काठमाडौं– पृथ्वीबाट शुक्रबार राति आकाशमा सातवटा ग्रह लहरै देखिँदै छन् । खगोलशास्त्रीहरुका अनुसार बुध, शुक्र, मंगल, बृहस्पति, शनि, अरुण र वरुण एकै दिन आकाशमा एकै लाइनमा देख्न सकिन्छ । बुध, शुक्र, मंगल, बृहस्पति, र शनि चम्किलो भएकाले नांगो आँखाले देख्न सकिन्छ ।
तर अरुण र वरुण हेर्न दूरबिन वा टेलिस्कोप आवश्यक पर्छ । जनवरी र फेब्रुअरीको सफा आकाशमा ६ वटा ग्रहहरु पृथ्वीबाट देख्न सकिन्छ । शुक्र, मंगल, बृहस्पति, शनि, अरुण र वरुण ग्रह आकाशमा देखिन्छन् । तर बिहीबार भने सातैवटा ग्रह आकाशमा देखिँदै छन् ।
यस्तो घटनाले हाम्रो सौर्यमण्डलमा पनि प्रभाव पार्न सक्ने अनुमान गरिन्छ । सौर्यमण्डलमा पृथ्वीको स्थानबारे पनि नयाँ जानकारीहरु दिन सक्ने वैज्ञानिकहरूको अनुमान छ ।
सौर्यमण्डलका आठवटा प्रमुख ग्रहहरु एउटै समतल सतहमा घुम्छन् । तर सबैको गति फरक हुन्छ । सूर्यको सबैभन्दा नजिकको ग्रह बुधले ८८ दिनमा आफ्नो एक चक्र पूरा गर्छ । जुन बुधको एक वर्ष हो ।
त्यस्तै पृथ्वीको १ वर्ष ३ सय ६५ दिनको हुन्छ । यसैगरी सौर्यमण्डलको अन्त्यमा रहेको वरुणले सूर्यको एक परिक्रमा गर्न ६० हजार १ सय ९० दिन लाग्छ । यो समयमा पृथ्वीमा झन्डै १ सय ६५ वर्ष बित्छ ।
ग्रहहरुको फरक गति भएकै कारण, कहिलेकाहीँ मात्रै ग्रहहरु सूर्यको एउटै भागमा करिब–करिब एउटै लाइनमा आउने गर्छन् । पृथ्वीबाट हेर्दा, यदि ती कक्षहरु एकै लाइनमा आए भने हामीले रातको आकाशमा धेरै ग्रहहरु एकसाथ देख्न सक्छौं । यो दृश्य निकै दुर्लभ मानिन्छ । यसलाई ‘प्लानेटरी पेरेड’ भनिन्छ ।
नेपाल एस्ट्रोनामिकल सोसाइटी (नासो) का प्रमुख सुरेश भट्टराईका अनुसार मौसम सफा भएमा नेपालबाट पनि ग्रहहरु हेर्न सकिन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।