काठमाडौं– मोटरसाइकलको ब्रेक प्याडको रुपमा हङकङबाट भित्र्याइएको ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संगठित अपराधसहित ६ वटा कानुन आकर्षित हुने निष्कर्ष निकालेको छ।
बिहीबार पत्रकार सम्मेलन गर्दै सीआईबीले सुन तस्करीमा विभिन्न नेक्सस र संठगित समूहको संलग्नता देखिएको बताएको छ।
सुन तस्करी प्रकरणमा संगठिन अपराध, अवैध विदेशी विनिमय, नागरिकता र राहदानीसम्बन्धी कुसर भएको देखिएको सीआईबीले जनाएको छ। जसअनुसार सीआईबीले संगठित अपराध ऐन, नेपाल राष्ट्र बैंक ऐन, मुलुकी फौजदारी अपराध संहिता, नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअन्तर्गतका कसुरमा सजाय मागदाबी गर्नुपर्ने निष्कर्ष निकालेको हो।
सुन तस्करीमा संलग्न विदेशी नागरिकले गलत विवरण पेस गरी, ढाँटेर नागरिकता लिएको, राहदानीको दुरुपयोग र अध्यागमन ऐन विपरीत तस्करीमा संलग्न रहेको दाबीसहित अभियोगपत्र दायर गर्नुपर्ने सीआईबीको राय छ।
तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका चिनियाँ नागरिकहरुले काभ्रे र अन्य जिल्लाबाट नेपाली नागरिकता लिएको अनुसन्धानको क्रममा पाइएको थियो। सीआईबीले विदेशी र नेपाली गरी ५० जनालाई प्रतिवादी बनाउनुपर्ने निष्कर्ष निकालेको छ।
सुन तस्करी प्रकरणमा करिब ४० दिन अनुसन्धान गरेको सीआईबीले बुधबार आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउँदैछ। ब्रेक प्याडको रुपमा भित्रिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भइसकेको अवस्थामा राजस्व अनुसन्धान विभागले गत साउन २ गते सुन बरामद गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।