आजका चर्चित र व्यस्त संगीतकार कालीप्रसाद बाँस्कोटालाई कुनै समय जागिर खानुपर्ने चटारोले छोपेको थियो । रुचि संगीततिर भए पढाइले उनी मेकानिकल इञ्जिनियर थिए । छोरा एउटा लाइनमा लागोस् भन्ने परिवारको इच्छा अनुसार उनले तिलगंगा इन्स्टिच्युट अफ अप्थाल्मोलोजीमा काम थाले।
२०७१ सालमा कालीप्रसादको ‘जालमा’ गीत भाइरल हुँदै थियो, सोही वर्ष उनी १५ वर्षे जागिरे जीवनको जालबाट निस्किँदै थिए । मनमा संगीत भए पनि गुम्सिएर जागिरमा एकोहोरिएका उनलाई तीन वर्षअघि लाग्यो, अब संगीतमै पाखुरीको दम देखाउनुपर्छ।
‘रहर भए पनि संगीतमा लागेर टिक्छु भन्ने त्यस अगाडि आत्मविश्वास थिएन । तर, जागिरसँगै संगीतलाई पनि निरन्तरता दिइरहेको थिएँ’, कालीले विगत सम्झिए, ‘जालमा गीत आएपछि भने यसले संगीतलाई नै मूलबाटो बनाउन बल पुर्यायो।’
‘जालमा’ गीतको ख्यातिले कन्सर्ट र म्युजिक कम्पोजमा उनको व्यस्तता ह्वात्तै बढायो । संगीत कर्मको चापमा तिलगंगाको कामको सुरताल मिलाउन कठिन हुन थाल्यो । उनले जागिरबाट राजीनामा दिए । घरमा ‘म बिदामा छु’ भनेर ढाँटे।
‘मेरो व्यस्तता र राम्रो कमाइ देखेर घरबाट त्यति सोधखोज पनि भएन’, उनी भन्छन्।
जागिरबाट हुने गरेको आम्दानीलाई संगीतको कमाइले उछिन्न थालेपछि उनले एकदिन जागिर छाडेको कुरा घरमा सुनाए । परिवारले त्यसलाई सकारात्मक रुपमै लिए।
‘अनि त म संगीतकर्ममा खुलेर लाग्न फुक्काफाल भएँ’, हाँस्दै सुनाए।
‘रेशम फिलिली’ फिल्मको ‘जालमा’ले रातारात चर्चाको उँचाइमा पुर्याए पनि कालीप्रसाद त्योभन्दा अगाडिदेखि संगीतमा पार्टटाइम जुटिरहेकै थिए । उनकै कम्पोजिसनमा गायिका शशि रावलले गाएको ‘चाहना सकियो’ गीतले सन् २००७ ताका एक हदसम्म परिचय दिलाएको थियो।
‘जुन किसिमको संगीत सुनेर म हुर्किएँ, त्यसको प्रभाव त आइहाल्छ’, काली उदाहरण दिन्छन्, ‘यो जहाँ गए पनि दालभात भन्ने बित्तिकै नेपालीको मुख रसाए जस्तै हो।’
फाट्टफुट्ट रुपमा संगीत गरिरहेका उनी पछि नेपाली फिल्मको संगीतमा पनि प्रवेश गरे । ‘मालतीको भट्टी’बाट सुरू भएको त्यो यात्रा ‘मञ्जरी’मा आएपछि केही समय रोकियो । त्यसपछि आएको ‘रेशम फिलिली’ को गीतले भने जादु नै गर्यो।
कालीलाई लाग्छ, ‘जालमा गीतले मेरो संगीतको बाटो नै फराकिलो बनाइदियो।’ गीतले उनलाई संगीतकार र गायकको दुई भिन्न भूमिकामा स्थापित गराइदियो।
छोटो समयमै भाइरल भएको, युट्युबमा बग्रेल्ती कभर गीतहरु जन्माएको ‘जालमा’ को ट्युन उनले क्षणभरमै बनाएका थिए।
‘यो गीतको ट्युन मैले करिब तीन–चार मिनेटमै तयार गरेको थिएँ’, उनी भन्छन्, ‘मेरा प्रायः चलेका गीत कम्पोज गर्न धेरै समय लागेको छैन।’
तर, गीत त्यो हदसम्म चर्चाको चुलीमै पुग्छ भन्ने चाहिँ उनले सोचेका थिएनन्।
कालीका गीतमा नेपाली लोक धुन र बलिउड संगीतको सम्मिश्रण पाइन्छ । उनी यसलाई नौलो वा गर्नै नहुने मान्दैनन्।
‘जुन किसिमको संगीत सुनेर म हुर्किएँ, त्यसको प्रभाव त आइहाल्छ’, काली उदाहरण दिन्छन्, ‘यो जहाँ गए पनि दालभात भन्ने बित्तिकै नेपालीको मुख रसाए जस्तै हो।’
पछिल्लो समय काली संगीत कम्पोज र गायन दुवै काममा व्यस्त छन् । ‘लैजा रे’, ‘निर जैले रिसाउनी’, ‘ठमेल बजार’ ‘साइँली’ जस्ता गीतको लोकप्रियताले नेपाली संगीतले उनीबाट थप नयाँपनको आश गरेको छ।
कम्पोज गर्दा उनी आफ्नो मन खाने खँदिलो र फिल्मका लागि बजारले रुचाउने गरी दुई खालका गीत बनाउँछन् । उनले दुवैखाले संगीत गर्दै आएका छन् । ‘रेशम फिलिली’ फिल्मकै कुरा गर्दा ‘जालमा’ चर्चित भए पनि उनलाई भने ‘भारी भो भारी’ भन्ने गीत मन पर्छ।
कालीलाई आफूले संगीत गरेको दिनेश अधिकारी रचित एवं गायक सनुप पौडेलको स्वरमा रहेको ‘हाम्रो भेट हाम्रो माया दुख्नलाई मात्र हो’ विशेष मन पर्छ । श्रोताहरूले खासै ध्यान नदिए पनि आफ्नो कम्पोजका ‘फिरफिरे’, ‘डुंगा चलाऊ माझी’ जस्ता गीत उनको मनको नजिक छन्।
कालीले सुन्ने गीतहरु आफ्नो कम्पोजका गीतभन्दा निकै फरक किसिमका हुन्छन् । उनी एल्ब्राटोस, सविन राई, नाइट ब्यान्ड र एज ब्यान्डका गीत बढी रुचाउँछन्।
नेपालमा भएको पहिलो अन्तर्राष्ट्रिय सांगीतिक फ्रेन्चाइज ‘नेपाल आइडल’को निर्णायकसमेत रहिसकेका काली आफूलाई प्रस्ताव आएजति सबै गीतमा काम गर्न हतार गरिरहेका छैनन्।
‘मलाई थोरै काम गरेर धेरै प्राप्त गर्नु छ’, संख्याले गुणस्तर निर्धारण गर्न नसक्ने भन्दै उनी थप्छन्, ‘कम गीत गरेर पनि श्रोताको मनमा बस्न सकिन्छ । मेरो मुख्य ध्यान संगीतको गुणस्तरमा छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।