कालेबुङ- शनिबार गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले आफ्नो दलको बागी नेता विनय तामाङ र अनित थापालाई दलबाट आधिकारिक रूपमा निकालिएको घोषणा गरे पनि तामाङले स्वीकारेका छैनन्।
तामाङले दिल्लीमा केन्द्रीय गृहमन्त्री राजनाथ सिंहलाई पत्र लेख्दै आफू अझसम्म मोर्चाको आन्दोलन संयोजक रहेको अनि आन्दोलनलाई संवादमा लैजान राज्य सरकारसँग संवादको ढोका खोलेको बताएका छन्।
आफूले पश्चिम बङ्गाल सरकारसित संवादको बाटो खोल्ने बित्तिकै आफ्नै पार्टीबाट आफू असुरक्षित रहेको तामाङले बताए।
‘अहिले मेरो ज्यानको खतरा छ। मलाई मार्न नेपालबाट सार्पसुटरहरू ल्याइएकोछ,’ तामाङले नेपाल लाइभसँग भने, ‘यसैकारण मेरो घरमा बङ्गाल प्रहरीले सुरक्षा व्यवस्था गरेको हो।’
तामाङ आइतबार प्रहरीको सुरक्षामा दार्जीलिङ चोकबजार निस्किए। दार्जीलिङ प्रेस गिल्डमा पत्रकार सम्मेलन गरेर घर फर्किए।
पार्टीले दलबाट निष्कासन गरे पनि उनले अझसम्म आफू पार्टीकै नेता रहेको दाबी गरेका छन्। मोर्चाकै नेताको हैसियतमा चाडैँ गोर्खाल्यान्डबारे वार्ता गर्न आफ्नो टोली दिल्ली जाने तामाङले घोषणा गरेका छन्।
‘सिक्किममा भएको पार्टीको केन्द्रीय समिति बैठकमा केवल ६ जना सदस्य उपस्थित थिए, केन्द्रीय समितिमा ९३ सदस्य छन्। यदि यस कमिटीबाट कसैलाई हटाउनु हो भने दुई-तिहाई सदस्य संख्याको उपस्थिति अनिवार्य हुनुपर्छ,’ उनले भने, ‘तर पार्टीको विधानविपरीत लिइएको निर्णयलाई कसरी स्वीकार गर्न सकिन्छ? यसैले अहिले पनि गोजमुमो केन्द्रीय समितिको मुख्य समन्वयक मै हुँ।’
तामाङले आन्दोलनलाई गणतान्त्रिक चरित्र दिने भन्दै बन्द स्थगित गर्ने आशय प्रकट गरेका छन्।
‘अहिलेसम्म विमल गुरूङको धम्कीका कारण पहाड खोलिन सकेको छैन। यदि अब केही दिनभित्र पनि बन्द नखोलिए म पहाड़का युवालाई ल्याएर पहाड़ खुल्ला गर्नेछु,’ तामाङले दाबीका साथ भने।
बिहीबार तामाङ कडा पुलिस सुरक्षाबीच खरसाङ पुगेर जनसभामा सहभागी बनेका थिए। जनसभापछि उनैले १२ सेप्टेम्बरको दिन सिलगढीमा राज्य सरकारका अधिकृतहरूसित हुने बैठकलाई केन्द्रित गर्दै ८० दिन पुगेको अनिश्चितकालीन बन्दलाई १२ दिनका लागि स्थगित गर्ने घोषणा गरेका थिए।
त्यसलगत्तै गोजमुमो अध्यक्ष विमल गुरुङले भनेका थिए, ‘आन्दोलन शुरु भएदेखि उनी मसित सम्पर्कमा छैनन्, यद्दपि मैले उनलाई कार्यनीति निर्माण गर्न, योजना तयार पार्न सहज हुने भएकाले सँगै बसौं भनेर अनुरोध गरेको थिएँ तर उनी मसित बसेनन्। केही दिनदेखि तामाङ, अनित थापा लगायतको कार्यशैलीबाट उनीहरू बङ्गालसित बिक्री भइसकेको अनुमान गरेको थिएँ। अहिले त्यो सत्य साबित भयो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।