काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङमा थप १८ वटा शव फेला परेका छन्।
शुक्रबार सुरुङको अडिट–३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा सुरुमा ६ वटा शव फेला परेका थिए। त्यसपछि गरिएको थप खोजीका क्रममा थप १२ वटा शव देखिएको र उनीहरूलाई निकाल्ने प्रयास भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए।
उनका अनुसार जालीभित्र शवहरू देखिएको र सबै शव निकाल्न बाँकी रहेको जनाइएको छ । यसअघि पनि माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङबाट विभिन्न मितिमा १५ वटा शव निकालिएको थियो। हालसम्म फेला परेका शवको पहिचान भने हुन सकेको छैन।
बाढीपछि माथिल्लो त्रिशूली–१ को सुरुङमा कम्तीमा ३ सय जना फसेको हुन सक्ने आशंका गरिएको छ।
भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहे पनि जलविद्युत आयोजनाका सुरुङमा उद्धार कार्य ढिलो हुँदा जीवितै उद्धार हुने सम्भावना न्यून हुँदै गएको भन्दै बाढी प्रभावित तथा बेपत्ता व्यक्तिका आफन्तले चिन्ता व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।