काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको विषयमा आफू र आफ्नो पार्टीकै मानिस भए पनि अनुसन्धान गर्न बाधा नगर्ने बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तरमा भाग लिँदै प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणदेखि ललिता निवास र सुन तस्करीमा जो सुकैको संलग्नता देखिए पनि अनुसन्धान गर्न आफूले निर्देशन दिएको दाबी गरे।
प्रश्नोत्तरका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले भ्रष्टाचारको विषयमा प्रश्न सोधेका थिए। ‘भुटानी शरणार्थी प्रकरणमा यही रोस्ट्रमबाट उभिएर तपाईंले यो त टेलर मात्र हो पुरा फिल्म गज्जब आउँछ भन्नुभएको थियो। तर जे आयो टालटुले आयो। नक्कली भुटानी शरणार्थी प्रकरणमार्फत् नेपाली कांग्रेस, ललिता निवास प्रकरणमार्फत् एकीकृत समाजवादी र गौर हत्याकाण्डमार्फत् जसपालाई साइजमा राख्नुभयो। अनि गिरिबन्धुमार्फत् एमालेलाई साइजमा राख्न खोज्नु भएको छ,’ सांसद शाहको प्रश्न थियो, ‘आफ्नो कामलेभन्दा यसरी साइजमा राख्ने कामले मन जित्न सकिँदैन थियो होला। भारतले कसरी चन्द्रयान सफल अवतरण गराउने भनेर सोचिरहँदा हामी भने आफ्नो एस म्यानलाई बचाउनमा लागिरहेको देखिँदैन?’
जवाफमा प्रधानमन्त्रीले समग्र भ्रष्टाचारको कुरामा सरकारले धेरै सकारात्मक काम गरेको दाबी गर्दै आफ्नो भनाइ सके। आफ्नो नेतृत्वमा सरकार गठन भएपछि शुसासनलाई प्राथमितामा राखेको र यसले आम जनतामा शुसासन कायम गर्न सरकार लागिरहेको छ भन्ने सन्देश प्रवाह भएको उनले दाबी गरे।
‘मैले कुर्सी टिकाउनका लागि नभइ राजनीतिक प्रणालीमा छाएको निरासा र सबै उस्तै हुन्, केही हुँदैन भन्ने निरासा चिर्न काम गरेको छु,’ प्रधानतमन्त्रीले जवाफ दिए, ‘नक्कली भुटानी शराणर्थीदेखि सबै घटनामा दबाबरहित छानबिन अघि बढाएकाले शुसासन सम्भव छ भन्ने देखाएको छ। अब यी प्रकरण अदालतमा विचाराधीन रहेको छ। अदालतले पनि सही निर्णय सुनाउने छ।’
आफूले निष्पक्ष र पारदर्शी बनाउँदै भ्रष्टाचारलाई कडाइका साथ कारबाही गर्ने काम अघि बढाएको भन्दै प्रधानमन्त्रीले कसैलाई बचाउन र वा अप्ठारोमा पार्ने काम नगरिएको दाबी गरे।
‘दोषी कोही पनि नछुटोस् र निर्दोष कोही नपरोस्। अनुसन्धानकै समयमा प्रधानमन्त्री नै अनुसन्धानको दायरमा देखिए पनि नछोड्न निर्देशन दिएको छु,’ उनले भने, ‘आफ्नै पार्टीका नेताहरु आएपछि छानबिन गर्नु भनेर निर्देशन दिएको छु।’
उनले सबै प्रकारको भ्रष्टाचार छानबिन गर्ने र यो आफ्नो र यो पराइ भनेर नछुट्टाउने दाबी गरे। उनले राष्ट्रिय मुद्दा र सवालमा सबै एकै ठाउँमा उभिनुपर्ने पनि बताए। सरकारले चालेको कदमले जनतामा आसा र भरोसा बढाएको दाबी उनले गरे।
प्रधानमन्त्री प्रचण्डले सार्वजनिक सेवामा जनताले पाएका सास्ती कम भएको र विकास निर्माणले गति लिएको दाबी गरे। उनले सरकारले अर्थतन्त्रको पुनर्उत्थानदेखि भ्रष्टाचार नियन्त्रणमा काम गरेको दाबी गरे। सरकारको यो कार्यमा सवैको साथ निरन्तर हुने अपेक्षा आफूले लिएको उनले बताए। सरकार प्रमुखको हैसियसतले आफूले सहमतिका लागि प्रयास गरेको पनि दाबी गरे। उनले दलहरुका बीचमा अन्तर रहे पनि १० वटा सभापति सर्वसम्मत रुपमा चयन भएकाले एक प्रकारको सन्देश दिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।