काठमाडौं –रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२, अर्दौलीस्थित दानव नदीमा बेपत्ता भएका दुई बालकको शव भेटिएको छ । सशस्त्र प्रहरी बल, नेपालको गोताखोर टोलीले मंगलबार बिहान उनीहरूको शव निकालेको हो ।
सोमबार दिउँसो नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरिजनको शव मंगलबार बिहान निकालिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
घटनापछि राति नै सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण, बाँकेबाट गोताखोर टोली परिचालन गरिएको थियो । लुम्बिनीस्थित सुरक्षा बेसबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक कोइरालाको कमान्डमा तथा बोर्डर आउट पोस्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षक रामकुमार घिमिरेको नेतृत्वमा संयुक्त टोली परिचालित गरिएको थियो । यसअघि उनीहरूसँगै बेपत्ता भएका अर्का बालक, १४ वर्षीय राज यादवको शव सोमबार साँझ फेला परेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।