काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले खर्च नियन्त्रणका लागि स्वेच्छिक अवकाशको प्रस्ताव अघि सारेको छ । किनिकि डब्लुएचओको सबैभन्दा ठूलो सहयोगी संयुक्त राज्य अमेरिका बाहिरिने तयारीमा छ ।
डब्लुएचओले शुक्रबार इमेलमार्फत् जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वेच्छिक अवकाश प्याकेज सबै कार्यस्थलका कर्मचारीहरूलाई प्रस्ताव गरिएको छ । यो योजना ५५ वर्ष भन्दा माथिका कर्मचारीहरूका लागि लक्षित गरिएको छ र स्वीकार गर्नेहरूले जुलाई १५ भित्र संस्थाबाट बाहिरिनु पर्नेछ।’
सामान्यतः डब्लुएचओले आफ्नो वार्षिक कुल बजेटको करिब पाँच भागमा एक भाग अमेरिकाबाट प्राप्त गर्ने गरेको थियो । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई डब्लुएचओबाट निकाल्ने घोषणा गरेपछि डब्लुएचओलाई खर्च कटौतीका उपाय सोच्न बाध्य पारिएको हो ।
अमेरिकाले डब्लुएचओको एचआईभी र अन्य यौनरोग सम्बन्धी कार्यक्रमहरूको लागि ७५ प्रतिशत सहयोग प्रदान गरिरहेको थियो र २०२४/०२५ को बजेट अवधिमा क्षयरोग विरुद्धको अभियानको लागि आधाभन्दा बढी हिस्सा रकम अमेरिकाले उपलब्ध गराएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।