काठमाडौं- अमेरिकाबाट छोटो बिदा लिएर अस्तित्व दवाडी नेपाल फर्किएका थिए। उनको एकदिन मामासँग भेट भयो। धेरैपछि भेट भएको मौकामा मामाले सोधे, ‘भान्जा युएसमा के गर्दैछौ?’
उनले भने, ‘म फेसबुकमा काम गर्छु मामा।’
एकछिन त मामाले बुझेनन्। पुनः प्रश्न गरे, ‘अरे, फेसबुकमा के काम गर्छौ र!’
‘फेसबुकको हेडक्वार्टरमा काम गर्छु मामा!’
अस्तित्वको कुराले मामा चकित परे।
‘नेपालमा फेसबुकको यतिधेरै लोकप्रियता छ। एउटा नेपालीले नै हेडक्वार्टरमा फेसबुकको काम गर्नु गर्वको कुरा हो नि,’ तब मामाले खुसी व्यक्त गरे।
OOO
संसारमा २.२७ बिलियन फेसबुक प्रयोगकर्ता छन्। करोडौंको लोकप्रियतासँग जोडिएको फेसबुक, जसको मुख्यालयमै बसेर काम गर्दाका अनुभव कस्ता थिए त? नेपाल आएका अस्तित्वसँगको भेटमा मेरो जिज्ञासा थियो।
फेसबुकको हेर्डक्वार्टर अमेरिकाको क्यालिफोर्नियामा छ। जहाँ विभिन्न विभाग हुन्छन्। तीमध्येको एउटा विभागमा रहेर डाटा एनालिस्टको काम गर्छन्, अस्तित्व। फेसबुकका विभिन्न प्रोजेक्टमा काम गरिसकेका अस्तित्व अहिले इन्स्टाग्रामको प्रोजेक्टमा छन्।
त्यसमा के गर्छन् त उनी?
‘इन्स्टाग्राममा कुनै समयका मेमोरिज हुन्छन्। त्यसमा गुड मेमोरिज छ भने युजर्सलाई पठाउँछौँ, यदि ब्याड मेमोरिज छ भने त्यो हामी पठाउँदैनौ,’ उनी भन्छन्, ‘यदि रेस्ट इन पिस लेखेको छ भने त्यो दोहोरिएर देखापर्दैन।’
एउटा प्रोजेक्टमा उनले विज्ञापन सम्बन्धी काम गरे। फेसबुकले कसरी विज्ञापन प्राप्त गर्छ भन्ने उनीसँग राम्रो अनुभव छ।
‘यसको प्रमुख आयस्रोत विज्ञापन हो,’ उनी अनुभव सेयर गर्छन्, ‘फेसबुक प्रयोगकर्ता यदि कतै घुम्न गएको छ भने उनीहरूले क्याप्सन राखेका हुन्छन्। त्यसै आधारमा त्यही लोकेसनको होटल अर्थात् रिसोर्टको विज्ञापन वालमा देखिनेगरी पठाउँछौं। त्यसमा प्रयोगकर्ताले जतिपटक क्लिक गर्यो सोही आधारमा विज्ञापनदाताले फेसबुकलाई अमाउन्ट तिर्छ।’
तर, फेसबकुमा विज्ञापन दिनका लागि भने क्रेडिट कार्ड हुनुपर्ने उनी बताउँछन्।

उनी २०१६ देखि फेसबुकमा काम थाले। हप्तामा ४० घन्टा काम गर्छन्। तलब भने प्रतिघन्टाको दरले प्राप्त गर्छन्। ओभरटाइमको पनि छुट्टै तलब आउने उनी बताउँछन्।
एउटा नेपाली अमेरिकामा फेसबुकको हेडक्वार्टरमा काम गरेको थाहा पाउँदा प्रायः नेपाली अचम्मित हुने गरेको उनी बताउँछन्। ‘तर, मलाई सामान्य लाग्ने गरेको छ’, उनले भने।
