केही समयअघि नेपाल सरकारको करार जागिर खाएर रामकोट प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेको पहिलो दिन, अझै याद छ मलाई। निक्कै जीर्ण देखिने दुई तल्ले भवनको डाक्टर बस्ने अफिस कोठामा पुग्दा, सोही स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट दाइसँग भेट भयो। बाकसबाट निकालेर नयाँ सिपियू जोड्दै गरेका उनलाई मैले आफ्नो परिचय दिएर नमस्कार गरेँ। जिल्ला स्वास्थ्य कार्यलयमा धेरै समयदेखि एउटा कम्प्युटर पाउँ भनेर निवेदन दिएपछि बल्ल आइपुगेको रहेछ प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो कम्प्युटर। 'म पहिलो डाक्टर त होइन नि है यहाँ, यो पहिलो कम्प्युटर जस्तो?' मैले हाँस्दै सोधेँ। उत्तरमा उनले भने, 'त्यहाँ पाँच वर्षदेखि कोही डाक्टर छैनन्। त्यसअघि पनि एक जना आयुर्वेदका डाक्टर मात्रै थिए।' जिल्लामा किन नभन्नु भएको त डाक्टर चाहियो भनेर? मेरो प्रतिप्रश्न भुइँमा नखस्दै उनको जवाफ आयो, 'डाड्साप! यो रामकोट बत्तीमुनिको अँध्यारो हो।'
रामकोट ओपिडीमा बिरामी बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हेर्ने चलन रहेछ। बर्थिङ सेन्टर पनि भएकाले दक्ष प्रसूतिकर्मी (एसबिए) तालिमप्राप्त एकजना नियुक्त गरिएको रहेछ, विशेषत गरी रातिको समयका लागि। प्राथमिक स्वास्थ्य केन्द्रका स्टाफको शब्दमा भन्नु पर्दा, 'काठमाडौँको भनेर अपहेलना गरिएको प्राथमिक स्वास्थ्य केन्द्र भएकाले डाक्टर बस्ने क्वाटर छैन।' त्यहाँ कार्यरत डाक्टर वा नर्स आफ्नै घरमा वा डेरामा बस्ने गर्छन्। एउटा एम्बुलेन्ससम्म नभएको ठाउँमा राति बिरामी आए घर गइसकेका डाक्टर या नर्सले फोनबाट काउन्सिलिङ गर्नुबाहेक अर्को विकल्प छैन। स्वास्थ्य केन्द्रको ओपिडीमा दैनिक ६०-७० बिरामी आउँथे। कहिले त्यो संख्या घटेर ३० नभएको पनि होइन। गर्मी समयमा बिरामीको चाप बढ्थ्यो। घाउ चोटपटक, झाडापखला, टाइफाइड, छालासम्बन्धी रोग, हाडजोर्नी दुखाइ , निमोनिया, प्रेसर-सुगर आदिका बिरामी धेरै आउँथे।
स्वास्थ्य केन्द्रमा धन्न एउटा ल्याब चाहिँ थियो। तर हाम्रो ल्याबमा कहिले के केमिकल हुँदैन थियो त कहिले के। ल्याब टेक्निसियन प्रायः आउँदैन थिए। बिरामी बिदामा छन् भन्ने सुनेको थिएँ। एक जना ल्याब टेक्निसियनको दरबन्दी हुने प्राथमिक स्वास्थ्य केन्द्रमा कारणवश ती कर्मचारी आउन सकेनन् भने, ल्याबका सबै काम रोकिन्थे। उनको अनुपस्थितिमा वैकल्पिक व्यवस्था गर्नेबारे जिल्ला जनस्वास्थ्य कार्यलय मौन छ। स्वास्थ्य केन्द्रका अधिकांश कर्मचारी मिलनसार थिए । तर, म करार सेवामा गएको र त्यहाँका कर्मचारी स्थायी भएकाले एक प्रकारको 'कसको अगाडि को ठूलो' भन्ने अदृश्य प्रतियोगिता चाहिँ थियो। स्वास्थ्य केन्द्रका बैठकहरु र जिल्ला प्रतिनिधिसँगका बैठकहरुमा मैले धेरै पटक एक्सरे, इसिजी र अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराइदिन आग्रह गरे। अफसोच्, मेरो केही जोर चलेन। जिल्ला जनस्वास्थ्य कार्यालयको काम भनेको बेलाबेलामा औषधि पठाउने, त्यो पनि अपुग र कहिलेकाहीँ तालिम गराउने त्यो पनि झारा टराई टाइपको। म बसेको एक वर्षमा त्यहाँ केही उल्लेखनीय काम भएन।
