काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि लागेको आरोपबारे आवश्यक प्रक्रियाअनुसार अनुसन्धान गरेर अघि बढ्ने सरकारले जनाएको छ।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्ने क्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सुनार प्रकरणमा सरकारको धारणा स्पष्ट पारेका हुन्।
सांसद सुनारले एक महिलामाथि अश्लील शब्द प्रयोग गर्दै धम्की दिएको आरोपसहितको अडियो सार्वजनिक भएपछि यसबारे सञ्चारकर्मीले सरकारको धारणा मागेका थिए। जवाफमा मन्त्री तिमिल्सिनाले आवश्यक परे अनुसन्धान गरी विधिसम्मत प्रक्रियाबाट अघि बढ्ने बताए।
सरकारले घटनालाई बेवास्ता गरेको वा अनुसन्धानको विषय दबाउन खोजेको भन्ने आशयका प्रश्नमा उनले त्यस्तो कुनै नियत नरहेको स्पष्ट पारे।
‘सरकारले आवश्यक पर्दाखेरि अनुसन्धान गरेर यसलाई विधिवत् रूपमा कसरी अगाडि बढाउनुपर्छ, त्यसैअनुसार अघि बढ्छ,’ उनले भने।
उनले घटनालाई दबाउन खोजिएको भन्ने आरोप अस्वीकार गर्दै आवश्यक सबै प्रक्रिया अगाडि बढ्ने बताए।
यद्यपि, मन्त्री तिमिल्सिनाले यस विषयमा शुक्रबारको मन्त्रिपरिषद् बैठकमा कुनै निर्णय नभएको स्पष्ट पारे। बैठकबाट भएका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले सरकारको धारणा राखेका हुन्।
सुनारमाथि लागेको आरोप र सार्वजनिक अडियोबारे अनुसन्धानको प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषय भने खुलाइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।