एजेन्सी – बोलिभियाको दक्षिणी भागमा शनिबार दुई यात्रुवाहक बस ठोक्किँदा आठ नाबालकसहित कम्तीमा ३७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
४१ जना घाइते भएका र उनीहरूलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । मारिनेमा पाँच पेरुभियाली र तीन वर्षीया जर्मन बालिकासहित ६ जना विदेशी नागरिकसमेत छन् । अन्य सात नाबालकको पनि मृत्यु भएको छ । दुर्घटना शनिबार बिहानै एक साँघुरो दुईतर्फी सडकमा भएको थियो ।
यस सप्ताहन्तमा आयोजना हुने ओरुरो कार्निभलका लागि एउटा बस ओरुरो सहरतर्फ जाँदै थियो । ओरुरो कार्निभल दशौँ हजार मानिसलाई आकर्षित गर्ने ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो उत्सवहरूमध्ये एक हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।