आमा, मेरो आगाडि एउटा मनहुस रात चुकपोते भएर घोप्टिएको छ। संसार निदाउने तरखर गर्दैछ तर म भने आफ्नो जिम्मेवारी पूरा गर्न अनिंदो तैनाथ छु । यो पनि मेरो जिम्मेवारीकै एउटा पाटो हो। पापी पेट पाल्नुपर्ने बाध्यताबाट सुरु भएको जिम्मेवारी। कसैको अगाडि ‘केहि गर्ने’ भएर देखिनुको रहरबाट सुरु भएको मेरो जिम्मेवारी। अभावको अगाडि आफूले जन्माएका सन्तानले घुँडा टेकेको देख्न नसकेर सुरु भएको जिम्मेवारी अथवा आफ्नो खुट्टामा आफैं उभिएर संसारलाई ‘ई हेर, मैले पनि केही गर्न सक्छु’ भनेर देखाउने हुटहुटीले थोपरेको जिम्मेवारी। जे भने पनि यसरी तैनाथ हुनु मेरो कर्म हो, मेरो जागिर हो र मेरो कमाइको जरिया हो। तिमी कुरा बुझ्छेउ नि मेरी आमा!
विदेशी भूमि त्यसमाथि बिरामी र जीर्ण रोजगारदाताको स्वास्थ्य र सुरक्षाको जिम्मेवारी वहन आफैंमा चुनौतीपूर्ण काम हो। घडीले त्यस्तै बाह्र बजाएको हुनुपर्छ। मध्यरातमा अहँ पटक्कै सुस्ताउँदैन यो सहर। बरु झन्–झन् जतिजति रातलाई जवानी चढ्दै जान्छ यो सहर उति नै तन्नेरी भएजस्तो देखिन्छ। सहरका बीचोबीच अवस्थित यी सुपरमार्केटहरु झिलिमिली बत्तिको उज्यालोले रंगीन हुँदै जान्छन्। खासमा कहिल्यै ननिदाउने सहर हो यो। म बाल्कोनीबाट एकटकले रंगीन सहर नियाल्छु। कतै कुनै कुनामा आफ्ना खुसीहरु पनि रंगीन अवस्थामा भेटिन्छन् कि भनेर, म तिम्रो अनुहारमा मेरो खुसी भेटाउँछु। सहरको उज्यालोमा पर कतै तिम्रो प्रतिबिम्ब पो देखिन्छ कि भनेर नजर दौडाउँछु।
म रातको समयमा खाना खाँदै मोबाइल चलाउँदै छु। खाना त के खानु, गाँस मुखमा पुग्नु अगाडि अरु कस–कसले खाए होलान् अथवा कस–कसले खाने बेलामा मलाइ याद गरे होलान् भनेर टोलाउँदै आधा खाना चिसो भएर जान्छ। आज दिउँसोदेखि नै हिक्क–हिक्क बाडुल्की लागिरहेको छ। पक्कै तिमीले धेरै सम्झियौ, यति जोडसँग नसम्झ न आमा! यता तिम्री छोरीलाई गाँस निल्न गाह्रो भइसक्यो
म पनि दर खाँदैछु आमा! हुन त यस्ता फगत सम्झनामा हराएर दुई गाँस खाना उभिएरै निल्नुलाई पनि कसरी दर भन्न सकिएला र? केही नखाई प्राण पनि त धानिन्नँ। पेट भरियो भने पो सकुँला आफूप्रति आशावादीहरुको घाउमा मल्हम लगाउन। माया गर्नेहरुको ओठमा हाँसो छर्न र लामो यात्रा तय गरेका तिम्रा कलिला नातिनीहरुको लागि सामल जुटाउन।
आज गाउँघरका चेलीहरु गहनामा सजिएर दाजुभाइ र बाबाको हात समातेर आमाको हातबाट बनेको दर खान माइत जाने दिन। पराया घरमा हुँदाका वर्षभरिका दुःख आमाको काखमा बिसाउने दिन। आज अबेरसम्म नाँचगान गरेर आमाकै काखमा निदाउने दिन। मनमा भएका सम्पूर्ण दुःखलाई कुनामा मिल्काएर खुसी हुने दिन। मनका भारी बिसाएर हल्का हुने दिन। यो संसारमा अनुपम दिन कुनै छ भने त्यो दर खाने दिन नै हो र अनुपम स्थान कुनै छ भने त्यो आमाको काख नै हो।
बाह्र वर्ष भन्दा बढी भयो आमा! म चाहेर पनि तिम्रो काखमा लुटपुटिन पाइनँ। न आमा बनेर छोरीहरुलाई काखमा निदाउने बनाउन नै पाएँ। न चाहेर पनि तिमीले पकाएको दर खान पाएँ न छोरीहरुलाई खुवाउन नै सकें। परिबन्द भनेको यही त होला। तर पिर नगर आमा, तिम्री छोरी पैसा कमाउँदै छे। सुन्दर भविष्य कोर्न तिमीले पकाएको दर माया मारेर पैसा कमाउँदै छे भनेर चित्त बुझाऊ।
म जान्दछु, पैसा सबैथोक होइन, तिमीले सिकाएको पनि त्यही हो। हामी सबै रित्तै आएका हौं, रित्तै जाने निश्चित छ। तर, रित्तै हुँदाकी तिम्री छोरी र अहिलेकी तिम्री छोरीको हैसियतमा आकाश–जमिनको फरक छ। कैयौं पटक म अभावमा घिसारिएँ, लतारिएँ र अपमानित भएँ। त्यो मेरो कहालीलाग्दो समय तिमीलाई सम्झना होला नै। हुन त कसरी मेटिन्छन् र ती चोटहरु। मलाई लागेका हरेक चोटमा पीडा त तिमीलाई नै हुन्थ्यो। काँडा निस्के पनि खिल त बल्झिरहन्छ नि होइन र?
अहिले समय फेरिएको छ आमा। मिहिनेतको कमाइमा तिम्री छोरी शिर ठाडो पारेर बाँच्नसक्ने भएकी छे। अपमानले विक्षिप्त हुन नपर्ने भएकी छे। दर खान नपाए पनि स्वाभिमानले पेट भर्न सक्ने भएकी छे। अहिलेलाई यत्तिमै खुसी हुनु। समय आउला अनि म पनि तिम्रो काखमा निदाउन पाउँला, भगवान्ले त्यो दिन त कसो नजुराउलान्!
हुन त प्रविधिले मान्छेलाई टाढा भएको अनुभूति दिएको छैन। दैनिक आमासँग भिडियो कल गरेर सँगै भएको अनुभव गरिरहेकी छु। दैनिक आमाका निर्देशन अनि आशिर्वादले ओतप्रोत हुन पाइरहेकी छु। त्यसरी नै छोरी हरुसँग पनि दैनिक अनुहार हेरेर बोल्न पाइरहेकी छु। दिदीबहिनीसँगको सामिप्य महसुस गर्न पाइरहेकी छु। तर, पनि त्यो आमाको काखको न्यानो मोबाइलबाट छिरेर यो उराठ ठाउँसम्म आउन सक्दैन। न मैले मेरो वात्सल्यलाई नै कुनै डिभाइसको एप्सबाट छोरीहरुसम्म पुर्याएर उनीहरुको कपाल सुम्सुम्याउन सक्छु। उफ् यो दुरी! उफ् यो दर!
हाल इजरायल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।