फेसबुकमै काम गर्ने अस्तित्व आफूचाहिँ सामाजिक सञ्जालामा कमै सक्रिय छन्। सन् २००८ मा उनले पहिलो पटक फेसबुक खोलेका थिए। भर्खरै खोलिएको हुनाले निकै उत्सुकता थियो। तर, त्यसैमा काम गर्न थालेपछि कमै सक्रिय भए।
‘अहिले मेरा फेसबकुका साथी ५ सय पनि छैनन्,’ उनी हाँस्दै भन्छन्।
साथीको लहलहैमा अमेरिका
काठमाडौं नैकापमा जन्मिएका अस्तित्वले सिद्धार्थ वनस्थलीमा स्कुले जीवन बिताए।
२०६२ मा उनले एसएलसी उत्तीर्ण गरे। त्यसपछि प्लस टुमा विज्ञान पढे। ०६४ मा प्लस टु पनि सकियो।
वेटरको रुपमा हप्तामा ६ दिन काम गर्नुपर्थ्यो। काम निकै गाह्रो। फुलटाइम काम गर्नुपर्ने। ‘किचनदेखि ट्वाइलेटसमेत सफा गरेँ,’ उनले तिता अनुभव सुनाए।
‘सुरुमा अमेरिका जाने योजना त थिएन। प्लस टुपछि कोही साथी इन्जिनियरिङ र एमबिबिएसको तयारीमा जुटे,’ उनले अचानक बनेको योजनाबारे सुनाए, ‘म भने आयल्स गर्दै थिएँ। केही साथी अमेरिका जाने योजनामा थिए। त्यही लहलहैमा मैले पनि अमेरिका जाने सोच बनाए।’
विसं २०६५ मा अस्तित्व अमेरिका उडे।
तर, सपनाको अमेरिकी जीवन विपनामा उतिकै सुन्दर थिएन। ‘नेपालमा जस्तो आत्मीयता कहाँ पाउनु त्यहाँ,’ उनी अमेरिका पुग्दाका सुरुवाती दिन सम्झन्छन्, ‘सोचेजस्तो काम पाउन गाह्रो। यहाँका जस्ता साथी पाउन गाह्रो। सुरुमा महिना निकै ढिलो बितेझैं लाग्ने, बारम्बार नेपालको याद आउने भइदियो। त्यतिबेला आफ्नो देशलाई खुब सम्झिँए।’
वेटरदेखि ट्याक्सी ड्राइभरसम्म
अमेरिका पुगेपछि उनले रेस्टुरेन्टबाट कामको सुरुवात गरे। नेपालमा खासै काम नगरेको अनुभव। पक्कै मुस्किल थियो। वेटरको रुपमा हप्तामा ६ दिन काम गर्नुपर्थ्यो। काम निकै गाह्रो। फुलटाइम काम गर्नुपर्ने। ‘किचनदेखि ट्वाइलेटसमेत सफा गरेँ,’ उनले तिता अनुभव सुनाए।
उसो त ग्राहक भएसम्म ड्युटीमा एकैनास खट्नुपर्ने रहेछ। खान र बस्नको लागि भने रेस्टुरेन्टबाट नै व्यवस्था गरिदिएको हुन्थ्यो।
त्यहाँ उनले नेपाली रकम मासिक एक लाखजति कमाउँथे।
कामसँगै अस्तित्वले अध्ययनलाई पनि अघि बढाए। उनले एक युनिभर्सिटीमा जानेबित्तिकै इन्डस्ट्री इन्जिनियरिङमा भर्ना गरे। त्यहाँ एक सेमेस्टर पढे।
‘त्यसपछि क्यालिफोर्नियामा दिदीको रेस्टुरेन्टमा काम गरेँ। बिस्तारै मेनेजर पनि भएँ,’ उनी भन्दै गए, ‘त्यसपछि रेस्टुरेन्टहरूमा निरीक्षण गर्ने काम हुन थाल्यो। त्यतिबेला भने कामको प्रेसर कम भयो।’
उनले ३ वर्ष रेस्टुरेन्टमा काम गरे। त्यसपछि पिजा डेलिभरी गर्नतिर थाले।

