वृद्धहरुको देश, युवाको परदेश

नेपाल लाइभ | २०७४ भदौ १९ सोमबार | Monday, September 04, 2017 १६:३७:०० मा प्रकाशित

'जाग लम्क, चम्क हे नौजवान होऽऽ
आफ्नै ढंगले, नयाँ रंगले देश सिँगार्न यो...'

खाडी मुलुकको तातो ओछ्यानमा जब-जब यो गीत सुनिन्छ, सयौं बेचैनी एकैसाथ उम्लिएर औडाहा हुन्छ । परदेशमा देश भतभती पोल्छ। 

युवा शक्ति रोजगारीका लागि विभिन्न देशमा ओइरिरहँदा देश युवाविहीन हुँदै गएको छ । युवाविहीन देशले विकास-निर्माणको रङ सजाउन यस्ता गीतमार्फत आह्वान गरिरहँदा विदेशमा रहेका युवामा यसैगरी भक्कानो फुट्छ। 

युवा शक्ति देशमै उपयोग गर्न राज्यको नीति नहुँदा यी विदेशिएका नेपाली नौजवानहरुले चाहेर पनि केही गर्न सक्ने अवस्था देख्दैनन् । रेमिट्यान्ससँग पसिना, सीप र समग्रमा आफ्नो उर्वर उमेर साटिरहेका श्रमिक युवा वैदेशिक रोजगारीको दलदलबाट निस्किने बाटो नदेख्दा कहालिन्छन्।

यो कहाली र देश सिँगार्न आह्वान गर्ने गीतको बीचमा कहाँनेर तार खुस्किएको छ, हेर्नुपर्ने बेला आएको छ । आज देश कुन युवाले सिँगार्ने हो, गम्भीरतापूर्वक सोच्नुपर्ने बेला भएको छ। 

नेपाल युवाको देश हो । अन्तर्राष्ट्रिय मान्यता अनुसार १५ देखि २४ वर्ष समूहलाई युवा भनिए पनि हाम्रो राष्ट्रिय युवा नीतिले १६ देखि ४० वर्षसम्मलाई युवा भनेर परिभाषित गरेको छ । यस अनुसार युवाको जनसंख्या ४०.६८ प्रतिशत हुन आउँछ । नेपालको जनसंख्याको यो बनावट हेर्दा युवा बाहुल्य नै देखिन्छ। 

तर, कहाँ छन् ती युवा ? नेपालको राजनीतिक मञ्चमा किन युवा देखिँदैनन् ? समाजमा कुनै क्षेत्रमा युवाले अगुवाई गर्दा र सफलता पाउँदा किन नौलो मानिएर समाचारको विषय बन्न थालेको छ ? समग्रमा, हाम्रो देश किन युवा नभएको देश बन्दै छ? 

यी प्रश्नको उत्तर खोज्ने जमर्को नेपाली राज्य र समाजले गर्नैपर्छ । यसको जवाफ खोज्दा सहजै सामुन्नेमा आउँछ, युवा शक्ति विदेश पलायनको भयावह तस्बिर।

नेपाल कृषिप्रधान देशबाट युवा निर्यात गर्ने देश कहिले बन्यो, कसैले चाल पाएन । आजको यथार्थ हो, दैनिक १३०० को हाराहारीमा युवा वैदेशिक रोजगारीका लागि देशबाट बाहिरिन्छन् । वैदेशिक रोजगारमा श्रम स्वीकृति लिएर वार्षिक ५ लाखभन्दा बढी युवा विदेशिने गरेका छन् । प्रत्येक वर्ष एक हजारको हाराहारीमा युवाको शव नेपाल भित्रने गरेका छन्।

रेमिट्यान्ससँग साटिने युवावय 

नेपाली युवा विदेशिनु कुनै नौलो प्रचलन भने हैन । राणा शासनको बेला जंगबहादुर राणाले अनेक कर र जोर-जबर्जस्ती गरी जनजाति युवालाई पाकिस्तानको लाहौर पठाएर जनजातिमा ‘लाहुरे’ प्रथा सुरु गराए । त्यसलाई अहिले आधुनिक नेपालमा पनि प्रोत्साहन गरिन्छ। 

पहिला, पञ्जाव जाने अधिकांश मधेसी मूलका कृषि-कामदारहरु भने केही दशकदेखि मलेसिया, कतार र अरब मुलुक छिर्दै छन् । माओवादी द्वन्द्वको एक दशकमा विस्थापित भएर विदेशिनेको संख्या पनि उत्तिकै थियो।

