काठमाडौं– ‘सतीदेवी’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ। बिहीबार आयोजित ट्रेलर सार्वजनिक कार्यक्रमा सिनेमाले महिला सशक्तिकरणको सन्देश दिने सामाजिक कथा प्रस्तुत गर्ने जानकारी निर्माण पक्षले दिएको थियो।
रंग पत्रकारिता हुँदै सिनेमा लेखन-निर्देशनमा प्रवेश गरेका लक्ष्मण सुवेदीकृत सिनेमा हो। सिनेमामा मलिका महतले 'सतीदेवी'को शीर्ष भूमिकामा अभिनय गरेकी छन्। विभिन्न अवार्डमा समेत उत्कृष्ट घोषित सिनेमाले नेपाली समाजमा छोरी हुनुको दुःख र महत्वलाई प्रस्तुत गर्ने बताइएको छ।
निर्देशक सुवेदीले 'सतीदेवी' एउटै खाले सिनेमा हेरेर वाक्क भएका दर्शकका लागि भएको बताउँछन्।
‘एकै खालको फिल्म हेरेर दर्शक वाक्क थिए। यथार्थ फिल्म बनेका थिएनन्। हामीले देखेका कथामा बनेका फिल्म कम छन्। आफैंले देख्दै भोग्दै आको कथामा फिल्म बनाउन मन थियो। यो जमर्कोमा सतीदेवी बनेको हो।’
यस्तै अभिनेत्री महतले सिनेमाले बाउछोरीबीचको सम्बन्धको कथा पेस गर्ने बताउँदै छोरा पाउने चाहनामा छोरी जन्माउने र अपहेलना गर्ने प्रवृत्तिको कथा पस्किएको बताइन्।
सिनेमामा मलिकाका अलावा सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटाको साथमा बाल कलाकार हर्षिका वली र मन्जिला बानियाँ प्रमुख भूमिकामा छन्।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको सिनेमाला श्रीदेवी सुवेदीले निर्माण गरेकी हुन्।
सिनेमामा निर्देशक सुवेदीको यो सिनेमाले सौराह दक्षिण एसियाली फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म, शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक तथा तेस्रो नेपाल ग्रामिण फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म, सर्वोत्कृष्ट स्क्रिप्ट र सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जितेको छ।
‘सतीदेवी’ भदौ ७ मा रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।