पछिल्लो समय हामीबीच स्मार्ट सिटीको कुरा निकै चर्चामा छ । राजनीतिक दल र तिनका प्रतिनिधिहरुले घोषणा गर्दैमा नेपालका नगरहरु स्मार्ट सिटीको रुपमा विकास होलान् भनेर विश्वास गरिहाल्न नसकिएला । जनप्रतिनिधिको कामको तौरतरिका हेर्दा त्यस्तो छाँटकाँट पनि देखिन्न।
तर, तत्कालका लागि राजनीतिक क्रान्ति पूरा गरेको नेपालको अबको बाटो भौतिक र आर्थिक विकासतर्फकै हो भन्नेमा कसैलाई कुनै द्विविधा छैन र हुनु हुँदैन । अहिलेको बहस र अग्रसरताले अन्ततः नेपालका नगर वा सहरहरुलाई स्मार्ट पार्नेतर्फ डोर्याउनेछ।
नेपालका सहरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने अवधारणा आर्थिक वर्ष २०७२/७३ को बजेटमा पहिलो पटक अगाडि सारिएको थियो । सो बजेटमा काठमाडौं, लुम्बिनी क्षेत्र र निजगढलाई स्मार्ट सिटीको रुपमा विकास गर्न गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने र मध्य पहाडी लोकमार्गमा स्मार्ट सिटी निर्माण कार्यको थालनी गर्ने व्यवस्था गरिएको थियो।
सहरी विकास मन्त्रालयको वेबसाइटमा उल्लेख गरिए अनुसार निजगढ, पालुङटार र लुम्बिनीमा स्मार्ट सिटीको अवधारणामा हाल भौतिक पूर्वाधार विकासको काम सुरु भइसकेको छ। पछि २०७४ असारमा नेपाल सरकारले स्मार्ट सिटीको अवधारणा अनुरुप एकीकृत सहरी विकास तथा पूर्वाधार विकास गर्न अध्ययन सुरु गर्ने गरी धनकुटा, मिर्चैया, चन्द्रपुर, काभ्रे उपत्यका, भरतपुर, वालिङ, तुलसीपुर, दुल्लु, अमरगढी र टीकापुर गरेर १० वटा सहर छनोट गर्यो।
त्यस्तै, काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौंको इसान कोण (पूर्व–उत्तर), आग्नेय कोण (पूर्व–दक्षिण), नैऋत्य कोण (दक्षिण–पश्चिम) र उत्तर गरेर चारवटा दिशामा स्मार्ट सिटीको अवधारणामा चार वटा नयाँ सहर स्थापना गर्ने योजना अघि बढाएको छ।
अमेरिकाको न्यूयोर्क, बेलायतको लन्डन, फ्रान्सको पेरिस, अमेरिकाकै बोस्टन, सान फ्रान्सिस्को, वासिंगटन डिसी, दक्षिण कोरियाको सोल, जापानको टोक्यो, जर्मनीको बर्लिन र नेदरल्यान्ड्सको आम्सटरडम विभिन्न सूचकांकका आधारमा विश्वका उत्कृष्ट स्मार्ट सहरका उदाहरण हुन् । यी सहरले निकै धेरै मिहिनेत र लामो समयपछि यो अहिलेको विकास हासिल गरेका हुन्।
नेपालले ती सहरको उदाहरणबाट धेरै अनुभव लिन सक्छ । नगर वा सहरको रुपान्तरणका लागि केही कार्य भने अवश्य जरुरी हुन्छ।
सबैभन्दा पहिले नेपालका सहरहरुलाई स्मार्ट सिटीको रुपमा विकास गर्न आवश्यक स्पस्ट मौलिक मापदण्डहरु पत्ता लगाउनुपर्छ । नगर वा सहरहरु अनुसार यी मापदण्ड फरक हुन सक्छन् । नगर वा सहरहरुले आफ्ना सबल र कमजोर पक्ष तथा सम्भावना र चुनौती प्रस्टरुपमा बुझ्नुपर्छ।
स्मार्ट सिटी र प्राविधिक शिक्षा
स्मार्ट सिटीको निर्माण सामूहिक प्रयास र सहभागिता आवश्यक पर्ने अभियान हो । जसमा सहरमा क्रियाशील सरकारी र गैरसरकारी संघ–संस्था, संगठन र नागरिकहरु सबैको समान भूमिका रहन्छ । प्राविधिक शिक्षाको क्षेत्र त स्मार्ट सिटी निर्माणको मुख्य पक्ष नै हो।
स्मार्ट सिटीमा सूचना प्रविधिलाई एकीकृत गरिएका भौतिक पूर्वाधारहरु र स्मार्ट सेवा प्रणालीहरुको निर्माण आवश्यक हुन्छ । नेपालमा शुद्ध खानेपानी, सरसफाइ, ढल निकास, फोहोरमैला व्यवस्थापन, सडक, यातायात, ऊर्जा, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रका पूर्वाधारहरुको निकै कमी छ । स्मार्ट सिटीका मुख्य पक्ष यी पूर्वाधारको निर्माणमा प्रत्यक्ष संलग्न हुने प्राविधिक जनशक्तिको धेरै खाँचो पर्छ।
