सोल- एनआरएन दक्षिण कोरियाको अधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढ्न थालेको छ।
निर्वाचन कमिटीले उम्मेदवारी मनोनयनका लागि सेप्टेम्बर ५ को दिन तय गरे पनि आकांक्षीहरुले विभिन्न कार्यक्रमको मञ्चबाट आफूले उम्मेदवारी दिने अनौपचारिक जानकारी गराइरहेका छन्।
सेप्टेम्बर ९ र १० तारिखमा हुने अधिवेशनका लागि अध्यक्षमा ६ जनाको उमेदवारी पर्नसक्ने आकलन गरिएको छ । अध्यक्ष पदमा हाल एनआरएन कोरियाको उपाध्यक्ष रहेकी लक्ष्मी गुरूङका साथै जुनु गुरुङ, रविन तामाङ, हालका वरिष्ठ उपाध्यक्ष ओम जुकजाली, लोचन राई र बुद्धि गुरूङ आकांक्षी देखिएका छन्।
आइसिसी प्रतिनिधिमा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष खेम कार्कीले उमेद्वारी दिने बताएका छन् ।
सदस्यमा २५ सयको आवेदन
एनआरएन दक्षिण कोरियाको साधारण सदस्य बन्न २५ सय ४ जनाको आवेदन परेको छ।
अनलाइन आवेदन दिने समय सेप्टेम्बर ३ सम्मको समय तोकिएकोमा २५ सय ४ जनाको आवेदन परेको निर्वाचन अधिकृत केपी सिटौलाले जानकारी दिए।
सन् २००६ मा एनसिसी एनआरएन कोरियाको रुपमा स्थापना भएको संस्था नै पछि एनआरएनमा परिणत भएको हो । अन्य देशका एनआरएन कमिटीले नेपालका विभिन्न क्षेत्रमा प्रतिनिधिमूलक काम गरे पनि कोरियाको एनआरएन भने संगठनमा मात्र सीमित भएको आरोप लाग्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।