एजेन्सी –अमेरिकाले पाकिस्तानी राजदूतलाई विमानस्थलबाटै ‘डिपोर्ट’ गरिदिएको छ । अमेरिका प्रवेश गर्न लागेका पाकिस्तानी राजदूतलाई लस एन्जलस विमानस्थलबाटै फर्काइएको हो ।
समाचार एजेन्सीहरूका अनुसार तुर्कमेनिस्तानका लागि पाकिस्तानी राजदूत केके अहसान वगानलाई अमेरिकाले लस एन्जलस विमानस्थलबाटै फर्काइदिएको हो । उनी तुर्कमेनिस्तानबाट अमेरिका गएका थिए ।
अमेरिकी अध्यागमन कर्मचारीले राजदूत वगानलाई विमानस्थलमा रोकेका थिए । उनीसँग प्रवेशाज्ञा र आवश्यक कागजात रहे पनि फिर्ता पठाइएको बताइन्छ । उनी निजी भ्रमणका लागि अमेरिका जाँदै थिए ।
पाकिस्तानका विदेशमन्त्री इशाक डार र विदेश सचिव अमीना बलोचलाई उक्त घटनाका बारेमा जानकारी गराइएको छ । पाकिस्तानी विदेश मन्त्रालयले लस एन्जलसस्थित पाकिस्तानी वाणिज्य दूतावास (कन्सुलेट) कार्यालयलाई यसबारे जाँच गर्न आदेश दिएको समाचार एजेन्सीहरूले जनाएका छन् ।
राजदूत वगान लामो समयदेखि पाकिस्तानको विदेश सेवामा कार्यरत छन् । उनले काठमाडौँस्थित पाकिस्तानी दूतावासमा द्वितीय सेक्रेटरीका रूपमा पनि काम गरेका थिए । यस अतिरिक्त उनले लस एन्जलसस्थित पाकिस्तानी वाणिज्य दूतावासमा पनि काम गरेका थिए । उनले मस्कटमा पाकिस्तानी राजदूतका रूपमा काम गर्नुका साथै नाइजरस्थित दूतावासमा पनि काम गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।