नेपालमा यी प्राविधिक जनशक्ति मुख्य रुपमा निजी तथा सरकारी प्राविधिक शिक्षालय र तालिम केन्द्रहरु, व्यावसायिक तथा सीप विकास तालिम केन्द्र र प्राविधिक धार समावेश भएका सामुदायिक विद्यालयहरुमार्फत उत्पादन हुन्छ।
यस्तो जनशक्ति आफ्नो व्यावसायिक क्षेत्रका व्यावहारिक ज्ञान र सीपका साथै आप्mनो काममा सूचना–प्रविधिलाई कसरी जोड्न सकिन्छ भन्नेबारे पनि जानकार हुनु जरुरी छ । नेपालका नगर वा सहरहरुलाई स्मार्ट बनाउन बजारले स्मार्ट सिटी निर्माणमा प्रत्यक्ष योगदान दिन सक्ने स्मार्ट प्राविधिक जनशक्तिको माग गर्छ । त्यसैले बजारको मागकै आधारमा स्मार्ट प्राविधिक जनशक्तिहरुको उत्पादन गर्न सक्ने गरी शिक्षाको विकास गर्नु स्मार्ट सिटी निर्माणको लागि पहिलो कदम हो।
नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि नेपाल सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम नीति, २०६९ जारी गरेको छ । यो नीतिमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिममा सूचना प्रविधिलाई एकीकृत गर्ने गरी आवश्यक रणनीति र कार्यनीतिहरु स्पस्ट रुपमा उल्लेख गरी सोही अनुसार कार्यान्वयन गर्न जरुरी छ।
सन् २०१३ मा शिक्षा मन्त्रालयले पाँच वर्षको लागि तयार गरेको शिक्षामा सूचना तथा प्रविधि गुरुयोजनामा आंशिक रुपमा यो कुरालाई समावेश गरिएको त छ । तर, त्यसको प्रतिफलबाट सन्तुष्ट हुन सकिने अवस्था छैन।
पर्याप्त जनशक्ति उत्पादनका लागि नगरहरुमा पर्याप्त मात्रामा गुणस्तरीय प्राविधिक शिक्षालय वा तालिम केन्द्रहरुको स्थापना गरिनुपर्छ । प्राविधिक शिक्षाका विषयवस्तु बजारको मागलाई सम्बोधन गर्ने किसिमको हुनु जरुरी छ । कुनै पेशाविशेषले माग गर्ने सीप र ज्ञानको बारेमा अद्यावधिक हुँदै र विषयवस्तुमा समावेश गर्दै जानुपर्छ।
प्राविधिक शिक्षा प्रदायक संस्थाहरु, उद्योग र अन्य सरोकारवालाहरुलाई विद्युतीय माध्यमबाट आपसमा जोडेर सञ्जाल निर्माण गर्ने र यो क्षेत्रको ‘डेटा बैंक’ बनाएर तथ्यांकहरु सहजरुपमा उपलब्ध गराउन आवश्यक हुन्छ । विषयवस्तुको प्रभावकारी डेलिभरीको लागि आवश्यक उत्प्रेरक प्रशिक्षक तयार गर्ने र प्रशिक्षक तथा प्रशिक्षार्थी दुवैलाई सूचना–प्रविधिको प्रयोगबाट सिक्ने र सिकाउने प्रक्रियामा अधिकतम लाभ लिन सक्नेगरी क्षमता अभिवृद्धि गराउने कार्यक्रम निरन्तर गरिनुपर्छ।
प्राविधिक शिक्षालय र तालिम केन्द्रहरुले सूचना–प्रविधिलाई पूर्णरुपमा अवलम्बन गर्नुपर्छ । शिक्षालय वा तालिम केन्द्रमा भएका औजार, यन्त्र र सामग्रीहरुलाई अद्यावधिक गरिनुपर्छ । तालिममा खर्च हुने समय र सामग्रीको बचत गर्दै सस्तो र प्रभावकारी बनाउन ‘इ–कोर्सवेयर’ र ‘इ– लर्निङ’ जस्ता कम्प्युटरमा आधारित तालिम कार्यक्रमहरु विकास र लागू गर्न सकियो भने राष्ट्रिय र अन्तर्राष्ट्रिय श्रम बजारका लागि आवश्यक स्मार्ट प्राविधिक जनशक्ति उत्पादन गर्न सकिन्छ।
स्मार्ट प्राविधिक शिक्षाको विकास बिना स्मार्ट सिटी निर्माणको सपना साकार बनाउनु निकै चुनौतीपूर्ण हुनेछ । किनकि प्राविधिक शिक्षा स्मार्ट सिटी निर्माणको आधार हो । यो यथार्थलाई आत्मसात् गरेर योजना बनाउने र सोही अनुसारका गतिविधि सञ्चालन गर्नु सबै सरोकारवालाहरुको साझा दायित्व हो।
ट्विटरः @navin_kiran
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।