काठमाडौं– नाजिर हुसेनको 'गुन्यो चोलो- कमिङ अफ एज अफ अ गर्ल'को प्रदर्शन मिति घोषणा गरिएको छ। सिनेमा कार्तिक ९ (अक्टोबर २५)बाट रिलिज हुने पक्का भएको छ।
बिहीबार निर्माण टिमले नाजिरको लुक्स सहितको पोस्टर सार्वजनिक गर्दै सिनेमाको रिलिज मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा नाजिरलाई पहेलो रङ्गको वान पिसमा देख्न सकिन्छ।
उनले एउटा हातमा विग(नक्कली कपाल) बोकेका छन भने अर्को हातमा हिल्स बोकेका छन। यस्तै शरीरमा कतैकतै चोटको निशानसमेत रहेको छ। उक्त चोटको निशानले नाजिरको पिडा देखाउँछ।
नाकमा नथिया, कानमा झुम्का र पुरै श्रृङ्गारमा सजिएका नाजिरको 'ट्रान्सवुमन लुक्स' आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ। पोस्टरका अनुसार सिनेमामा नाजिरको पात्रको नाम 'गुलाबी' राखिएको छ।
समुन्द्र भट्ट सिनेमाकी निर्देशक हुन्। अमेरिकी कम्पनी 'भिजन ईन्टरटेन्मेन्ट' र 'दि स्काई ओसन ईन्टरटेन्मेन्ट' को ब्यानरमा निर्माण भएको सिनेमाले पारलैंङ्गिकताको कथालाई उठान गरेको छ। सिनेमामा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ। नाजिरको अलावा सिनेमामा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भुमिकामा देख्न सकिन्छ।
सिनेमाको थिममात्र नभएर प्रोडक्सन पनि ए-वान छ। सिनेमाको सम्पुर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको हो। सिनेमाको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखी ब्याकग्राउन्ड म्युजिकसम्म्को काम हलिउड शैलीमा बाहिरै गरिएको छ।
यसैबाट पनि सिनेमाको गुणस्तर मापन गर्न सकिन्छ। सिनेमामा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन भने ब्याकग्राउन्ड म्युजिकको सम्पुर्ण काम मार्सेलो दि फ्रान्सिसीले गरेका छन। लिजाले स्वर भरेको वर्ष २०२४ कै बहुप्रतिक्षित हलिउड सिनेमा 'ग्ल्याडिएटर-२' यहीँ डिसेम्बरमा आउँदैछ।
नेपालको पहिलो पुर्णरुपको ट्रान्स स्टोरीमा निर्मित यो सिनेमा नेपाली फिल्म प्रोड्क्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोलाबोरेसनमा बनेको हो। सिनेमामा आकाश बुढाथोकी र भि.भन्से जानुबोनको लगानी छ। सिनेमाको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन। भने अनुपम श्रेष्ठ सिनेमाका सहयोगी निर्माता हुन्।
आलोक शुक्लाले खिचेको सिनेमामा लेखु सहयात्रीको गीत रचना, विजय बस्यालको प्रोड्क्सन डिजाईन र सुरक्षा भट्टराईको मिडिया कोर्डिनेसन रहेको छ। सिनेमामा पुष्कर लामा प्रोडक्सन हेडमा र राम भण्डारी क्रिएटिभ हेडमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।