रामकोट प्राथमिक स्वास्थ्य केन्द्रमा भीमढुङ्गा, जीवनपुर, धाडिङदेखि बिरामी आउँथे। धेरैको आशा एउटा अस्पतालस्तरको उपचार सेवा पाइन्छ भन्ने हुन्थ्यो। तर धेरैपल्ट म इम्पिरिकल ट्रिटमेन्ट (बिना कुनै टेस्ट रोगबारे पढेको र ज्ञानका आधारमा मात्रै गरिने उपचार) गर्न वाध्य हुन्थेँ। बिरामीहरु स्वास्थ्य केन्द्रसम्म आइपुग्नुलाई नै ठूलो कुरा ठान्थे। कुनै आकस्मिक घटना या रोगबाहेक उनीहरु नजिकैको राजधानीका ठूला अस्पतालमा रिफर भएर जान रुचाउँदैन थिए।
एकपल्ट एकजना बाको प्रेसर २००/११० थियो। हामीले एम्लोडिपाइन, लाक्सिस जस्ता उपलब्ध औषधि दिएर प्रेसर केही घटायैँ। तत्काल नगरी नहुने मुटु र किड्नीका जाँचका लागि काठमाडौँको ठूलो अस्पताल रिफर गर्ने भन्यौ। बा भने घरमा गाइवस्तु बानेका छन्, अस्पताल हैन घर जान्छु भनेर ठमठम हिँडिदिए।
यस्तै आइरन, क्याल्सियमको एक चक्की मुखमा नपरेका र गर्भवती भएपछि एक पटक पनि जाँच नगराएका मिहला प्रसूति व्यथाले थलिएर अन्तिम अवस्थामा स्वास्थ्य केन्द्र आउँथे। त्यस्ता महिलाको पनि डेलिभरी गराइयो। यी त केही प्रतिनिधि बिरामी हुन्। यस्ता कैयन् घटना छन्।
रामकोटका बासिन्दासँगको भेटघाटमा उनीहरुले मलाई अति आदर गरेर बोलाउँथे। भन्थे, 'तपाईं यहाँ आएपछि त हामीलाई भगवान आएजस्तै भएको छ नि।' मैले उनीहरुसँग कुनै पनि डाक्टरलाई भगवान बनाउने/मान्ने काम नगर्नुहोस् है भन्थेँ। किनभने उचित उपकरण र यथेष्ट औषधिको अभावमा जोखिम मोलेर उपचार गर्ने डाक्टरले पाएको त्यो भगवानको दर्जालाई हाम्रो समाजले कतिबेला दैत्यरुपमा चित्रित गर्दै गाली, बेइज्जतीसँगै कालोमोसो दल्ने हो पत्तो हुँदैन। यसैपनि सधैँ उपचारको फाइदा लिने कुरा मात्र त हुँदैन, उपचारमा जोखिम पनि आउँछन्। त्यसमाथि स्रोत-साधनको अभाव भएको ठाउँमा त त्यस्तो जोखिम उच्च हुन्छ।
त्यहाँका बासिन्दाले अचम्म मान्दै सोध्थे, 'यो स्वास्थ्य अफिसमा पनि डाक्टर दैनिक आउनुपर्ने नियम हुने रहेछ है।' राजधानीबाट यति नजिक भएर पनि ढुङ्गेयुगी उपचार गरिरहनुपर्दा मलाई टीठ लाग्थ्यो। अनि कहिले आत्मग्लानी।
एकजना सरले भनेका थिए, 'यो नभन्नुहोस् कि, मैले यति वर्ष जागिर खाएँ, उति वर्ष सेवा गरेँ। यो भन्नुहोस् कि, जागिर अवधिमा संस्थामा मैले के नयाँ काम गरेँ? के सुधार ल्याएँ?' एक वर्षको करार अवधि सकिँदा मैले के गरेँ त भनेर यसो सोची हेरेँ। आफैँलाई सोधी हेरेँ। दुःखसाथ भन्नुपर्छ, मैले सरकारको आठौँ तहको अधिकृत बनेर एक वर्ष सिर्फ 'जागिर’ मात्र खाएँ। सेवा गरेँ तर सुधार ल्याउन सकिनँ।
एक वर्षको अनुभवले केही पाठ भने सिकायो। त्यसमध्ये महत्त्वपूर्ण हो, 'अन्य क्षेत्रजस्तै स्वास्थ्य पनि प्रणालीमै गएर ठोक्किने रहेछ। स्वास्थ्यकर्मी मात्र दक्ष भएर नपुग्ने रहेछ। उसको दक्षतालाई प्रयोग गर्नसक्ने पूर्वाधार पनि चुस्त हुनपर्ने रहेछ। स्वास्थ्य सेवा प्रवाह प्रणाली अपूर्ण, अव्यवस्थित र भिजनरहित हुँदा राजधानीसँग जोडिएका रामकोटजस्ता स्वास्थ्य केन्द्रको त यस्तो अवस्था छ भने दूरदराजमा रहेका सरकारी स्वास्थ्य संस्थाको हालत के होला? सहरको सीतापाइला चोकबाट जम्मा चार किलोमिटर दूरीमा रहेको रामकोट स्वास्थ्य केन्द्रमा बिताएका दिनहरु सम्झिँदा, ती हेल्थ असिस्टेन्ट दाइले बेलाबखत भनिरहने लाइन याद आउँछ, 'आखिर अँध्यारो त चम्किलो बत्तीमुनि नै हुने रहेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।