काठमाडौं– दयाहाङ राई तथा मिरुना मगर अभिनित ‘घरज्वाइँ’ले आफ्नो नयाँ गीत ‘यानीमाया’ सार्वजनिक गरेको छ। सार्वजनिक गीत हर्क साउदले लेखेका हुन् भने गीतमा शब्द र स्वर मनोज थापा मगरको रहेको छ।
गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार दयाहाङ र मिरुनालाई देख्न सकिन्छ। यस गीतमा प्रेम पाउन 'घरज्वाइँ' बसिसकेपछिको दयाहाङको मनोदशालाई प्रस्तुत गरिएको छ।
मगर समुदायको पृष्ठभूमिमा पेस गरिएको सिनेमालाई अनिल बुढा मगरले निर्देशन गरेका हुन्। निर्देशक बुढामगरले यही गीतको रिदममा सिनेमाको ब्याग्राउण्ड म्युजिक तयार गरिएको सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा बताएका थिए। यस्तै सिनेमाको दृश्यभाषा र क्यारेक्टरको हिँडाइ र बोलाईलाई समेत सिनेमाको यही गीतको थिममा नै राखेर प्रस्तुत गरिएको उनको दाबी छ।
जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा उनले बिनोद खतिवडा र सुभाष कोइरालासँग सहकार्य गरेका छन्।
जनक घर्ती मगर सिनेमाका निर्माता हुन्। सिनेमामा दयाहाङ र मिरुनाका अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ।
सिनेमा असार २८ गते रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।