राज्यले युवालाई समायोजन गर्न नसक्नुका अनेक कारण होलान् । तर, देश युवाविहीन हुँदै जाँदा यसबाट समाज र त्यसभित्रको पारिवारिक संरचनामा परिरहेको भयावह असर छताछुल्ल भइरहेकै छ।

विदेशमा यस्तो संगमरमरको भवन चम्काउन धेरै नेपालीको पसिना बगेको छ


श्रम बजारमा बर्सेनि आउने नेपाली युवामध्ये लगभग ९२ प्रतिशत युवा मलेसिया र खाडी मुलुक पुग्छन् र आधुनिक दासत्वको जालोभित्र फस्छन् । यो लेख तिनै युवाप्रति समर्पित छ, जसले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्र त धानिदिए, तर आफ्नो युवावयलाई तिलाञ्जली दिएर। 

आफ्नो घर-परिवार र देश छोडेर जना युवा किन बाध्य छ ? यो प्रश्नलाई गम्भीरतापूर्वक विश्लेषण नगरी यो समस्याको समाधान खोज्नु सम्भव नहोला । हामीकहाँ रोजगारीको अवसर नभएर युवा विदेशिए भन्ने सामान्य बुझाइ छ । तर, यो सतही विश्लेषण हो । आफ्नो देशमा कुनै कामलाई हेय भावले चित्रण गर्ने युवा विदेश पुगेर त्यही काम गर्न किन हिचकिचाउँदैन? 

खैर, यी यावत् वैदेशिक रोजगारीको पाटोलाई थाती राख्दै विदेशमा नेपाली युवा कसरी बाँचिरहेका छन्, त्यसबारे चर्चा गरौं। 

विदेशको जीवन: 'दूरक ढोल सोहवन लागे'

अधिकांश नेपाली कामदार विदेशमा एउटै कोठामा धेरै जना बस्नुपर्ने बाध्यता हुन्छ । उनीहरु  कम्तीमा पनि ६-८ जनासम्म एउतै कोठामा बस्छन् । हुन त सँगै बस्नु एक प्रकारले रमाइलै होला । तर, यसले अनेक व्यावहारिक समस्या निम्त्याउँछ। 

प्राय: लेबर क्याम्प मुख्य सहरभन्दा १-२ घण्टा टाढा हुन्छ । दैनिक बिहान ७-८ बजे सबै नेपाली कामदारलाई बसमा राखेर काममा लगिन्छ र राति लगभग ७-९ बजेतिर मात्र फर्काइन्छ । कामको चाप र प्रचण्ड गर्मीले अनेक शारीरिक समस्या त हुन्छ नै, मानसिक समस्या पनि उत्पन्न गराउँछ । केही कामदारले सहज रुपमा काम गर्ने तथा बस्ने र खाने उचित सुविधा पाउने गरे पनि प्राय: कामदारको दैनिकी यस्तै तनावमय हुन्छ। 

दिनभरिको कामपछि साँझ सुस्ताउँदै


मैथिलीमा एउटा भनाइ छ, 'दूरक ढोल सोहवन लागे ।' अर्थात्, टाढा बज्ने ढोल कर्णप्रिय सुनिन्छ । त्यही ढोल आफ्नो सामुन्ने बज्दा भने कानको जालो फाटे जस्तो हुन्छ । विदेशको बसाइ पनि त्यस्तै हो । फेसबुक र अन्य सामाजिक सञ्जालमा ठूल्ठूला भवन वा सपिङ मलको अगाडि हँसिलो अनुहारको तस्बिर देख्दा हाम्रा गाउँघरका मान्छे त्यो टाढाको ढोलले आकर्षित होलान् । तर, दशैं-तिहारमा टीका थाप्न नपाएको र चाडबाडमा परिवारसँग रमाउन नपाएको पीडा भने अलिखित नै रहन्छ।

पारिवारिक वियोग र मन बुझाउने बाटो

विदेश उड्न एअरपोर्ट पुगेदेखि घरपरिवारको चिन्ता युवाको अनुहारले झलझली देखाइरहेको हुन्छ । प्लेनभित्र एअरहोस्टेजले गाली नगरुन्जेल केही युवा फोनमा परिवारसँग कुरा गरी चाँडै फर्किने वाचा गरिरहेको देखिन्छन्, यसले कसको मन कुटुक्क नकाटिएला ! आखिर परिवारकै लागि युवा विदेशिन बाध्य भएको हुन्छ।

