काठमाडौँ –सरकारले आन्दोलनरत शिक्षकहरुलाई आ–आफ्नो कार्यथलोमा फर्किन अनुरोध गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेत भइरहेकाले विरोधप्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यथलोमा फर्कन आग्रह गरेको हो ।
शिक्षा तथा विज्ञान प्रविधिमन्त्री शिक्षामन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारले सङ्घीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक यथाशक्य चाँडो पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्ने निर्णय गरेको बताइन् ।
मन्त्री भट्टराईले नेपाल शिक्षक महासङ्घले उठाएका मागहरु सम्बोधन गर्न सरकार संवेदनशील रहेको त्यसनिम्ति निरन्तर संवादमा रहेको बताइन् ।
यता आन्दोलनरत शिक्षकहरुले भने आन्दोलन नरोक्ने भएका छन् । सरकारले वार्ता र संवादबाट समस्याको समाधान हुने आश्वासन दिँदै यस्तो निर्णय गरेपछि शिक्षक आक्रोशित बनेका हुन् ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले दिउँसो १२ बजे माइतीघरमा भेला भएर आन्दोलनलाई निरन्तरता दिने प्रष्ट पारेका छन् । उनले आफूहरु निर्णायक मोडमा पुगेको भन्दै अझ बढी प्रतिबद्धता र सहभागिताका साथ आन्दोलनमा सहभागी हुनुको विकल्प नरहेको बताएका हुन् ।
अध्यक्ष सुवेदीले काठमाडौं बाहिर रहेका शिक्षकलाई काठमाडौं आउनसमेत भनेका छन् । ‘‘देश भरिका सबै साथीहरु आन्दोलनको यो निर्णायक घडीमा हामी तपाईंलाई काठमाडौंको आन्दोलनको मोर्चामा पर्खिरहेका छौं । यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । तुरुन्तै काठमाडौं आइपुग्नुहोला ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।