सचेत हुँदै गएको छ। शहरी क्षेत्रका कलकारखानाहरू अन्त सार्दै लगिएको छ।
चीनमा वसन्त ऋतु लाग्नासाथ अधिकांश ठाउँहरूमा वृक्षारोपणका कार्यक्रमहरू धमाधम भइरहेको देख्न सकिन्छ। 'क्यापिटल ग्रिनिङ कमिटी-२०१९' का अनुसार बेइजिङमा यस वर्ष ११ मिलियन बिरूवा रोप्ने लक्ष्य राखिएको छ। स्वयंसेवा गर्न इच्छुक व्यक्तिहरूका लागि ‘नागरिक स्वयंसेवी वृक्षारोपण’ भन्ने 'एप' 'वि च्याट'मा खोलिएको छ। त्यहाँ आफ्नो नाम दर्ता गर्न सकिन्छ।
रोचक लाग्दो कुरा त यसै वर्षदेखि ‘नागरिक स्वेच्छिक वृक्षारोपण’को 'वि च्याट एप' पनि क्यापिटल ग्रिनिङ कमिटीले सार्वजनिक गरेको छ। सहरका विभिन्न जिल्लामा रहेको क्यापिटल ग्रिनिङ कमिटीको कार्यालयअनुसार रूख रोप्न इच्छुकले उक्त एपबाट अनुमति लिनुपर्नेछ। त्यसै एपबाट कुन जमिनमा बिरूवा लगाउने भनेर निर्देशन दिइन्छ।
चीनमा सन् १९८३ देखि वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको हो। उक्त कार्यलाई हालसम्म पनि प्राथमिकतामा राखिएको छ। वृक्षारोपण र रेखदेखका लागि पुराना पुस्ता जोडतोडले लागेका छन्। वृद्धावस्थामा काम पनि नहुने, यत्तिकै घरमा निस्क्रिय जीवन बिताउनुभन्दा उनीहरू यस्ता काममा सक्रिय हुनेगरेकाे बताइन्छ। यसबाट बुढेसकालमा उनीहरूले केही न केही पैसा पनि कमाउन सक्ने तथा समाजको एउटा समूह निस्क्रिय हुनबाट बच्ने अवस्था सिर्जना भएकाे छ।
आ-आफ्नो टोलका लागि स्वंयमसेवीहरू स्थानीय नै छानिएको हुन्छ। यसले गर्दा उनीहरूमा प्रतिस्पर्धाको भावनाको विकास हुन्छ। राम्रो काम गर्ने टोलका भित्ताहरूमा उनीहरूको सम्मानस्वरूप ठूलो फ्रेममा फोटो टाँसेको पनि देखिन्छ।
अचम्मै लाग्छ, बेइजिङमा आज खालि देखिएको जमिनमा भोलिपल्ट टेको लगाएर उभिएको रूख खडा भइरहेको हुन्छ। सहरका खालि ठाउँमा रूखैरूख लगाएर कृतिम जङ्गल जस्तै बनेको हुन्छ।
चीनमा यति दुःख गरेर रूखको संरक्षण गरेको देख्दा नेपाली वनजंगलको याद आउँछ। नेपालको हावापानीमा वनजंगल विकास गर्न यति धेरै मेहनत गर्नै पर्दैन। भौतिक विकास मानवीय आवश्यकता हो। तर, विकासको नाममा विनाश मात्रै गर्नु हुँदैन, जसले भावी पुस्ताका लागि भयावह अवस्था ल्याउनसक्छ।
मेराे भन्नु यत्ति छ- ‘हरियो वन नेपालको धन’ भन्ने नारालाई उखानमा मात्रै सीमित गर्नुभएन। सम्भवत: यसमा जाेसुकैकाे सहमति रहन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।