नवाजुद्दीन सिद्दीकी चरित्र अभिनेताका रुपमा स्थापित कलाकार हुन्।
आफ्नो कलाकारिता यात्राबारे विभिन्न बखत उनले भन्ने गरेका छन्। एउटा सानो गाउँबाट आएका नवाजुद्दीनका लागि बलिउडमा आफ्नो पहिचान बनाउन त्यति सजिलो थिएन।
तर मुम्बई आउनुअघि नै उनको चुनौती सुरु भयो। आमा बाहेक उनको घरमा कसैलाई विश्वास थिएन कि उनी अभिनेता बन्न सक्छन्।
कसरी यात्रा सुरु भयो?
नवाजुद्दीनको सिनेमा जगतमा प्रवेश गर्ने कुनै सपना थिएन। गाउँको सामान्य परिवारका नवाजुद्दीन पढेपछि जागिर खाने सपना बुन्थे।
कलेज दिनको बारेमा कुरा गर्दै नवाज भन्छन्, ‘विज्ञानमा स्नातक गरेपछि म लामो समय घुमफिर गरेँ, कारखानामा काम गरेँ। त्यो समयमा कसैले मलाई थिएटरको बारेमा भने। त्यही क्रममा मैले कलाकार र दर्शकको केमेस्ट्रीमा रहेको महसुस गरें। यो भन्दा सुन्दर क्षेत्र अरु हुनै सक्दैन भन्ने मेरो दिमागमा आयो।’
थिएटरका ती प्रारम्भिक दिन
थिएटरको सुरुवाती दिनमा उनले थिएटरमा सरसफाईको काम पनि गरेका थिए। मानिसहरूलाई चिया बनाएर खुवाउनेदेखि अनेक प्रकारका काम गरे।
नवाज भन्छन्, ‘ब्याकस्टेजमा काम गर्दा, मानिसहरूलाई चिया खुवाउँदै गर्दा, एकदिन मैले एउटा सानो भूमिका पाएँ। पहिलो भूमिका मात्र एक लाइनको थियो। त्यसपछि मैले २ लाइनको भूमिका पाएँ। यो सबै काम वडोदरामा चलिरहेको थियो। त्यसपछि त्यहाँबाट म एनएसडी गएँ।’
उनी एनएसडीमा गएपछि मात्र अभिनय भनेको के हो भन्ने थाहा पाएको बताउँछन्। तर एनएसडीका लागि घरका सदस्यलाई मनाउन कठिन थियो नवाजुद्दीनलाई।
एकपटक उनले आमालाई अभिनेता बन्न चाहेको बताए। त्यहाँ उनका एकजना आफन्त पनि आएका थिए। उनले नवाजकी आमालाई भने, ‘कस्तो बकवास कुरा गरिरहेको छ। यस्तो अनुहारको मान्छे कहाँ हिरो बन्ने। बुझाउनुस्।’
‘माफ गर्नु, मेरो बच्चा सबैभन्दा सुन्दर देखिन्छ, ’ आमाले डिफेन्स गरिन्।
नवाजले यी सबै कुरा झ्याल पछाडिबाट सुनेका थिए।
उनी भन्छन्, ‘मलाई असाध्यै अनौठो लाग्यो र मेरो अनुहारमा के समस्या छ भनेर सोच्न थालेँ। मैले म राम्रो देखिँदैन भन्ने कुरा स्वीकार गरेँ। साथै मैले यो पनि निर्णय गरें कि म राम्रो देखिन्न। यसका बावजुद म अभिनेता हुनेछु।’
सपना पूरा गर्ने जिद्दीले मुम्बई ल्यायो
मुम्बईमा बाँच्न कठिन संघर्ष गर्नुपर्थ्यो। ती दिन सम्झँदै उनी भन्छन्, ‘त्यो समय यति अप्ठ्यारो थियो कि सोच्न पनि मन लाग्दैन। मेरो मनमा यस्तो समय बितेरै राम्रो भयो भन्ने कुरा आउँछ।
धेरै समय बित्दै गयो र कुनै दिन खाना खान्थें, बिहानको खाना कसरी पाइने होला भन्ने सोच्ने गर्दथें । यस्ता कुराहरु भइरहेका थिए। परिस्थिति यस्तो थियो कि गोरेगाँवदेखि बान्द्रा जानु पर्दा मसँग अटोको पनि पैसा थिएन। हामी पैदल हिँड्ने गर्दथ्यौँ।’
