काठमाडौं– बुधबार सेयर बजार ५२.३६ अंक (२ प्रतिशत) बढेको छ। सो वृद्धिपछि नेप्से परिसूचक २६६५ अंकमा कायम भएको छ। बजार दिनभर हरियाली रह्यो। परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।
अघिल्लो दिन ६ अर्ब १९ करोडको कारोबार भएकोमा आज ९ अर्ब २० करोडको भयो। कुल १९६ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ९ को स्थिर रह्यो।
सबै सेक्टरका सूचक बढेका छन्। अन्य समूह सबैभन्दा धेरै ४.२४ प्रतिशत बढ्यो। बैंकिङ १.३२, विकास बैंक २.७४, फाइनान्स ०.८९, होटल तथा पर्यटन २.७१, हाइड्रोपावर २.१२, लगानी ३.८२, जीवन बीमा १.८९, माइक्रोफाइनान्स १.०७, उत्पादन ०.०८, निर्जीवन बीमा १.००, व्यापार २.४५ प्रतिशत बढे।
आज ‘हाइक्याप’ कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ। धेरै मूल्य बढ्ने कम्पनीमा एचआईडीसीएल, निफ्रा, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्सजस्ता ‘हाइक्याप’ कम्पनी पनि अगाडि देखिएका छन्।
दुई कम्पनी कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावरको मूल्य १० प्रतिशत बढ्यो। ग्रीन डेभलपमेन्टको ९.८, एचआईडीसीएलको ८.४, सुपरमादी हाइड्रोपावरको ८.२ प्रतिशत मूल्य बढ्यो।
बाराही हाइड्रोपावरको मूल्य ८.२ प्रतिशत घट्यो। रिभर फल्स पावरको ५.६, विन नेपाल लघुवित्तको २.८ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स, सीएचडीसी र सप्तकोशी विकास बैंक क्रमशः अगाडि देखिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।