पोखरा– ‘ठूला–ठूला बसले हामीलाई टेर्दैनन्। हुइँकिएर आउँछन्। हामी आफैं थरथर काँप्दै साइड लाग्नुपर्छ,’ ५५ वर्षीया पार्वती रानाभाट राई भन्छिन्, ‘साइकल चलाउन छुट्टै बाटो भइदिए आनन्द हुन्थ्यो।’
राई मुख्य त साइकल चालक हुन्।
साइकलसँग राईको नजिकको सम्बन्ध छ। यतिधेरै संगत गरिन् कि साइकललाई नै जीवनसाथी स्वीकार गरिसकेकी छन्। ‘अब त मर्दा पनि साइकलसँगै मरुँ भन्ने लाग्छ,’ गौरान्वित हुँदै उनी सुनाउँछिन्।
उनले साइकल चलाउन सिकेको १२/१३ वर्ष हुँदाबाट नै हो। त्यतिबेला बाबाको हिरो ब्रान्डको साइकलमा कैंची पैदल हान्दै सिकेकी थिइन्।
पोखरा विमानस्थल त्यतिबेला पनि थियो, जतिबेला उनले साइकल सिकेकी थिइन्। त्यहीँको ठूलो चौरमा गाईवस्तुका गोबर खोज्दै भाइबहिनासँग खेल्दै साइकलको ह्यान्डिल समाएकी थिइन्, पैदलमा खुट्टा राखेकी थिइन्।
‘त्यतिबेला एयरपोर्टमा अहिलेकोजस्तो तारजाली लाएको थिएन। हामी सबै त्यहीँ खेल्थ्यौँ। भाइबैनालाई साथमा राखेर बाबाको साइकल डोर्याउँदा डोर्याउँदै साइकल चलाउन सिकेकी हुँ,’ उनी साइकल चलाउँदाको सुरुवाती दिन सम्झन्छिन्।
पार्वतीको माइती क्षेत्री हुन्। उनको माइतीमा पसल थियो। बाबा भारतीय सेनाका जागिरे। नेपाल आएर काम गर्न सजिलो हुन्छ भनेर साइकल किनेका थिए।
उनको बाबा बुढो हुँदासम्म साइकल चलाइरहेकै देखकी थिइन्। भन्छिन्, ‘मलाई बाबाले साइकल चलाएको देखेरै चलाउन मन लागेको हो।’
त्यतिबेला पढ्ने वातावरण खासै भइसकेको थिएन। त्यसमाथि पार्वती महिला। घरधन्दा र भाइबैनी हेरेरै बालापन बित्यो। अक्षरका अनुहार देख्न पाइनन्। चिन्न पाइनन्।
‘पढ्ने अवसर पाइनँ। अहिले अरुलाई पत्रिका पढिरहेको देख्दा कस्तोकस्तो लाग्छ,’ अनुहारमा चिन्ताको भाव दौडाउँदै भन्छिन्, ‘नपढेर साह्रै दुख पाइयो।’
तारजाली नलगाएको एयरपोर्ट। फाटफुट उड्ने जहाज। जता हेर्यो, उतै मौसम अनुसारका अन्नबाली। कम आवादी। पोखराको त्यतिबेलाको चित्र अहिले पनि उनको आँखामा नाच्छ। सपनामा पनि उहिलेकै पोखरा देख्छिन्। भन्छिन्, ‘म सानो हुँदाको र अहिलेको पोखरामा आकासपातालको फरक छ।’

विकासले गति लियो। हावाको तालमा धानका बाला लहलह नाच्ने खेतबारीमा अग्लाअग्ला भवन ठडिए। कुनाकाप्चामा बाटो पुग्यो। सानो बाटो ठूलो भयो।
तर, उनलाई एउटै सुर्ता छ, ‘यत्रो विधि गर्न सक्ने नेताले साइकल चलाउन एउटा बाटो बनाइदिए पनि हुने नि! कम्ता गाह्रो हुँदैन आजभोलि?’ साइकल उकालोमा चलाउन गाह्रो हुने उनको अनुभव छ।
उनले अहिलेसम्म ३ वटा साइकल फेरेकी छन्। पहिलो बाबाको थियो, जुन उतै माइतीमा छोडेर आइन्। दोस्रो चोरले दौडायो। र तेस्रो अहिले उनीसँगै छ।
घर बाहिर राखेको साइकल देखाउँदै भन्छिन्, ‘यो कति मूल्यमा किने थाहा छैन। तर चलाउन थालेको मात्रै १५/१६ वर्ष भइसकेको छ।’
केही दिनमा नयाँ साइकल किन्ने उनको इच्छा भने ज्यूँदै छ।
स्कुटर चलाउन जान्दछु तर साइकल ठीक
पार्वतीका छोरा र छोरी गरी दुई सन्तान छन्। छोरीको बिहे भइसकेको छ भने छोरा आइएनएफमा जागिरे छन्। आमालाई सधैं साइकलमै देखेर छोराले आफ्नै कमाइले स्कुटर सिकाए पनि। तर, उनले साइकल नै रोजिन्।
‘छोराले स्कुटर पनि सिकायो। चलाउन सबै आउँछ। लाइसेन्स भने निकालेको छैन,’ पार्वती भन्छिन्, ‘साइकल चलाउनै मलाई सजिलो लाग्यो। जीवनसाथीले छोडेर गएपनि मैले किन साइकल छोड्ने र?’
