‘जीवन अमूल्य छ। जीवनको रक्षा गर्नु र त्यसलाई निरन्तरता दिनु हाम्रो प्राथमिक उत्तरदायित्वमध्ये एक हो।’ भगवान् बुद्धले दिनुभएको आधारभूत शिक्षालाई छोक्न्यी रिन्पोचेको पुस्तकको नेपाली अनुवाद (डा सरोज धितालद्वारा अनुदित) ‘चित्त खुलोस् हृदयसँगै’ मा पढ्दै गर्दा म संसारभर हिंसात्मक विस्फोटका खबरहरु विस्फारित नेत्रले पढिरहेछु। काश्मिर हमलाको घाउमा खाटा बस्न नपाउँदै न्युजिल्यान्ड निर्दोषको रगतले रंगिएको छ। न्युजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ५० जनाले ज्यान गुमाएका छन्। २० जनाभन्दा बढी गम्भीर रुपमा घाइते भएका छन्। आतंकवादलाई विभिन्न राजनीतिक रंग दिइने गरिए पनि मलाई चाहि यो गम्भीर रोग र कुलत हो जस्तो लाग्छ। यो निकै जटिल र कुटिल रोग हो, जो निको हुने रहर नै गर्दैन। जसले निको बनाउने रहर गर्छ, आतंकवादले उसैलाई सिध्याउँछ। अनाहकमा निहत्थाको जीवन चुँड्ने कामबाट नेपालले मुक्ति पायो भनेर ढुक्कले सास फेर्न सुरु गरेका हामी नेपालीले फेरि सन्तोषको सास हैन, सुस्केरा काढ्नुपर्ने दिन फर्केको नमिठो अनुभूति हुन थालेको छ।
देश गृहयुद्धको झमेलाबाट बाहिर निस्केर आफ्नो लयमा फर्केको अनुभूत गर्न नपाउँदै फेरि हिंसात्मक घटनाको खेलमा फसेको भान भइरहेको छ। फागुन ११ गते एनसेलको मुख्य कार्यालय अगाडि बम विस्फोट गराइँदा लमजुङ घर भएका ४९ वर्षीय सिंहप्रसाद गुरुङले ज्यान गुमाए, प्रतीक्षा खड्का र स्टाफ नर्स उरुषा मानन्धर गम्भीर घाइते भए। राजनीतिको नारा दिएर मर्न र मार्न उक्साउने, अर्काको अमूल्य जीवन अनाहकमा चुँड्ने, मान्छे घाइते पार्ने, समाज आतंकित पार्ने कामलाई रोमाञ्चक खेल सम्झेर समाज त्यतातिर फस्दै जानु दु:खद छ।
समाजको शल्यक्रिया गर्छौं भन्ने राजनीतिज्ञहरु यो हदको क्रुर र कठोर बन्नु हुँदैन। ठूलो क्षतिको ठूलो उपलब्धिभन्दा सानो क्षतिको सानो उपलब्धिले समाजलाई दीर्घ शान्ति र खुसी मिल्छ भने समाजलाई बिरामी बनाएर विजेताको भ्रममा किन रमाउने?
सद्दे मान्छेलाई घाइते पारेर हस्पिटलका बेड भर्न रहर गरिनुहुन्न। हस्पिटलको बेड गेस्ट सद्दे मान्छेलाई नियतवश घाइते पारेर अनि फेरि सन्चो पार्ने कामका लागि प्रयोग गरिनुहुन्न। सभ्य समाजले त्यस्तो कल्पना गर्दैन। हस्पिटलले जीवन जोड्छ। हस्पिटलले बिरामी चिन्छ, बिराम चिन्दैन। सदाचारी र दुराचारी भन्दैन। सानो र ठूलो मान्छे भन्दैन। जीवन भत्काउने रहर गर्दा गर्दै आफैले फिट गर्न लागेको बम पड्केर घाइते भएका आतयायीलाई पनि बचाएर पठाउछ। यति ठूलो विश्वविद्यालयबाट हिंसाको राजनीति गर्नेहरुले केही पाठ पढ्नु पर्दैन?
