काठमाडौं– ‘ज्वाइँ साब’को छायांकन सुरु गरिएको छ। वसन्त निरौलाको निर्देशन तथा निर्माण रहेको सिनेमाको शुक्रबार बिहान मकवानपुर जिल्लाको चित्लाङस्थित स्वच्छन्द भैरव मन्दिरमा स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजा गर्दै सिनेमाको छायांकन प्रारम्भ गरिएको हो।
चित्लाङको २० दिने सकेपछि बाँकी छायांकनका लागि निर्माण टिम सौराहा र इलाम जानेछ। सिनेमामा अभिनेता जीतु नेपाल र अभिनेत्री नीति शाहको जोडी रहेको छ।
निर्देशक निरौलाले सिनेमाले समसामयिक कथा बोकेको जानकारी दिएका छन्। यही वर्षको तिहारमा रिलिज गरिने सिनेमामा रमेश वुढाथोकी, प्रकाश घिमिरे, वुद्दि तामाङ, हिमेश पन्त, निमा पाण्डे लगायतको अभिनय रहनेछ।
राज कुमार पण्डित प्रस्तुतकर्ता रहेको ‘ज्वाइँ साब’का निर्माता मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङ हुन्।
विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद लेखन छ। अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहने सिनेमालाई श्याम तामाङले खिच्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।