काठमाडौं– गत जनवरीमा अमेरिकी राष्ट्रपतिको पद सम्हालेपछि डोनल्ड ट्रम्पले बुधबार पहिलो पटक अमेरिकी संसद्को संयुक्त सत्रलाई सम्बोधन गरेका छन्। उनले आफ्नो सम्बोधनमा "अमेरिकी सपना नरोकिने" घोषणा गरे।
संसद्मा अमेरिकी राष्ट्रपतिले दिएको सबैभन्दा लामो उक्त भाषणलाई रिपब्लिकनहरूले प्रशंसा गरेका छन्। उनले पद सम्हालेको ६ सातामा देशभित्र र अमेरिकी विदेश नीतिमा उथलपुथल देखापरेका बेला ट्रम्पले उक्त भाषण गरेका हुन्।
उक्त भाषणका बेलामा विपक्षी डेमोक्र्याटहरूले चाहिँ ट्रम्पलाई उल्याएका थिए।
इलोन मस्कलाई धन्यवाद
आफ्नो १०० मिनेट लामो भाषणको सुरुवाततिरै ट्रम्पले आफ्ना अरबपति सल्लाहकार इलोन मस्कको नाम लिए। मस्क चाहिँ ग्यालरीमा बसेर उनको भाषण सुनिरहेका थिए।
प्रविधि क्षेत्रका सर्वाधिक धनीमध्येका एक मस्क ट्रम्पले स्थापना गरेको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सीका हर्ताहर्ता हुन्। उक्त निकायले दशौँ हजार सङ्घीय कर्मचारीहरूलाई हटाएको छ भने अर्बौँ डलर वैदेशिक सहायतालाई रोकिदिएको छ।
सुट र नीलो टाई पहिरिएर ग्यालरीमा बसिरहेका मस्क आफ्नो आसनबाट उठे र ट्रम्पले दिएको धन्यवादप्रति हात उठाएर आभार प्रकट गरे।
"धन्यवाद इलोन," ट्रम्पले भने, "उनले धेरै कडा मेहनत गरिरहेका छन्। उनलाई यो आवश्यक थिएन।" राष्ट्रपतिले मस्कको खर्च कटौती योजनाअनुसार हटाइएका योजना र कार्यक्रमको सूची पनि त्यहाँ सुनाएका थिए। त्यस बेला रिपब्लिकनहरू हाँसेका थिए।
डेमोक्र्याटहरूले चाहिँ 'इलोनले चोर्छन्' र "झूट" भन्दै चिच्याएका थिए।
डेमोक्र्याटहरूले राष्ट्रपतिलाई गिज्याए
ट्रम्पले भाषण सुरु गरेको पाँच मिनटभित्रै टेक्ससबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि एआई ग्रीनलाई त्यहाँबाट सुरक्षाकर्मीले बाहिर निकाले। उनले सभामुखले राष्ट्रपति बोलिरहँदा अवरोध नगर्न र आफ्नो सिटमा बस्न दिएको आदेश पालन नगरेपछि बाहिर पठाइएको थियो।
ट्रम्पले बोलिरहँदा डेमोक्र्याटहरूले "यो झूट हो" भन्दै कराएका थिए। ह्वाइट हाउससहित अमेरिकाका दुवै सदनमा रिपब्लिकनहरूको कब्जा भएकाले डेमोक्र्याटहरू नेतृत्वविहीन जस्ता देखिएका छन्।
धेरै डेमोक्र्याट महिलाहरू प्रदर्शनका लागि गुलाबी रङका प्यान्टसुटहरू लगाएर आएका थिए। त्यसमध्ये कतिपयले त सर्टको पछाडि "प्रतिरोध" भनेर लेखेका पनि थिए र उनीहरू भाषणका बेलामा बाहिर गएका थिए।
"उनीहरूलाई खुसी पार्न मैले भन्न सक्ने कुनै पनि कुरा छैन," ट्रम्पले भने। डेमोक्र्याटिक पार्टीका तर्फबाट पार्टीको आधिकारिक प्रतिक्रिया दिएकी सिनेटरले ट्रम्पले "आफ्ना अरबपति साथीहरूलाई अभूतपूर्व उपहार" दिएको आरोप लगाइन्।
उनले अमेरिकालाई आर्थिक मन्दीतर्फ धकेल्ने चेतावनी पनि दिइन्।
जेलेन्सीको 'महत्त्वपूर्ण पत्र'