एक थोपा रगत कति अमूल्य छ भन्ने कुरा आफन्तका लागि रगत जोहो गर्न रातारात यता र उताका ब्लड बैंक धाउनेहरुलाई थाहा छ, डाक्टर र नर्सलाई थाहा छ। रातो हुँदैमा रगतले जीवन दिँदैन। ग्रुप जाँच्दै नजाँची जुन पायो त्यही रातो रगत हालेर कसैको जीवन बचाउन सकिँदैन। हिंसात्मक राजनीतिमा रमाउने खेल भनेको ग्रुप नमिलाई बिरामीको शरीरमा रगत हालिदिने रहर गरेजस्तै हो। समाजको शल्यक्रिया गर्छौं भन्ने राजनीतिज्ञहरु यो हदको क्रुर र कठोर बन्नु हुँदैन। ठूलो क्षतिको ठूलो उपलब्धिभन्दा सानो क्षतिको सानो उपलब्धिले समाजलाई दीर्घ शान्ति र खुसी मिल्छ भने समाजलाई बिरामी बनाएर विजेताको भ्रममा किन रमाउने?
बाच्नुको महत्व सम्झाउँदै छोक्न्यी रिम्पोचे आफ्नो पुस्तक चित्त खुलोस् हृदयसँगैमा लेख्छन्, ‘जीवित हुनु नै एउटा अद्भुत चमत्कार हो। यो सत्यको एउटा उदाहरण हो- दु:खका सामु मानिसले देखाउने गरेको असीम साहस।’
नेपालले लामो समय हिंसात्मक द्वन्द्व झेल्यो। नेताहरुको सुझबुझले त्यो हिंसाको अध्याय सकियो र सुक्न थालेको रुखमा पालुवा पलाएझैं नेपालीले शान्तिपूर्ण जीवन बाँच्न पाउने सपना देखे। तर, पछिल्लो समय देखिन थालेको हिंसात्मक गतिविधिले बाँच्न पाउने अद्भुत अधिकार कतै खोसिने त हैन भन्ने डर मडारिन थालेको छ।
जीवन अमूल्य छ। राजनीतिले समाजका समस्याको शल्यक्रिया गर्छ। जीवन जोड्छ। जीवन गोड्ने, जीवन जोड्ने माली हो राजनीति। कुशल सर्जरी हो राजनीति।
नर्स उरुषा मानन्धर सायद अस्पतालको आइसियुमा कसैको जीवन जोगाएर घर फर्कंदै थिइन् या कसैलाई बचाउने टिमको सदस्य बन्न ड्युटीमा जाँदै थिइन्। तर, उनी स्वयं अनाहकमा गम्भीर विस्फोटको सिकार भइन् र आफै अस्पतालमा भर्ना भइन्। यसो किन भइरहेछ? जीवन जोड्ने रहर गर्ने उरुषाहरु किन जीवन तोड्नेहरुको सिकार भइरहेछन्?
७ वर्ष अस्पतालमा नर्सको रुपमा काम गर्दा मैले मेरा आँखाअगाडि जीवन जोडिएको खुसी र जीवन तोडिएको दु:ख साह्रै नजिकबाट देखेको छु। डाक्टर र हामी नर्स मिलेर कालको मुखबाटै खोसेझैं गरी मान्छे बचाएका छौं कैयौंपटक। अस्पतालको ढोकाबाट काल कैयौं पटक खेदेका छौं हामीले। असाध्यै जटिल रोग, लामो उपचार प्रक्रिया, उमेरले नै थाकेको असाध्यै जीर्ण शरीरबाट प्राणपखेरु बिस्तारै उडेर जाने स्वभाविक जस्तो लाग्ने मृत्यु पनि कति अप्रिय हुन्छ, हामीले हस्पिटलमा धेरै पटक देखेका छौं।
जीवन अमूल्य छ। राजनीतिले समाजका समस्याको शल्यक्रिया गर्छ। जीवन जोड्छ। जीवन गोड्ने, जीवन जोड्ने माली हो राजनीति। कुशल सर्जरी हो राजनीति। यसो गर्न रहर गर्ने समाजचाहि सन्चो समाज हो। हाम्रो समाजमा पनि यस्तै खाले सन्चो भइरहनुपर्छ। समाज सन्चै होस्। हिंसात्मक राजनीतमा फसेर रगतपच्छे भएर समाज अस्पतालको बेडमा लडेको देख्न नपरोस्। जीवन जोड्ने उरुषाहरु र अरु जो कोही पनि सन्चो समाजभित्र सन्चैसँग बस्न र बाच्न पाउन्। यही मेरो कामना छ।
(लेखक मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेजको नर्सिङ विभागमा अध्यापनरत छिन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।