काठमाडौं– बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनका सहायक नदीहरूसँगै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको जानकारी दिएको छ।
महाशाखाका अनुसार आगामी ३ दिनको जलसतह तथा बाढीको अवस्था विश्लेषण गर्दा प्रमुख नदीहरूमा बहाव बढ्ने क्रम जारी रहने छ।
आज अरुण (सिम्ले), त्रिशुली (बेत्रावती), बुढीगण्डकी (आरूघाट), मस्याङ्दी (विमलनगर), सेती (दमौली), कालिगण्डकी (कुमालगाउँ), कन्काई (मैनाचुली) र कमला नदी (वेलसोत) मा जलसतह उल्लेखनीय रूपमा बढ्ने छ। अन्य प्रमुख नदीहरू जस्तै सप्तकोशी, तमोर, दुधकोशी, तामाकोशी, सुनकोशी, कर्णाली, भेरी, पश्चिम सेती, महाकाली, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईमा आज बहाव सामान्य रूपमा बढ्ने प्रक्षेपण गरिएको छ।
भोलिभने नारायणी (देवघाट) र बागमती (पधेरादोभान) मा बहाव सामान्य रूपमा बढ्ने छ भने अन्य अधिकांश प्रमुख नदीहरूमा जलसतह उल्लेखनीय रूपमा बढ्ने महाशाखाले जनाएको छ। कर्णाली नदीका विभिन्न स्थानहरूमा भोलि बहाव सामान्य बढ्ने छ। त्यस्तै पर्सी कोशी, नारायणी, कर्णाली, महाकाली र बागमतीका प्रमुख सहायक नदीहरूमा बहाव उल्लेखनीय रूपमा बढ्ने पूर्वानुमान छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।