काठमाडौं – महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित भएर बनेको फिल्म ‘अञ्जिला’ आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।
यसमा उनी स्वयंले आफ्नो भूमिकामा अभिनय गरेकी छन्।उनको बाल्यकालदेखि खेल जीवनसम्मको यात्रालाई फिल्ममा देखाइएको छ।हालै सम्पन्न साफ महिला च्याम्पियनसिपमा उनले गरेको सानदार प्रदर्शनपछि दर्शकमा फिल्मको पखाई बढेको छ।
राष्ट्रिय अवार्ड विजेता मिलन चाम्सको निर्देशनमा तयार भएको ‘अञ्जिला’को नेपाल प्रदर्शनभन्दा झन्डै तीन महिना अगाडि हङकङमा वर्ल्ड प्रिमियर गरिने भएको छ।आगामी मंसिर २३ (डिसेम्बर ८)मा हङकङमा फिल्मको प्रिमियर निश्चित भएको निर्देशक चाम्सले जानकारी दिए।प्रिमियरमा क्याप्टेन एञ्जिला पनि उपस्थित हुनेछिन्।
फिल्मको हङकङ प्रिमियरको मिति घोषणा गर्दै शुक्रबार नयाँ पोस्टर पनि सार्वजनिक गरिएको छ।जसमा अभिनेता दयाहाङ राई लौरो लिएर रिसाह भावमा देखिएका छन्।एञ्जिला भने दुई चुल्ठी बाटेर ग्रामीण लुक्समा प्रस्तुत छिन्।उनको पृष्ठभूमिमा गोलपोस्ट र रंगशाला देखिन्छ।उक्त पोस्टरमा विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङ पनि चित्रित छन्।
सुनिल थापा, प्रेम कुमार श्रेष्ठ लगायतको पनि अभिनय रहेको फिल्मको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौँमा गरिएको हो।मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन्।यसमा सुदीप बरालको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।