एजेन्सी – रुससँगको युद्ध अन्त्य गर्नेबारे युक्रेनी र अमेरिकी अधिकारीहरूबीच मङ्गलबार हुने महत्त्वपूर्ण वार्ताको एक दिनअघि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की सोमबार साउदी अरब पुग्ने अपेक्षा गरिएको छ ।
तीन वर्षको द्वन्द्व समाधानका लागि मङ्गलबार हुने बहुप्रतीक्षित वार्तामा गत महिना जेलेन्स्कीको ह्वाइट हाउसको असफल भ्रमणपछि पहिलो पटक अमेरिकी र युक्रेनी अधिकारीहरू भेट्नेछन् ।
जेलेन्स्कीले सोमबार देशको वास्तविक नेता साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई भेट्ने र त्यसपछि उनको टोली ‘मङ्गलबार अमेरिकी टोलीसँगको बैठकका लागि बस्ने’ बताए ।
रेड सी बन्दरगाह सहर जेद्दामा हुने वार्तामा अमेरिकी मध्यपूर्व दूत स्टिभ विट्कफले वासिङ्टन ‘शान्ति सम्झौताका लागि एक ढाँचा र प्रारम्भिक युद्धविराम पनि पाउन चाहन्छ’ भनेको छ ।
जेलेन्स्कीले युक्रेन ‘रचनात्मक वार्ताका लागि पूर्ण रूपमा प्रतिबद्ध’ रहेको तर आफ्नो हितलाई ‘सही तरिकामा ध्यानमा राख्न’ चाहेको बताएका छन् ।
“शान्ति नजिक ल्याउने र समर्थन जारी राख्ने दुवै सन्दर्भमा हामी परिणामको आशा गर्दछौँ”, उनले आइतबार साँझ आफ्नो सम्बोधनमा भने ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो सोमबार जेद्दा जानुहुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले पनि उनको सहभागिताको पुष्टि गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।