ट्रम्पले युक्रेनका नेताबाट एउटा "महत्त्वपूर्ण पत्र" प्राप्त गरेको बताए। त्यो युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालबाट सार्वजनिक गरेको पोस्टसँग मिल्दो देखिएको छ।
युक्रेनी राष्ट्रपतिले युद्ध अन्त्य गर्न ट्रम्पको "उत्कृष्ट नेतृत्व"मा काम गर्न र "दिगो शान्तिका लागि सकेसम्म चाँडो वार्ताको टेबलमा बस्न" आफू तयार रहेको बताएका थिए।
"उनले यो पत्र पठाएकोमा म प्रशंसा गर्छु," ट्रम्पले भने। बजारमा उथलपुथल देखिएको भोलिपल्ट ट्रम्प संसद्मा बोल्दै थिए। उनले क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत र चीनमाथि थप १० प्रतिशत कर लगाएपछि उत्पन्न हुन सक्ने व्यापार युद्धको असरबारे पनि बोलेका छन्।
तर उनले त्यसको "खासै असर नहुने" जस्तोगरी भाषण गरे। उनले त्यस्तो बोलिरहँदा अन्य उनका नीतिबारे उत्साहित देखिएका रिपब्लिकनहरू शान्त रूपमा आसनमा बसेका थिए। त्यसले उक्त दलभित्र पनि व्यापार युद्धबारे एक मत छैन भन्ने देखाउँछ।
आफ्नो कर नीतिले अमेरिकालाई फेरि महान् र धनी बनाउने पुरानै कुरा ट्रम्पले आफ्नो भाषणमा दोहोर्याए।
अण्डाको मूल्य बढ्नुमा बाइडनको दोष
अण्डाको बढ्दो मूल्य हालैका साताहरूमा अमेरिकी सञ्चारमाध्यमहरूले निरन्तर उठाएको विषय बनेको छ। ट्रम्पले मतदाताहरूलाई उनी राष्ट्रपति बनेपछि मुद्रास्फीति कम हुने बताएका थिए।
तर उनैका पालमा अण्डाको भाउ बढेपछि आलोचना भएको हो। तर भाषणमा उनले अण्डाको भाउ बढ्नुमा आफू जिम्मेवार नभएको बताए।
ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडनले अण्डाको मूल्य नियन्त्रण बाहिर जान दिएको आरोप लगाउँदै त्यसलाई लयमा फर्काउन आफूले काम गरिरहेको दाबी गरे।
एउटा बालकको सपना साकार
ट्रम्पको भाषणका बेलाको सबैभन्दा चर्चित तथा सामाजिक सञ्जालमा धेरै फैलिएको घटना बन्यो एउटा बालकलाई उनले गरेको प्रस्ताव। मस्तिष्क क्यान्सर भएको पत्ता लागेका ती बालकलाई उनले आश्चर्यजनक प्रस्ताव गरेका थिए।
ट्रम्पले उनको चाहना अनुसार ती बालकलाई प्रहरी बनाउने बताए। उनको नाम जेडी ड्यानिअल हो र उनी १३ वर्षका बालक हुन्। ट्रम्पले उनको 'सेक्रेट सर्भिस'का नयाँ निर्देशकले ती बालकलाई फौजको सदस्यका रूपमा शपथ गराउने घोषणा गरे। ती खुसीले ओतप्रोत भएका थिए र उनलाई सुरक्षा सेवाका ती निर्देशकले 'सेक्रेट सर्भिस'को ब्याच प्रदान गरे।
वन्यजन्त संरक्षण केन्द्रको नाम परिवर्तन
संसद्मा दिएको भाषणका क्रममा ट्रम्पले टेक्ससस्थित वन्यजन्तु संरक्षण केन्द्रको नाम ह्युस्टनकी एक बालिकाको नाममा राखिएको बताए। ती १२ वर्षकी बालिकालाई गत वर्षको जुनमा कागजातविहीन आप्रवासीले हत्या गरेको बताइएको थियो।
ती बालिकाकी आमा पनि ट्रम्पकी पत्नीसँगै त्यहाँ उपस्थित थिइन्। ट्रम्पले कागजात नभएका आप्रवासीप्रति कडा नीति लिएका छन् र उनले सयौँ त्यस्ता आप्रवासीहरूलाई देशनिकाला गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।