भैरहवा– रुपन्देही प्रहरीले नेपाल भारतको सीमाना बेलहियामा भारतीय ओभरलोड सवारी साधनहरूलाई नाकामा रोकेको छ।
यातायात व्यवस्था विभागले ओभरलोडलाई नियन्त्रण गर्न पत्राचार गरे अनुसार आफूहरूले भारतीय ओभरलोड गाडीहरूलाई रोकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवम् प्रहरी निरीक्षक बेद पौडेलले बताए।
उनका अनुसार बेलहिया नाकामा अहिलेसम्म औद्योगिक कच्चा पदार्थ बोकेका ३० भन्दा बढी ओभरलोड गाडीहरु रोकिएका छन्।
गृह मन्त्रालयको निर्णयअनुसार औद्योगिक कच्चा पदार्थ बोकेका भारतीय ओभरलोड गाडीहरुलाई नाकादेखि बढीमा १५ किलोमिटरसम्म जान छुट दिइएको थियो।
१५ किलोमिटरको नाममा भारतीय ओभरलोड गाडी कपिलवस्तु र नवलपरासी जिल्लाका उद्योगसम्म समेत पुग्ने गरेका थिए। बेलहिया नाकाबाट छिरेका ४४ वटा भारतीय ओभरलोड गाडीलाई कपिलवस्तु ट्राफिक प्रहरीले पनि नियन्त्रणमा लिएर कारबाही गरेको छ।
आइतबार बिहान पनि १० वटा भारतीय ओभरलोड गाडीलाई नियन्त्रणमा लिइ भारमिलान गराउने कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एवम् प्रहरी निरीक्षक बाबुराजा पन्तले बताए।
यता यातायात व्यवस्था विभागको पत्रलाई प्रहरीले कार्यान्वयनमा ल्याएर भारतीय ओभरलोडका गाडीहरू रोक्न थालेपछि तिनीहरूलाई छुट गराउन चलखेल सुरु भइसकेको बताइएको छ।
०७४ कार्तिक २४ गते गृह मन्त्रालयको तत्कालीन सहसचिव कृष्णबहादुर राउतको संयोजकत्वमा बसेको बैठकले औद्योगिक कच्चा पादर्थ बोकेका ओभरलोड गाडीलाई नाका देखि बढीमा १५ किलोमिटरसम्म छुट दिने निर्णय गरेको थियो।
बैठकले तौलको आधारमा भन्सारमा लाग्ने मालवस्तु बोक्ने कन्टेनरको हकमा सम्बन्धित भन्सार कार्यालयले भारबहन क्षमता मिलान गरी मात्र पठाउने व्यवस्था मिलाउने, मुख्य भन्सार बिन्दुमा नै तौल मापन गर्ने व्यवस्था सडक विभागले मिलाउन अनुरोध गर्ने र नजिकको औद्योगिक करिडोरसम्म उद्योगले पैठारी गरिने कच्चा फलामे रड, तथा बिलेड, जिप्सम, खरानी, वायर, कोइला जस्ता औद्योगिक कच्चा पदार्थ बढीमा १५ किलोमिटर भित्र लैजान दिने लगायतको निर्णय गरेको थियो।
प्रहरी प्रधान कार्यालयका तत्कालीन प्रहरी नायब महानिरीक्षक सुदिप आचार्य, यातायात व्यवस्था विभागका निर्देशक प्रेम कुमार सिंह, वाणिज्य मन्त्रालयका उपसचिव टंकराज भट्ट, भन्सार विभागका निर्देशन लावण्य ढकाल, गृह मन्त्रालयका उपसचिव झंकनाथ ढकाल लगायतको बैठकले कानुन विपरीत निर्णय गरेको हो।
जसअनुसार हाल सम्म ओभरलोड बोकेका भारतीय गाडीहरु चल्दै आएका थिए।
नेपाली ट्रक व्यवसायीहरुले भारतीय ओभरलोड गाडीका कारण आफूहरू धराशयी हुने अवस्थामा पुगेको भन्दै यातायात व्यवस्था विभागमा ओभरलोड नियन्त्रणका लागि माग गरेका थिए।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले यातायात व्यवस्था विभागको पत्र अनुसार प्रहरीले भारतीय ओभरलोडका गाडीलाई नियन्त्रण लिइ कारवाही गर्नु र भारमिलान गराउनु कार्य स्वागतयोग्य रहेको बताए।
उनले सरकारले उक्त निर्णयको कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै कार्यान्वयन नभए व्यवसायी सडकमा उत्रिने चेतावनी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।