वैदेशिक रोजगारीको कुरा गर्दा परिवारदेखि टाढा हुनुको पीडा सायद धेरै चर्चाको विषय नहोला । तर, यसलाई चर्चाको विषय बनाउन जरुरी छ।

कुनै चाडपर्व होस् या जन्मदिन वा म्यारिज एन्भरसरी, हँसिलो हुँदै परिवारसँग कुरा गरे पनि कुन युवाको मन नरुँदो हो ? कतिपयले भिडियो च्याटबाट पनि परिवारसँग चाडपर्व मनाउने गर्छन् । 

त्यसो त मलेसिया र खाडी मुलुकमा नेपाली समुदायका विभिन्न संघसंस्था क्रियाशील छन्, पूर्वेली समाज, झापाली समाज, बाहुन समाज आदि । यी संस्थाले चाडपर्वको बेला सामूहिक रुपमा भेला भएर रमाइलो गर्छन् । यसले बुवा-आमाबाट टीका थाप्न नपाउनुको पीडा त कम गर्दैन, चाडपर्व मनाएको तात्कालिक खुसीले भने मन प्रफुल्लित बनाउँछ।

राज्यको कर्त्तव्य

'यो नसोच- देशले तिमीलाई के दियो, यो सोच- तिमीले देशलाई के दियौ ?'

राष्ट्रियताले ओतप्रोत यो भनाइ निकै चर्चित छ । सुन्दाखेरि जति नै राम्रो लागे पनि, नागरिकप्रति राज्यको पनि केही न्यूनतम कर्त्तव्य अवश्य हुन्छ । मूलभूत रुपमा राज्यले आफ्ना नागरिकलाई समान रुपमा अवसर दिनुपर्छ । युवाको लागि राज्यभित्रै रोजगारीको अवसर सिर्जना गरेर युवालाई सकेसम्म विदेशिनबाट रोक्नुपर्छ । 

युवा भनेका कुनै पनि राज्यको मेरुदण्ड हुन् । देश विकास गर्ने यस्तो शक्तिलाई विदेशिन दिनु विडम्बनाको कुरा हो ।

नेपालको कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको योगदान ३२.१ प्रतिशत छ । विज्ञहरु त रेमिट्यान्सको योगदान योभन्दा धेरै बढी हुने बताउँछन् । किनभने देश भित्रिने पैसा सबै वैध बाटोबाट आउँदैन । कतिले हुण्डी मार्फत त कतिले आफैं जिन्सी सामान, गरगहना किनेर देश लाग्छन् । 

रेमिट्यान्सले देशको अर्थतन्त्रलाई ठूलो टेवा दिएकाले राज्यले पनि रोजगार युवाप्रति दायित्व निर्वाह गर्न भुल्नु हुँदैन ।  जस्तै: उचित बिमा, सुरक्षाको ग्यारेन्टी, पेन्सन/प्रोविडेन्ट फन्ड सुविधा, आकस्मिक सुविधा, स्वास्थ्य बिमा, कम्पनीले नेपाली कामदारलाई उचित सेवा-सुविधा दिए-नदिएको अनुगमन आदि । 

यीमध्ये पनि राज्य र समाजले वैदेशिक रोजगारमा गएका युवा फर्केर आएपछि समाजमा पुन:स्थापना गर्न सहयोग गर्नुपर्छ । धेरै युवा देश फर्केपछि आफूलाई समाजबाट टाढिएको अनुभूति गर्छन् । यस्तो मनोवैज्ञानिक सोचका कारण समाजमा नकारात्मक असर पर्छ । राज्यले नीतिगत रुपमा काम गरी पुन:स्थापनाको लागि कार्यक्रम ल्याउनुपर्छ।

अन्त्यमा, युवा नै देश विकासका आधारशिला भएकाले तिनलाई विदेश पलायनबाट रोकी देशमै उपयोग गर्नेबारे रणनीति बनाउन ढिला भइसकेको छ । अर्को कुरा, नेपालको विशेषता कृषि नै  भएकाले किसान लक्षित कार्यक्रम बढीभन्दा बढी आउनुपर्छ । नेपालका नेता र नीतिनिर्माताहरुले युवा र किसानलाई राष्ट्रिय योजनाको केन्द्रमा राखे युवाविहीन देशमा विकासको हरियाली मौलाउन असम्भव छैन।

तस्बिरहरु: पुरु साह