यसबाट पनि उनी सन्तुष्ट हुन सकेनन्। रहरले अमेरिका पुगेका अस्त्विलाई बाध्यताले डोहोर्याएको थियो। उनले नयाँ काम सुरु गरे। त्यो थियो– ट्याक्सी चलाउनु।
नेपालमा धेरै पढेपछि ड्राइभर बन्नुमा मानिसहरू हीनताबोध गर्छन्। तर, आफूले त्यहाँ ट्याक्सी चलाउँदा कुनै अफ्ठेरो महसुस नगरेको उनी बताउँछन्। ‘अमेरिकाले मलाई कामको सम्मान गर्न सिकायो,’ उनी गौरवान्वित हुँदै भन्छन्।
रेस्टुरेन्टमा काम गर्दा कलेज जाने समय हुन्नथ्यो। ट्याक्सी चलाउन थालेपछि भने उनले नियमित कलेज जाने समय मिलाउन थाले।
अध्ययनको क्रममा बीचमा उनले कलेज परिवर्तन गरे। अन्तत: क्यालिफोर्निया युनिभर्सिटीबाट उनी ग्र्याजुएट भए। २०१६ को अन्तिमसम्म त उनले ट्याक्सी नै चलाए। जसबाट दिनको ३ सय डलर कमाइ हुन्थ्यो। त्यो उनको निम्ति मनग्ये आम्दानी थियो।
जब फेसबुक कम्पनीमा जागिरको अफर आयो
कलजे पढ्दै गर्दा अस्तित्वले डाटा बेसको तालिमा लिएका थिए। यही आधार बन्यो फेसबुकमा जोडिनका लागि।
यहीबीच केही कन्सल्टेन्सीसँग राम्रो सम्बन्ध रह्यो।
उनले आवेदन दिएको प्रोजेक्टमा ३ सय मात्र कामदार मागेको थियो। तर, भइदिए ४ हजार। त्यसबाट छानिएर ३ सयभित्र पर्नुपर्थ्यो। संयोगवश, उनले त्यो अवसर गुमाउनुपरेन।
त्यहाँ फेसबुक र कन्सल्टेन्सीबीच श्रम सम्झौता हुँदो रहेछ। फेसबुकले आवश्यकता अनुसार प्रोजेक्टहरू खुलाउँदो रहेछ। त्यतिबेला कन्सल्टेन्सीमार्फत फेसबुकले कर्मचारी माग गर्ने अस्तित्वले सुनाए।
अस्तित्वले इनन्डियन कन्सल्टेन्सीमा जागिरको आवेदन दिएका थिए। सोहीमार्फत उनी अन्तर्वार्ता दिन गए। ‘मेरो लागि यो अन्तर्वार्ता जीवनकै पहिलो अन्तर्वार्ता थियो,’ उनी भन्छन्।
अन्तर्वार्ताकै क्रममा डरले मुटुमा ढ्यांग्रो ठोकेको थियो अस्तित्वको। उनले आत्मविश्वासलाई सक्दो बढाए। अन्तर्वार्ता प्रोजेक्टको विषयमा केन्द्रित थियो। उनले निकै संवेदनशील भएर अन्तर्वार्ता दिएका थिए। तर उनी छनोट हुन्छु भन्नेमा ढुक्क थिएनन्। किनकि उनले आवेदन दिएको प्रोजेक्टमा ३ सय मात्र इम्प्लोय मागेको थियो। तर, भइदिए ४ हजार।
त्यसबाट छानिएर ३ सय भित्र पर्नुपर्थ्यो। संयोगवश, उनले त्यो अवसर गुमाउनुपरेन।
फेसबुकमा काम गर्ने निश्चित भएपछि लगत्तै उनले बुबा ममीलाई खुसी बाँडेका थिए।
अन्तर्वार्ताबाट छनोट भएपछि २५/३० दिनको तालिम हुने रहेछ। उनी तालिममा सहभागी भए। त्यसपछि उनले फेसबुकलाई नजिकबाट केलाउने मौका पाए। उनले बुझे कि फेसबुकको सफ्टवेयर अति गोप्य हुँदो रहेछ। प्रत्येक सफ्टवेयर कम्पनीकै इन्जिनियरले बनाउँदा रहेछन्।
