काठमाडौं– महेन्द्रनगरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको अनुसन्धानमा प्रहरीले लापरबाही गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। सोही आधारमा गृह मन्त्रालयलको कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख रहेका एसपी दिल्लीराज बिष्टलाई निलम्बन गर्ने निर्णय गरेको छ।
सहसचिव हरि प्रसाद मैनाली नेतृत्वको छानबिन समितिले गरेको प्रारम्भिक ब्रिफिङमा प्रहरीको नियतबश लापरबाही जस्तो देखिएपछि एसपी बिष्टलाई निलम्बन गर्ने निर्णयमा गृह पुगेको हो। छानबिन अवधिभरका लागि उनी निलम्बनमा हुने छन्।
उनै एसपी बिष्टले पन्तको हत्या स्थानीय दिलिपसिंह बिष्टले गरेको भन्दै सोमबार सार्वजनिक गरेका थिए। तर, नक्कली अभियुक्तलाई देखाएर बास्तविक अभियुक्तलाई जोगाउन खोजिएको भन्दै आन्दोलन चर्किएपछि सरकारले उनलाई हटाएको थियो।
त्यसपछि पनि आन्दोलन नरोकिएपछि निलम्बन गर्ने निर्णय भएको छ।
जिल्लाको कमान्ड राम्रोसँग सम्हाल्न नसकेकाले गृहको बैठकले निलम्बन गर्ने निर्णय गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताए।
शनिबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा बसेको बैठकले बिष्टलाई निलम्बन गर्ने निर्णय गरेको हाे।
छोरी हराएको भनेर प्रहरीमा उजुरी गर्न जाँदा तत्काल खोजीका लागि सहयोग नगर्नु, सुरुमा रोशनीको घरमा खानतालासी नगर्नु, प्रहरीले भनेअनुसार घटनास्थलको प्रकृती नहुनु र मानसिक बिरामी रहेका अभियुक्तविरुद्ध प्रशस्त प्रमाण नभएकाले प्रहरीमाथि शंका बढेको हो। पछिल्ला घटनाक्रमले प्रहरीले नियतबश घटनाको अनुसन्धान तोडमोड गरेको हुनसक्ने देखिएको छ।
डिएसपी र इन्सपेक्टर पनि छानबिनमा
सो प्रकरणमा जिल्लाका अन्य प्रहरीको पनि शंकास्पद भूमिका देखिएको छ।
गृहले डिएसपी ज्ञानबहादुर सेठी र इन्सपेक्टर एकेन्द्र खड्कालाई मुख्यालय तान्ने निर्णय पनि भएको छ। सेठीलाई बुधबार त्यहाँबाट हटाइसकिएको छ।
उनीहरुले प्रमाण लुकाउन सक्ने भएकाले सरुवा गरेर छानबिन गर्ने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।
निर्मलाको बलात्कार तथा हत्यामा प्रहरीका निकट व्यक्तिको संलग्नताको आशंका गरिएको छ।
प्रहरीले पन्तको बलात्कार तथा हत्या आरोपमा स्थानीय दिलीपसिंह बिष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो। तर, घटनामा उनको संलग्नताको प्रमाण दिन सकेको छैन।
गृहले सहसचिवको नेतृत्वमा जिल्लामा छानबिन टोली पठाइसकेको छ। समितिलाई १५ दिनको समय दिइएको छ।
गत साउन १० गते साथी रोशनी बमको घरमा पढ्न जाँदा उनको हत्या भएको थियो। प्रहरीले रोशनी र उनकी दिदी बबितालाई शनिबार मात्र पक्राउ गरेको छ।
अब नयाँ चरणबाट घटनाको अनुसन्धान अघि बढ्ने भएको छ। सरकारले शनिबार शंका भएका सबै व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।