काठमाडौं– माग्ने बुढा उर्फ केदार घिमिरेका छोरा आशिष घिमिरेको सिनेमा डेब्यू पक्का भएको छ।
’होस्टेल ३’ मा अनुबन्धित भएसँगै आशिषको डेब्यू तय भएको हो। चर्चित हास्य टेलि शृङ्खला ‘मेरी बास्सै’मा ‘धुन्धुकारी’ पात्रको रुपमा अभिनयमा डेब्यू भएका आशिष मिटिभीबाट प्रसारण भइरहेको ‘रिटायर हल्दार-२’का निर्देशकसमेत हुन्।
‘यस चलचित्रमा केही प्रमुख पात्रहरू रहेका छन्, जसमा सबै जनाको भूमिका बलियो छ। होस्टेलमा बसेर अध्ययन गर्नेहरूमध्ये एक जना पुरुष कलाकारको जरुरी रहेकोमा हामीले खोजेको जस्तो पात्र आशिषमा पायौँ,’ निर्देशक सशान कँडेलले भने।
आशिषसँगै ‘होस्टेल ३’मा हेना नगरकोटी पनि अनुबन्धित भएकी छन्। हेनाले वेब सिरिजहरू ‘खेल’ र ‘साहु बा’मा पनि अभिनय गरेकी छन्। यस्तै ‘बाइरोड’ सिनेमामा समेत उनले अभिनय गरिसकेकी छन्।
‘होस्टेल ३’को पटकथा माधव शर्माले लेखेका हुन् भने कथा निर्देशक कँडेलको हो। भदौ २१ गते छायाङ्कनमा जाने बताइएको यो सिनेमा आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज गर्ने घोषणा भइसकेको छ।
सिनेमामा ’कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तको प्रमुख भूमिका रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।