त्यहीँको इन्जिनियरले बनाएको सफट्वेयरमा बसेर उनीहरूले काम गर्नुपर्थ्यो। ‘त्यो सफ्टवेयर बाहिर कतै पाइँदैन। उनीहरू आफैंले डेभलप गर्छन्। प्रत्येक प्रोजेक्टको आफ्नै डेभलपर र इन्जिनियर हुन्छन्। प्रोजेक्ट म्यानेजर पनि हुन्छन्,’ उनले सुनाए।
फेसबुकबाट लाखौँको सुरक्षा
अस्तित्वले गरेको पहिलो प्रोजेक्टको काम विज्ञापनसम्बन्धी थियो। यदि कुनै सेलिब्रिटी कतै घुम्न गएको छ भने उनीहरूलाई त्यस ठाउँको विज्ञापन पठाउने गरिन्थ्यो। ‘फेसबुकमा धेरै फलोवर भएका सेलिब्रिटीहरूको अकाउन्टमा जान्थ्यौँ। टाइमलाइनमा गएर उनीहरूको क्रियाकलाप हेर्थ्यौं। कतै घुम्न गएका छन् भने त्यहाँको बारेमा विज्ञापन पठाउथ्यौँ,’ उनले अनुभव सुनाए।
‘प्रोफाइल फोटो र पासवर्ड आइडी परिवर्तन कतिपटक परिवर्तन गरेको छ भन्ने आधारमा पनि फेक आइडी पत्ता लगाउन सकिन्थ्यो। यसरी फेक आइडी भनेर पहिचान गरिसकेपछि त्यसलाई बन्द गरिदिन्थ्यौं।’
दोस्रो प्रोजेक्टमा गरेको काम पहिलो भन्दा फरक थियो।
उनले भियतनामका प्रयोगकर्ताका अकाउन्टहरू हेर्थे। ‘यसमा फेसबुकको प्राइभेसी सम्बन्धी काम थियो। 'सिआरटी एसआरटी भन्ने सफ्टवेयरमार्फत मान्छेको प्रोफाइल पिक्चर हेर्दथ्यौँ। त्यसबाट अकाउन्ट फेक हो वा होइन भनेर बुझ्न सकिन्थ्यो। यसमा के भयो भने फेक आइडी भन्ने र के भएन भने नभन्ने भन्ने थाहा हुन्छ,’ उनी अनुभव सुनाउँछन्, ‘प्रोफाइल फोटो र पासवर्ड आइडी परिवर्तन कतिपटक परिवर्तन गरेको छ भन्ने आधारमा पनि फेक आइडी पत्ता लगाउन सकिन्थ्यो। यसरी फेक आइडी भनेर पहिचान गरिसकेपछि त्यसलाई बन्द गरिदिन्थ्यौं।’
फेक आइडी बन्द गरेपछि अन्य गलत घटनाहरू घट्न पाउँदैन थियो। जसबाट अन्य आइडी पनि सुरक्षित रहन सक्ने उनले बताए।
नेपालमा लोकप्रिय फेसबुक
फेसबुक हेडक्वार्टरमा काम गर्ने नेपाली अस्तित्व मात्र छैनन्। त्यहाँ अन्य नेपाली पनि कर्मचारीका रुपमा कार्यरत छन्। ‘काम गर्ने अरु नेपाली पनि छन्। तर डिपार्ट फरक भएर होला, सबैसँग चिनजान चाहिँ हुँदैन,’ उनले भने।
धेरै देशमा लोकप्रिय भए पनि केही देशमा भने फेसबुक प्रतिबन्ध छ। छिमेकी चीनमा समेत फेसबुक चलाउन पाइँदैन।
यद्यपि नेपालमा भने यसको फेसबुकको लोकप्रियता झनै बढेको देख्दा उनी दंग छन्। तर, यसको गलत प्रयोगबाट भने ठूला समस्या निम्तिएको उनी बताउँछन्।
त्यसैले फेसबुकलाई सही तवरले प्रयोग गर्न उनी सुझाउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।