उनको प्रत्येक कुरा बिम्बात्मक लाग्छन्। सायद उनलाई समयले यसरी नै बाँच्न सिकाएको छ।
साइकलमा तेल हाल्नु नपर्ने, जिउ तन्दुरुष्टत राख्ने र किन्दा पनि सस्तो पर्ने राईको अनुभव छ। उनी भन्छिन्, ‘स्कुटर त किन्नै महंगो। बिग्रिए बनाउनै नसकिने। कमाएको भन्दा बढी खर्च तेल खाइदिन्छ अनि।’
३० वर्षमै श्रीमान वितेपछि...
‘पढेलेखेकी थिइनँ। मायाको भाषा बुझ्न अक्षर चिन्नु पर्दैन। केवल मन मिले हुँदो रहेछ,’ दार्शनिक पारामा मायाको अर्थ सुनाउँछिन् पार्वती।
उनी रानाभाट श्रेत्री कि छोरी पसलमा आउँदा जाँदा एउटा केटासँग प्रेम बस्यो। केटा थिए राई जातका। अरु केही सोचिनन्। भागेर बिहे गरिन्।
‘बाबा इन्डियन आर्मी हुनुहुन्थ्यो। त्यसैले पनि त्यहाँ उहाँको ठूलै इज्जत थियो। मैले अन्तरजातीय बिहे गर्दिएँ,’ पार्वती सुनाउँछिन्, ‘म भागेपछि त उहाँलाई छिमेकीहरुले केके भनेछन् नि बाबै! जात छोडेर को कुजातसँग गयो? त्यो गाईखाने, सुँगुर, खानेसँग तेरी छोरी पोइला गई भनेर धेरैले भनेछन्।’
उनीसँग परिवारले पहिलो छोरी जन्मिसकेपछि मात्रै टीकाटालो गरेर भित्र्याएको तितो अनुभव छ।
पार्वतीका श्रीमान पृथ्वी राजमार्ग बस व्यवसायी समितिमा गाडीमा तेल भर्ने काम गर्थे। पछि जब उनी ३० वर्षकी भइन्। श्रीमानलाई ठूलै रोग लाग्यो। औषधिपोचार पनि तर न रोग पत्ता लाग्यो न त निको नै भए।
‘डाक्टरले उपचार गर्न नसकेर घर पठाइदिए। त्यसपछि उहाँ जानुभो,’ यति भन्दै गर्दा उनको गहमा आँसु भरिएझैं लाग्थ्यो।
कालो बादलले छोपेको जस्तो अनुहारमा एकैछिन उज्यालो भयो। उनी भन्दै गइन्, ‘अहिले त साइकललाई नै जीवनसाथी मानिसकें। दुखसुख छाराछोरीलाई पढाएँ, हुर्काएं। साइकल चलाउन पाए सब्बै पुग्छ।’
साइकल चलाए पनि सम्मान पो पाइने
घरमा अहिले आमाछोरा मात्रै छन्। छोराले अझै विवाह गरिसकेको छैन। उनले सबै काम भ्याउनुपर्छ। भन्छिन्, ‘अरु बेला बुढाको याद नआएपनि एक्लै हुँदा त मनमा केके कुरा खेल्छ, खेल्छ भन्या। त्यही भएर फुर्सद भयो भने साइकल लिएर बाहिर हिँडिहाल्छु।’

पोखरा बजार क्षेत्रभन्दा टाढा छ पार्वतीको घर, गलेश्वरमा।
त्यहाँबाट साइकलमा एक घण्टा लगाएर उनी चिप्लेढुंगा, महेन्द्रपुल क्षेत्रमा आफैं तरकारी लिन आउँछिन्। भन्छिन्,‘हिजोअस्तिमात्र साइकलबाटै मुस्ताङचोकको आइल्यान्ड सरकारले भत्काएको रहेछ। पहिले हामी त्याँ खेल्थ्यौं। अहिले त सानो बनाएछ। त्यो पनि हेरेर आएँ।’
साइकलबाटै पार्वती अहिले पनि पानी, बिजुली र मालपोत लगायतका राजस्व तिर्न जान्छिन्। साइकलसँग अगाध माया छ उनको।
पोखरा बजार क्षेत्रमा एउटा साइकल लिएर यताउता गरिरहेको देखिन्छिन्, पार्वती। पछिल्लो समय उनी पनि पोखरामा साइकल ट्र्याक हुनुपर्छ भन्ने पक्षको वकालत गर्दै आएकी छन्।
यही योगदानकै लागि साइकल सिटीले उनलाई सम्मान गर्न लागेको छ। पार्वती खुसी र व्यंग्यको भावमा मुस्कुराउँदै भन्छिन्, ‘पहिले त सबैले साइकल चलाउँथे। अहिले त चलाए पनि सम्मान पो पाइने रहेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।