जीवनमा संघर्ष चलिरहेको बेला एकदिन नवाजुद्दीनको आत्मा टुट्यो। ‘मसँग १०/१२ दिनसम्म पैसा थिएन। एकजना साथी कहाँ गएँ र उहाँसँग पचास रुपैयाँ मागेँ। उहाँसँग सय रुपैयाँ थियो। तर पनि खोलेर पचास रुपैयाँ दिए। हामी दुवैले केही क्षण एकअर्कालाई हेर्यौँग। अनि तुरुन्तै म घोप्टो परें। म त्यो दिन रोएँ।’
एक क्षण उनले मुम्बई छोड्ने सोचेका थिए। तर अभिनय बाहेक अरु केही थाहा नभएका कारण उनी मुम्बईमै रोकिए।
नवाज सुरुका दिनमा अडिसनका लागि जान्थे। कास्टिङ डाइरेक्टरले उनलाई अभिनेता हुन योग्य नभएको भन्दै अस्वीकार गर्थे। धिकांश स्थानबाट उनले अस्वीकृति मात्र भोगेका थिए।
फिल्मी पर्दामा मौका
नवाजले आफ्नो करिअर निकै सानो भूमिकाबाट सुरु गरेका थिए।
आफ्नो प्रारम्भिक भूमिकाबारे नवाज भन्छन्, ‘मैले सरफरोश, शूल, एक चालिसकी लास्ट लोकल, मुन्ना भाइ की, देव डी की गरेँ। यी सबै फिल्ममा मेरो भूमिका एउटै दृश्यको थियो। तर त्यसबेला काम एउटै थियो। कतिपय चलचित्रका लागि पैसा पाएका थिएँ भने कतिपय चलचित्रका लागि पैसा पाइनँ।’
तर, केही समयपछि नवाजले एउटै सीनमा भूमिका खेलेको फिल्म गर्न अस्वीकार गरे। उनले अब ती फिल्ममा मात्र काम गर्ने निर्णय गरे, जसमा उनले दुईवटा दृष्यको भूमिका पाउनेछन्। त्यसपछि पनि उनले भूमिका पाएनन्।
नवाज बताउँछन्, ‘तर त्यतिबेलासम्म पिपली लाइभ, पतंग जस्ता फिल्महरू बन्न थालेका थिए र त्यसमा मैले राम्रा र ठूला भूमिका गर्न थालेँ। यी फिल्महरू महोत्सवहरूमा जान थाले र त्यहाँबाट मानिसहरूले चिन्न थाले। मानिसहरूले चिन्न थालेपछि करिअरमा राम्रो हुन सुरु भयो।’
विवादित व्यक्तिगत जीवन
पछिल्लो समय सिद्दीकीको व्यक्तिगत जीवन विवादित छ। हालै नवाज र उनकी श्रीमतीबीचको विवादले निकैको ध्यानाकर्षण भएको थियो।
यो विवाद र आफ्नो मौनतालाई लिएर नवाज भन्छन्, ‘यस्ता कुराहरू गरेर म यसलाई फेरि हल्लाउन चाहन्नँ। मैले सधैं मेरो व्यक्तिगत जीवनलाई पेशामा असर नपरोस् भन्ने प्रयास गरेको छु। मैले त्यसै गरें।’
नवाज कस्तो काम गर्न चाहन्छन्?
नवाजुद्दीन सिद्दीकी ठूलो घर र कारलाई सफलता मान्दैनन्। आफूले चाहेको काम गर्न पाएकोमा मात्रै उनी खुसी छन्।
नवाज भन्छन्, ‘आफूले गर्न चाहेको काम गर्न पाएकोमा म कृतज्ञ छु। म कसैको काम गरिरहेको छैन। दौडमा दौडनु पर्ने कुनै दबाब छैन। म आफ्नो मनपर्ने काम गर्न पाइरहेको छु। म यो गर्न सक्षम छु। म भविष्यमा पनि यस्तै काम गरिरहन चाहन्छु।’
बीबीसी हिन्दीबाट नेपालीमा भावानुवाद
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।